राष्ट्रिय राजनीतिलाई अप्रत्यासित समाचार दिदै जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजित भयो । अशोक राईको नेतृत्वमा पार्टी फुटेर जसपा बनेको छ । राईको पक्षमा ७ जना संघीय सांसद लागेकाले अध्यक्ष उपेन्द्र यादवसँग ५ जना मात्र सांसद बाँकी रहे । जसपा, नेपाल फुटेर ७ र ५ जनाको दुई पार्टी बन्यो । यो विभाजनले मधेशका शक्तिहरु स–साना टुक्रामा विभाजित बनेको छ । जनमत पार्टीसँग ६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग ३ र आमजनता पार्टीसँग १ सिट छ । यसरी मधेश प्रदेश केन्द्रीत पार्टीहरु ५ वटा बनेको छ । यी सबै जोड्ने हो भने २२ सिट हुन्छ । तर एकताबद्ध नहुँदा मधेशको आवाज राष्ट्रिय राजनीतिमा निर्णायक रहन नसक्ने स्थिति सिर्जना भएको छ ।
तर २१ सिटको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संघीय संसदको चौथो शक्ति सहित सत्तामा छ । सभापति रवि लामिछाने दोस्रोपटक उपप्रधान सहित गृहमन्त्री छन् । सिट संख्याकै आधारमा लामिछाने उपप्रधान एवं गृहमन्त्री बनेका हुन् । तर मधेशका शक्तिहरु टुक्रा–टुक्रा हुँदा संघीय सत्तामा तुलनात्मक कम प्रभाव राख्ने मन्त्रालयहरुमा सीमित छन् । जनमत, लोसपा र आम जनमत पार्टी सत्ता बाहिर छन् । उनीहरुको गणना समेत भएको देखिदैन । मधेश प्रदेशकै सरकार पनि उनीहरुको हातबाट फुत्किने खतरा बढेको छ । किनकि मधेश प्रदेशमा अहिले पनि एमाले र कांग्रेस क्रमशः पहिलो र दोस्रो शक्ति हो ।
जबकी मधेश केन्द्रीत शक्तिहरु एकताबद्ध हुँदा राष्ट्रिय राजनीतिले मधेशलाई नजरअन्दाज गर्न सक्ने स्थिति थिएन । २०६४ सालको पहिलो संविधानसभा चुनावपछि मधेश मुलुकको मूल प्रवाहमा आएको थियो । त्यसबेला संविधान निर्माण र सत्ता निर्माण दुवैमा मधेश केन्द्रीत दलहरु हावी थिए । जुनसुकै समीकरणबाट सत्ता निर्माणमा मधेश छुट्ने अवस्था थिएन । संविधानको अन्तर्वस्तुमा पनि मधेशका शक्तिको हस्तक्षेपकारी भूमिका थियो । तर मधेश केन्द्रीत शक्तिहरु अहिले राष्ट्रिय राजनीतिबाट लगभग किनारामा परेको छ । सत्ता निर्माण होस् अथवा एजेण्डामा मधेश केन्द्रीत शक्ति कमजोर बनेको छ । लगभग मधेश आन्दोलनबाट उदाएको शक्ति विघटनकै संघारमा पुगेको छ । यस्तो परिस्थिति आउनुको मुख्य कारण मधेश केन्द्रीत दलका नेताहरुमा देखिएको सत्ताको भोक र जनताको एजेण्डाप्रति अनुत्तरदायी हुनु हो । जसपा नेपाल विभाजनकै कारण पनि सत्ता थियो । त्यसैले मधेश केन्द्रीत दलका नेताहरुमा गम्भीर समीक्षा खाँचो छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies