सुर्य प्रकाश बुढा मगर/मध्यान्ह
रोल्पा : साउदी अरेबियाको जेलमा परेका विनोदलाल परियार सकुशल घर फर्किएका छन् । करिब पाँच वर्ष अगाडि रोजगारीको सिलसिलामा परियार साउदी पुगेका थिए । २०८० साल मंसिरदेखि फागुनसम्म सञ्चालन गरिएको उद्धार अभियानमार्फत परियार बिहीबार आफ्नै जन्मठाउँ रोल्पाको माडी गाउँपालिका–५ सरुवा आइपुगेका हुन् ।
साउदीमा ड्राइभिङ पेसा गर्ने परियारले चलाएको गाडी दुर्घटनामा परेको थियो । त्यसपछि साउदीकै नागरिकले दर्ता गराएको दुर्घटना मुद्दामा उनलाई १० वर्ष जेल र ३० हजार ४ सय २ रियाल जरिवाना तोकिएको थियो ।
त्यसलगत्तै उद्धार अभियान नेपालका तर्फबाट संयोजक रोशन परियारको पहलमा उनको उद्धार गरिएको हो । सो क्रममा देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीको साथ सहयोगले आफू स्वदेश फर्किन सफल भएको विनोदलाल परियारले बताए । परियारले आफू सहयोग गर्ने सबैको ऋणी भएको समेत बताए । साउदीको जेलबाट उद्धारका लागि सहयोग गर्न भूमिका खेल्ने सबै सहयोगीप्रति परियारका श्रमती रिता परियारले धन्यवाद व्यक्त गरिन् ।
संयोजक परियारको अध्यक्षतामा बिहीबार एक कार्यक्रमको आयोजना गरी परियारलाई घरमा स्वागत गरिएको थियोे । सो क्रममा परियारको उद्धारका लागि संकलन गरिएको आर्थिक सहयोगका बारेमा पनि जानकारी दिइएको थियो ।
परियारको उद्धार अभियानबाट११ लाख ५७ हजार १ सय ६२ रुपैयाँ उठेकोमा परियारको रिहाइका लागि साउदी जेलमा तिरेको रकम १० लाख ६४ हजार ७० रुपैयाँ रहेको संयोजक परियारले जानकारी दिए । परियारलाई काठमाडौंदेखि घरसम्मको भाडा १५ हजार ३ सय ९५ रुपैयाँ, रसिद छपाई तथा छाप बनाउँदा ५ हजार ८ सय रुपैयाँ गरी जम्मा खर्च १० लाख ८५ हजार २ सय ६५ रुपैयाँ रहेको संयोजक परियारले बताए । तिरेर बचेको रकम ७१ हजार ९ सय रुपयाँ दुर्घटना तथा रोगले ग्रसित र उपचार गराइरहेका व्यक्तिहरुलाई सहयोग गर्नेसमेत उनले बताए ।
बचत रकम कार्यक्रमका प्रमुख अतिथि माडी गाउँपालिका ५ भावाङका वडा अध्यक्ष तेजेन्द्र बुढामगर र अभियानका सक्रिय सदस्य तथा नेकपा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष भरत बहादुर बुढामगरले हस्तान्तरणसमेत गरेका छन् । जसमा माडी गाउँपालिका ५ टाङधारा निवासी गणसरी वलीलाई ८ हजार, झौबाङ निवासी नरबहादुर वलीलाई ८ हजार ५ सय, बाङ्मा निवासी पर्मलाल बुढामगरलाई ८ हजार ५ सय, एनाबाङ निवासी प्रेम घर्तीमगरलाई ८ हजार ५ सय, जङमाङ निवासी नरसिङ बुढामगरलाई १० हजार, जङमाङ निवासी अमरबहादुर बुढा मगरलाई ८ हजार ५ सय, झौबाङ निवासी हरिकला घर्तीमगरलाई ७ हजार ५ सय र थबाङ गाउँपालिका ४ तेलखोला निवासी अस्मिता विकलाई ९ हजार दिइएको छ ।
विनोदलाल परियार उद्धार अभियानमा भिमबहादुर बाँठा मगर (चिरन), सन्तबहादुर घर्तीमगर, धनबहादुर बुढामगर, सविना घर्तीमगर, पहिलो पाइला नेपाल, प्रकाश बिक, बिष्मलाल परियार, हिरालाल घर्ती, लोकेन्द्र बुढामगर, अमर डाँगी, गौप्रसाद घर्ती, तिर्थ बुढामगर र अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतार शाखाले आफ्नो तर्फबाट भूमिका निर्वाह गरेका थिए ।
अभियानका मुख्य संयोजक गंगाराम बुढामगर (जि.आर.गाउँले), यस युनिट टिम प्रवासी समूहका अध्यक्ष, रुपेश बिक, मन बहादुर परियार, भरत बहादुर बुढामगर, नेकपा माओवादी केन्द्र माडी गाउँपालिकाका कार्यवाहक अध्यक्ष र प्रशासनिक सहजीकरण तेजेन्द्र बुढामगर रहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies