मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : बझाङ– १ (क) प्रदेश सभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । ४ मंसिर २०७९ मा सम्पन्न चुनावमा यो क्षेत्रबाट पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । एमालेका भण्डारीले कांग्रेसका अभिषेक सिंहलाई २६७ मतान्तरले पराजित गरे ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका सिंहको गत असार ५ गते दुर्घटनामा परी निधन भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा एमालेले अघिल्लो चुनावको नतिजा उल्ट्याएको हो ।
गत चुनावमा कांग्रेसका सिंह नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित पाँच दलीय गठबन्धनका साझा उम्मेदवार थिए । उपनिर्वाचनमा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका आ–आफ्नै उम्मेदवार थिए । परिणाममा कांग्रेस उम्मेदवार पराजित भए ।
गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाए । त्यसपछि ठूला दलहरु एक्लाएक्लै चुनाव लडेका हुन् । चुनावी परिणामले गत चुनावमा कांग्रेले गठबन्धन गर्दा चुनाव जितेको देखाउँछ ।
एमालेका भण्डारीले ११ हजार ६१३ मत ल्याउँदा कांग्रेसका सिंहले ११ हजार ३४६ मत पाए । माओवादीका केन्द्रका जनक बुढाले ३ हजार ८३१ मत पाए । एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ५१४ मत पाउँदा राप्रापाका किशोरकुमार खड्काले २४२ मत पाए ।
यो क्षेत्रमा कांग्रेसले नेता एनपी साउदलाई चुनावी कमान्डर बनाएको थियो । साउदले चुनाव हार्नुको एउटा कारण गठबन्धन बन्न नसक्नु रहेको बताए ।
उनले पत्रकारहरुसित भनेका छन्, ‘गएको चुनावमा हाम्रो भन्दा बढी एमालेको समानुपातिक मत थियो । हामीले यो क्षेत्रमा माओवादी र एकीकृत समाजवादीको संयुक्त मतले जितेका थियौैं । अहिले एक्ला एक्लै लड्यौं त्यसको असर परेको हुनसक्छ ।’
बझाङ–१ मा प्रदेश सभा सदस्यको उपनिर्वाचनमा उपविजेता भएर गत चुनावमा जितेको सिट गुमाउन पुगेको कांग्रेस इलाम–२ मा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको नतिजामा पनि दोस्रो स्थानका लागि स्वतन्त्र उम्मेदवारसँग प्रतिस्पर्धामा रहन पुगेको छ । उपनिर्वाचनमा इलाम–२ मा एमालेका सुहाङ नेम्वाङलाई माओवादी केन्द्रले समर्थन गरेको थियो ।
गत आम चुनावमा माओवादी केन्द्रले कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको थियो । त्यसबेला जम्म ११४ मत बढी ल्याउर एमालेका सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । यसपटक माओवादी केन्द्र समेतको साथ पाएका एमालेका उम्मेदवारले मतान्तर निकै बढाए ।
उपनिर्वाचन हुनु भन्दा केही समय अगाडि सम्पन्न कांग्रेसको महासमितिको बैठकमा चुनावी गठबन्धन गर्ने वा नगर्ने विषयमा बहस भएको थियो । कांग्रेसका महामन्त्री गगन थापाले चुनावी गठबन्धन नगर्ने प्रतिवेदनमै लेखेका थिए । चुनाव आउन चार वर्ष बाँकी रहँदै चुनावी गठबन्धनको विषयमा बहस चलाएर माओवादी केन्द्रलाई चिढाएको आरोप कतिपय कांग्रेसकै नेताहरुले लगाएका थिए ।
महासमिति बैठक सकिएको केही समयपछि भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार दुवै क्षेत्र गुमाउने अवस्था बनेको हो । गठबन्धन नहुँदा बझाङ– १ मा चुनावमा हार खान पुगेको कांग्रेस नेता एनपी साउदले स्वीकार नै गरेका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies