काठमाडौं : चलचित्र ‘द्रौपदी’को छायाँकन सम्पन्न भएको छ । ऋषिराज आचार्यको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘द्रौपदी’को छायाँकन ४४ दिनमा सकिएको हो । यस चलचित्रको सम्पूर्ण छायाँकन कर्णाली प्रदेशमा गरिएको हो । डोल्पाको दुनैबाट शुरु भएको चलचित्रको छायाँकन जुफाल, मुड्केचुला, मधु हुँदै फोक्सुण्डोसम्म पुगेर सम्पन्न भएको हो ।
डोल्पाको दुनइ, कालिका मन्दिरमा मुहूर्त गरेर शुरु भएको चलचित्रको छायाँकन शुक्रबार ४४औं दिनमा डोल्पाको फोक्सुण्डो तालमा सम्पन्न भएको चलचित्रका लेखक, निर्माता तथा निर्देशक आचार्यले जानकारी दिए । आचार्यले चलचित्र ‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण गरिएको बताए । करिब ४ वर्ष लगाएर स्कृप्ट लेखेको यो चलचित्र आफ्नो ड्रिम प्रोजेक्ट रहेको आचार्यले बताए ।
चलचित्रमा आश्विनी शाही, रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
महेश्वर आचार्य र सुजाता तिमिल्सिना सहायक निर्देशक, विमला भुसाल निर्माण व्यवस्थापक रहेको यस चलचित्रमा रबि ओडको संगीत, विजय आचार्यको कला तथा मोहन कुमार झिल्लुको छायाँकन रहेको छ भने अनिल महर्जनको सम्पादन रहनेछ । ऋषिराज आचार्य, विष्णु ठडराई, प्रकाश ज्ञवाली निर्माता तथा खेमराज भण्डारी र ऋतु आचार्य सहनिर्माता रहेको चलचित्रमा कथा, पटकथा, संवाद, गीत तथा निर्देशन आचार्यकै रहेको छ ।
निर्देशक आचार्य चलचित्रको कन्टेन्ट नै बलियो भएकाले यो प्रकारको चलचित्र नेपाली दर्शकलाई मनपर्नेमा आफू विश्वस्त रहेको बताउँछन् । बौद्धिक निर्देशकका रुपमा परिचित निर्देशक आचार्य सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत चलचित्र सेन्सर बोर्डका सदस्य पनि हुन् ।
कथाअनुसार चलचित्रमा भरपूर मिहिनेत गरिएको र यो चलचित्रबाट नेपाली चलचित्र बजारले आशलाग्दा नजनायक तथा नवनायिका पाउनेमासमेत निर्देशक आचार्य ढुक्क छन् । उनी भन्छन्, ‘हामीकहाँ कथाको कमी छैन । हाम्रो गाउँघर, पाखा पखेरा, परिवार, समाजभित्र धेरै कथाहरु छन् । यी हाम्रै अर्गानिक कथाहरू नै चलचित्र बनुन् भन्ने नेपालीहरुको चाहना हो । यस्ता विषयवस्तुहरुलाई चलचित्रमा समेट्न सके नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा फैलिन समय लाग्दैन ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies