काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा शुरू हुँदैछ ।
७२ होलको चार दिने प्रतियोगिता शुक्रबारसम्म चल्नेछ । उपाधिको लागि ३२ प्रोफेसनल र ८ एमेच्योर गरी कुल ४० गल्फरहरूले दाबेदारी प्रस्तुत गर्नेछन् । सहभागी गल्फरहरू मध्ये सुवास तामाङको लागि भने यो प्रतियोगिता विशेष रहनेछ । उनले यो टुर धेरै पटक खेलेका छन । प्रोहरूलाई माथ दिएर उपाधि पनि जितेका छन् । तर प्रोफेसनल खेलाडी भएपछि नेपालमा उनले खेल्न लागेको यो पहिलो पटक हो ।
भारतीय गल्फ टुरमा प्रोफेसनल प्रतियोगिताहरू भने उनले खेलिसकेका छन् । यो पटक उनी प्रमुख दाबेदारको रूपमा रहनेछन् । नेपालका उनी सर्वाधिक सफल एमेच्योर गल्फर हुन र उनको घरेलु टुरमा प्रोफेसनल करियरको शुरूवात मंगलबारदेखि शुरू हुँदैछ । उनलाई एमेच्योर गल्फर सदभाव आचार्यले कडा चुनौती दिने सम्भावना रहेको छ । सदभावले यो सिजन दुई उपाधि जितिसकेका छन् ।
प्रो भुवन नगरकोटी, दिनेश प्रजापति, रवि खड्का, सञ्जय लामा, जयराम श्रेष्ठलगायतका प्रोहरू वलिया दाबेदारको रूपमा रहेका छन् । नेपाल नम्बर एक प्रो शुक्रबहादुर राईले चोटको कारण यो प्रतियोगिता पनि गुमाएका छन् ।
प्रतियोगिताको कूल पुरस्कार राशी ७ लाख ३ हजार ५ सय रहेको छ । विजेताले १ लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन् । यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौं हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन् ।
चार दिने प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागु हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन् । टप २१ मा पर्ने खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन ।एमेच्योर खेलाडीको हकमा प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन् ।
प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउनको लागि कोर्सलाई रोमाञ्चक बनाइएको छ । कोर्ससँग अभ्यस्त हुन गल्फरहरूले तयारी गरिरहेको छन् ।
पिजीए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यो प्रतियोगितामा राम्रो स्कोर निस्किने र प्रतियोगिता प्रतिस्पर्धामक हुने विश्वाश रहेको बताए । पछिल्लो समय गल्फको स्तर बढेको र निरन्तर प्रायोजन गरेकोमा उनले प्रायोजक सूर्य नेपाल प्रा.लि.लाई धन्यवाद दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies