१५ वैशाखमा सम्पन्न उपनिर्वाचनको नतिजालाई लिएर अनेक विश्लेषण सुरु भएको छ । इलाम–२ को प्रतिनिधिसभा र बझाङ (क) को प्रदेशसभा चुनाव जितेको नेकपा एमालेमा जितको उत्साह देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार इलाम पुगेर विजय भाषण नै गरे । पार्टीको जितलाई आफूले लिएको राजनीतिक एजेण्डाको जित भनेर ओलीले अथ्र्याए । चुनाव हारेका नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले समीक्षा गर्न बाँकी छ । संभवतः उपनिर्वाचनको सन्देशलाई आफू अनुकुल निष्कर्ष निकाल्नेछन् । तर आमरुपमा देखिएको नतिजा भनेको एमालेको जित र पराजय हो । सँगै, इलाममा पहिचान पक्षधरहरुले पाएको नतिजाबारे पनि आफू अनुकुल टिप्पणी हुन थालेको छ । एमाले अध्यक्ष ओलीले पहिचान पक्षधर जनमतबाट अस्वीकृत भएको निष्कर्ष सुनाएका छन् ।
तर तथ्यलाई चाहिँ अध्यक्ष ओलीको निष्कर्ष भन्दा भिन्न सन्देश गएको रुपमा समेत बुझ्नुपर्छ । किनकि पहिचान पक्षधर भनेर प्रष्ट किटानसहित उपनिर्वाचनमा उम्मेद्वार बनेका डकेन्द्र थेगिमले उत्साहजनक मत पाएका छन् । कांग्रेसलाई पछि पार्दै एमालेले चुनाव जित्दा थेगिमले धेरैको ध्यान तान्नेगरी मत पाए । प्रदेशको नाम कोशी राख्ने निर्णयप्रति असन्तुष्टहरुले साझा उम्मेद्वार बनाएका थेगिमले ११ हजार ४५७ मत पाएका छन् । जबकी अप्रत्यासित जनमत पाएर राष्ट्रिय राजनीतिमा उदाएको रास्वपाका उम्मेद्वार मिलन लिम्बुले ५ हजार ५० मत मात्र पाए । सरकारका उपप्रधान एवं गृहमन्त्री रहेका रवि लामिछाने नेतृत्वको रास्वपालाई यति धेरै मतले पछाडि पार्नुमा असन्तुष्टहरुको आवाज बलियो रहेको सन्देश गएको छ ।
त्यसैले चुनाव नजित्दैमा पहिचानको एजेण्डा अस्वीकृत भएको रुपमा बुझ्न हुँदैन । बरू कोशीमा पहिचान पक्षधरहरुको आवाजलाई सम्बोधन नगरी जान सकिदैन भन्ने निष्कर्षमा पुग्दा मात्रै शान्ति कायम हुन सक्छ । त्यसैपनि लोकतन्त्रमा हरेक मतको महत्व हुन्छ । पराजितहरुको माग सम्बोधन गर्नु विजेताहरुको दायित्व मानिन्छ । त्यसैले लोकतन्त्रको विकल्प अझ उन्नत स्तरको लोकतन्त्र भनिन्छ । तर उपनिर्वाचन जितेको एमालेले पहिचानको आवाज अस्वीकार भएको निष्कर्ष सुनाएको छ । यस्तो निष्कर्षले कोशीको राजनीतिलाई सही दिशामा लैजादैन । उनीहरुको माग सम्बोधन गरेर एउटा सहमति पुग्दा मात्रै राजनीतिक निकास आउँछ । अतः थेगिमले पाएको जनमतलाई राष्ट्रिय राजनीतिले एउटा सन्देशका रुपमा बुझ्नुपर्छ, पराजित एक उम्मेद्वारले पाएको मत मात्रै मानिनु हुँदैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies