काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्मा प्रमुख प्रतिपक्षले उठाएका महत्वपूर्ण विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको बताएका छन् ।
पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारसँगको भेटघाटमा उनले मन्त्री वा कुनै व्यक्ति विशेष नभई हजारौँ जनताको अर्बाैं रकम हिनामिना र अपचलन भएको विषयमा छानबिन गरौँभन्दा त्यसलाई बेवास्ता गरिएको आरोप लगाए ।
प्रमुख सचेतक लेखकले भने, “जनताले छाक काटेर सहकारीमा राखेको रकम अपचलन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्छ । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानलाई राम्रो बनाएर लैजानुपर्छ ।” आफ्नो पार्टी सरकारमा रहँदा पनि ऐन निर्माणका लागि आवश्यक विधेयक ल्याउने र पारित गर्ने विषयमा कमी कमजोरी भएको स्वीकार्दै उनले भने, “हामी अहिले प्रतिपक्षमा छौँ, हिजोको त्यो कमी कमजोरी यथावत छ । विधायनको काम कमजोर भयो भनी आएका सुझाव बोधगम्य छ ।”
संसद्को प्रभावकारिता हुन सकेन र जनतालाई संसद् हाम्रा लागि हो भन्ने अनुभूति भएन भने व्यवस्थालाई नै कमजोर तुल्याउन सक्नेतर्फ विचार पुर्याउन आवश्यक रहेको बताउँदै नेता लेखकले संसद्लाई काम दिने र जवाफदेही तुल्याउने जिम्मेवारी सरकारकै भएको विचार प्रकट गरे ।
संसद्मा दलका नेताबीच मन्तव्यका क्रममा हुने आलोचनात्मक क्रियाकलापले अवलोकनका लागि आउने विद्यार्थीले के पाठ सिक्न सक्छन् भन्नेमा सचेत हुन आवश्यक रहेको बताउँदै पूर्वमन्त्री लेखकले नेकपा एमालेसँग नयाँ समीकरण बनाउने र अहिलेको गठवन्धन भत्काउने खेलमा आफ्नो पार्टी नरहेको प्रतिक्रिया दिए ।
देश र जनताका महत्वपूर्ण र आधारभूत विषयमा सरकार, प्रमुख प्रतिपक्ष दलबीच सहमति, सहकार्य र समन्वय हुन जरुरी रहेको बताउँदै उनले यसपटक पहिलाको जस्तो छायाँ सरकार बनाएर अघि बढ्ने मनस्थितिमा कांग्रेस नरहेको जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies