गत १५ वैशाखमा सम्पन्न उपचुनावले केही महत्वपूर्ण राजनीतिक सन्देश दिएको थियो । इलाम र बझाङ दुवै ठाउँको चुनाव नेकपा एमालेले जितेपनि प्रतिस्पर्धी शक्ति नेपाली कांग्रेस थियो । अर्थात् मुलुकको नेतृत्व गर्ने जनादेश प्राप्त दल यिनै दुई हुन् । अरु दल पनि प्रतिस्पर्धी छन्, तर उल्लेख्य मत समेत पाउन सकेका छैनन् । इलाममा एमालेलाई नै समर्थन गरेको माओवादी केन्द्रले बझाङमा तेस्रो मत पाए । यसको अर्थ मुलुकको तेस्रो शक्ति माओवादी केन्द्र नै हो । तर राष्ट्रिय राजनीतिमा यी तीन भन्दा साना शक्ति निर्णायक बनिरहेका छन्, अड्को थापिरहेका छन् । त्यस मध्ये एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका नेताहरुको सार्वजनिक अभिव्यक्तिले वर्तमान सत्ता र समीकरणप्रति आशंका उत्पन्न भइरहेको छ ।
अध्यक्ष नेपालले प्रधानमन्त्रीको सपना त्यागेका छैनन् । कांग्रेस र माओवादी सहितको समीकरणमा प्रधानमन्त्री पक्का गरेका माधव नेपाल एमालेसँग सहज मानिरहेका छैनन् । त्यसैले यो सरकार टिक्ने आधार कमजोर रहेको अध्यक्ष नेपालले बारम्बार भनिरहेका छन् । कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको उनले लुकाएका छैनन् । जबकी एकीकृत समाजवादी गएको आमचुनावमा राष्ट्रिय दल समेत बन्न सकेको थिएन । कांग्रेस र माओवादीसहित पाँच दलीय गठबन्धनमा रहेर १० सिट ल्याएको एकीकृत समाजवादीले थ्रेसहोल्ड समेत कटाउन सकेको थिएन । जबकी भर्खरै खुलेको रास्वपाले माओवादीसँग हाराहारीको मत पाएको थियो भने सिके राउत नेतृत्वको जनमत पार्टी समेत राष्ट्रिय दल बनेको छ ।
तर तिनै एकीकृत समाजवादीले हङ पार्लियमेन्टको लाभ उठाउँदै राष्ट्रिय राजनीतिमा लगातार अड्को थापिरहेका छन् । गत वर्ष १० पुसमा एमालेसँग बनेको सत्ता समीकरण उल्ट्याएर कांग्रेसतिर लैजाने भूमिका माधव नेपालले नै खेलेका थिए । तर प्रधानमन्त्री प्रचण्डले फेरि एमालेतिर फर्कने निर्णय लिए । यसले वर्षदिनभित्रै तीन पटक समीकरण फेरेर राजनीतिक अस्थिरता उत्पन्न गरेको आरोप प्रचण्डले खेपिरहेका छन् । तर तिनै प्रचण्डलाई पदको भय देखाउन माधव नेपालले लगातार सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । उनको अभिव्यक्तिका कारणले सरकारप्रति अविश्वास बढ्दो छ । सँगै प्रदेश सरकारहरु पनि अलमल, संकटमा देखिन्छ । जबकी राष्ट्रिय राजनीतिमा सत्ताको अड्को थापिरहेको एकीकृत समाजवादीले गत उपचुनावमा सरमलाग्दो नतिजा ल्याएको थियो । इलाममा साढे ६८ हजार मत सदर हुँदा एकीकृत समाजवादीको उम्मेद्वारले जम्मा ४०४ मत पाएका थिए । बझाङमा पनि २५ सय मतमा सीमित भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies