काठमाडौं : मानव तस्करीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलालीको गौरीगङ्गा नगरपालिका–२ घर भइ हाल ललितपुर महानगरपालिका–७ झम्सिखेल बस्ने ४१ वर्षीय तेजराम चौधरी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
चौधरीले अमेरिका पठाइदिन्छु भन्दै केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानुपर्छ भनि चार जना पीडितबाट एक करोड १८ लाख ५९ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको ढकालले बताए । चौधरीले पीडितलाई ब्राजिलको वर्किङ भिसामा लगाइ श्रम स्वीकृति समेत निकाली फिलिपिन्स पु¥याएकोमा त्यहाँको अध्यागमनले नक्कली कागजात भनि फिर्ता पठाएको, पीडितहरु नेपाल फर्केपछि पुनः दिल्ली पुर्याइ होटलमा बन्धक बनाइएको र पीडितहरुले ३९ लाख बुझाएपछि होटलबाट मुक्त भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ढकालले जानकारी दिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका चौधरीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको ढकालले बताए ।
यस्तै वैदेशिक रोजगारीका लागि क्यानडा र बेलायत पठाइदिने भन्दै ४५ लाख रूपैयाँ भन्दा बढी रकम लिएर सम्पर्कविहीन भएका दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोर्खा गण्डकी गाउँपालिकाका वकिल बहादुर आले र तनहुँका धर्मेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो ।
आले राजन सुनारसहित ६ जनालाई क्यानडा पठाउने भन्दै ३६ लाख रूपैयाँ लिएर फरार भएका थिए । उनले क्यानडामा १ लाख ८० हजार रूपैयाँ तलब हुन्छ भनि झुक्याएर उक्त रकम हात पारेको प्रहरीले बताएको छ ।
तनहुँका श्रेष्ठलाई सुविना श्रेष्ठसमेत दुई जनालाई आकर्षक तलबको रोजगारीमा बेलायत पठाइदिने भनि ९ लाख ५० हजार रूपैयाँ लिएर फरार भएको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरीले दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको बताएको छ ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ मा कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिइ वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाइदिन्छु भनि कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जनाबापत असूल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराइ तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुने व्यवस्था छ ।
विभागले व्यक्तिगत ठगीको उजुरीको आधारमा पक्राउ परेका व्यक्तिहरूलाई उक्त दफा अनुसार कारबाही गर्न वैदेशिक रोजगार न्यायाधिकरणमा ठगीको मुद्दा चलाउने गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies