– कुञ्जदेवी उपाध्याय
एउटा सपना भएर
खेतको आली कुल्चेर हिँड्छु
तिमीलाई के थाहा
अर्गानिक तरकारी नुन मात्रैले
स्वादिलो हुन्छ
सपना रोपेर म रमाउँदा
तिम्रो नाक खुम्चिएको देख्छु
तिमीलाई के थाहा
मेहनतको कमाइ फल्दा
म कति रोमाञ्चित हुन्छु
गाउँ भनेको गाउँ नै हो ।।
नतोल शहरसँग
जिउँदा मान्छे बस्छन् गाउँमा
तिमीलाई के थाहा
यहाँ काट्दैनन् बुहारीले सासू
यहाँका बृद्ध जाँदैनन् बृद्धाश्रम
सबै आउँछन् हेर्न भन्दै
हुँदैन एक्लोपन
आँखा खोलेर हेर
फरक छ यी स्थानमा
गाउँ भनेको गाउँ हो ।।
तिमीलाई के थाहा
जसलाई तिमी जंगल भन्छौ
त्यो प्रकृतिको काख हो
यहाँ रमाइलो छ हरपल
तिमीलाई के थाहा
छैन अवाध स्वाधिनता नारीको
तर खुश छन् सधैँ
आङ्ग ढाकेर बस्त्र लाउँछन्
हिँड्दैनन् शरीर प्रदर्शन गरी
शान्त छ सौम्य छ
यो हो पुण्य भूमि
गाउँ भनेको गाउँ हो
विकसित नभए पनि ।।
बिन्द्र राई/मध्यान्ह
उदयपुर : उदयपुरका युवा कवि जीवन राई आरोही राष्ट्रपतिबाट सर्वोत्कृष्ट कविको रुपमा पुरस्कृत भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंको ६६औं वार्षिकोत्सवको अवसरमा राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरिएको विशेष समारोहमा कवि आरोहीलाई राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट ‘राष्ट्रिय कविता महोत्सव २०८०’ले सम्मानसहित सर्वोत्कृष्ट कविको रुपमा पुरस्कृत गरेको हो ।
गत असार ९ गते राष्ट्रिय कविता महोत्सवमा कवि आरोहीद्वारा लिखित ‘प्रश्नहरुको विज्ञप्ति’ कविता सर्वोत्कृष्टको रुपमा छनोटमा परेको थियो । आरोही लामो समयदेखि उदयपुरमा साहित्य क्षेत्रमा कलम चलाउँदै आएका एक सशक्त कवि हुन् ।
गण्डकीः ज्योतिर्विद् एवं कवि पिताम्बर पौड्यालको ज्योतिःशतकम् शुक्रबरदेखि बजारमा आएको छ ।
लेखनाथ उद्योग वाणिज्य सङ्घको २७औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशन उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।
पोखरा महानगरपालिका–३३ शिवबस्ती निवासी पौड्यालको पुस्तकमा ज्योतिष विषयका विविध पक्षलाई समेट्ने प्रयास गरिएको छ । विभिन्न पाँच पल्लवमा विभाजित पुुस्तक छन्दोबद्धः संस्कृत तथा नेपाली रचनामा ज्योतिषीय विश्लेषणसँगै संस्कृतमा उल्लिखित श्लोकलाई नेपालीमा अनुवाद गरी सरल र जो कोहीले बुझ्ने गरी प्रस्तुत गरिएको छ ।
छयत्तर पृष्ठको पुस्तकको प्रथम पल्लवमा नक्षत्र एवम् राशिबारे उल्लेख गर्दै पञ्चाङ्ग र ज्योतिषबारे विश्लेषण गरिएको छ । दोस्रो पल्लवमा ग्रह विश्लेषण, तेस्रो पल्लवमा षड्वर्ग विश्लेषण छ । चौथो पल्लवमा सङ्क्षिप्त फलादेश, लग्नादी बाह्र भावबाट प्रश्नावलोकन, भावेश फल, विभिन्न भावस्थित व्ययेश फल, उच्च नीच ग्रह फल र व्याधी मृत्युबारे चर्चा छ। पाँचौँ पल्लवमा सङ्क्षिप्त राशिफल, वैदिक सम्पदा र नीति श्लोक उल्लेख गरिएको छ ।
पौड्यालका ज्योतिषसम्बन्धी विभिन्न लेखरचना ९२०७२०, फलित पञ्चामृतम् पहिलो संस्करण ९२०७३०, दोस्रो संस्करण ९२०७४० र तेस्रो संस्करण ९२०७६० प्रकाशित भइसकेका छन् । रासस
काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले जननायक विपी कोइराला स्मृति ट्रस्टले बर्सेनि प्रदान गर्ने विपी साहित्य सम्मानबाट जनकपुरका डा. राजेन्द्र बिमललाई पुरस्कृत गरेका छन् । सो पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
त्यस्तै ट्रस्टले प्रदान गर्ने विपी प्रजातन्त्र सेनानी सम्मान रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपानलाई उनले पुरस्कृत गरे । सो पुरस्कारको राशि ५१ हजार नगद र सम्मानपत्र रहेको छ ।
ट्रस्टले कोइरालाको एक सय १०औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार राष्ट्रपति भवन शीतल नीवासमा आयोजना गरेको विपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा सो पुरस्कार प्रदान गर्दै राष्ट्रपति पौडेलले नेपालको इतिहासमा जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन कठोर जेलनेल एवम् निर्वासनसहितको लामो सङ्घर्षपूर्ण जीवनयात्रामा समर्पित कोइरालाको बहुआयामिक व्यक्तित्व राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय जगत्मा रहेको चर्चा गरे ।
विश्वमा उत्कृष्ट मानिएको उत्पादनमा वृद्धि, प्राथमिकता निर्धारणसहितको न्यायोचित वितरणमा आधारित लोकतान्त्रिक सिद्धान्तप्रति विपीको विचार ‘सबै नेपालीको आधारभूत आवश्यकता र सबै नेपाली परिवारको मध्यमवर्गीय हैसियत’ भन्ने उनको धारणा समानताको सिद्धान्तलाई मूर्तरूप दिने व्यावहारिक र ठोस दृष्टिकोण भएको बताउँंदै राष्ट्रपति पौडेलले अहिले पनि सो दृष्टिकोण उत्तिकै सान्दर्भिक रहेको बताए ।
‘विपीले देखाउनुभएको आदर्शमा हामी हिँड्न सकेमात्र उहाँंप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने पनि म ठान्दछु’, उनले भने । राष्ट्रपति पौडेलले स्वतन्त्रतालाई मानिसको अविच्छिन्न अधिकारका रुपमा स्थापित गरेर लोकतान्त्रिक शासन प्रणालीको माध्यमबाट मुलुकको आर्थिक र सामाजिक विकास गर्नुपर्छ भन्ने विपीको मान्यता रहेको उल्लेख गरे ।
‘राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई समय र परिस्थिति सापेक्ष बनाउँंदै त्यसैलाई अनुकरण गरेर आज हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौँ’, राष्ट्रपति पौडेलले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुक सामु देखापर्ने यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रुपमा समृद्ध नयाँ नेपाल निर्माण गर्न विपीले अघि सार्नुभएको कल्याणकारी राज्य प्रणालीको अवधारणा सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक छन् ।’
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको अहिलेको संविधान विपी विचारकै सार भएको धारणा व्यक्त गरे । राष्ट्रपति पौडेलले अहिलेको संविधानले गरेको समावेशी व्यवस्थासहितका लोकतान्त्रिक मूल्यमान्यता विपीले चाहेको समावेशी समाजको अवधारणाको सार भएको धारणा व्यक्त गरे । राष्ट्रपति पौडेलले नेपालको राजनीतिमा सदैव उच्चस्थानमा रहने विपीमा रहेको साहित्यिक प्रतिभाले समेत उनको बहुआयामिक व्यक्तित्वलाई प्रस्ट्याएको पनि बताए ।
कार्यक्रममा ट्रस्टका सदस्य एवम् प्रतिनिधिसभाका सांसद डा. शशाङ्क कोइरालाले धन्यवाद ज्ञापन गर्दै विपीको लोकतन्त्रप्रतिको निष्ठा, विचार र दर्शनलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए । ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले विपीको समग्र व्यक्तित्वको अध्ययन अनुसन्धानका लागि ट्रस्टले आफ्नै भवन निर्माण गरी अनुसन्धान केन्द्र बनाउन लागेको जानकारी गराए ।
सम्मानित व्यक्तित्व बिमलले विपी सदैव स्वतन्त्रता र समानताका पक्षधर थिए भन्दै लोकतान्त्रिक समाजवाद नै विपीको राजनीतिको चेतनाको प्राण भएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, सांसदहरु तथा विभिन्न क्षेत्रका उच्चपदस्थ व्यक्तिहरुको सहभागिता थियो । रासस
काठमाडौं : नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्याएका ९ जना विशेष महिला व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । आ–आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने श्रष्टाहरु नगद दुई सय पचास डलरसहित सम्मानपत्रबाट सम्मानित हुने छन् ।
नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।
समितिको निर्णयअनुसार अनु शाह (साहित्य–बोस्टन), आचार्य प्रभा (साहित्य–कोलोराडो), ज्योति राई (समाजसेवा–न्यूयोर्क), मञ्जु कार्की संग्रौला (डिसी–समाजसेवा), माया गुरूङ् (साहित्य–बेलायत), रीतादेवी प्रधान (क्यालिफोर्निया–साहित्य), शान्ता घिमिरे (न्यूजर्सी–साहित्य), डा.संगीता स्वेच्छा (साहित्य–बेलायत) र सुनिता डंगोल (उपमेयर–काठमाडौं, समाजसेवा) रहेका छन् ।
काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव, २०८० का उत्कृष्ट दश जना कविलाई बिहीबार पुरस्कार प्रदान गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८० का उत्कृष्ट कविहरूलाई राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कृत कविहरूमा उमेश पुन (छोरी, सिमाना र देश शीर्षकको कविता) काठमाडौं, कृपा करुणा पोखरेल (रक्तिम कथा) सुनसरी, खिमानन्द जोशी (ईजा मुई गोठ नाइँ झान्या हुँ) दार्चुला, जीवन आरोही (प्रश्नहरूको विज्ञप्ति) उदयपुर, टङ्कबहादुर झाँक्री मगर (हुन्के बे बड्डा) रोल्पा, तीर्थराज विश्वकर्मा (कविले के सम्झियो ?) सुनसरी, नवीन अभिलाषी (भेरी : अभिशप्त बगिरहेछ) दाङ, पूर्णानन्द ओझा (सन्निको मान्स) डोटी, प्रकाश दिप्साली राई (नौरानको नाम) सुनसरी र राधिका कल्पित (परिचय पत्र) काठमाडौं छन् ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले साहित्यको विकासमा सरकारले सदैव सहयोग गर्ने धारणा राख्दै स्रस्टाहरूले नेपाली समाजको सूक्ष्म अवलोकन, अध्ययन र अनुसन्धान गरेर मौलिक रचना सृजना गर्नुपर्नेमा जोड दिए । हामीले आफ्नो मौलिक रचना विश्व साहित्यमाझ प्रस्तुत गर्नुपर्ने उनको सुझाव थियो ।
प्रतिष्ठानका कुलपति भुपाल राईले प्रतिष्ठानका गतिविधि र कविता महोत्सवका विविध पक्षबारे प्रकाश पारेका थिए । उनले प्रतिष्ठानका प्रकाशनहरू सो अवसरमा राष्ट्रपति पौडेललाई प्रदान गरे ।
सो अवसरमा साहित्य विभाग प्रमुख बाबा बस्नेतले राष्ट्रिय कविता महोत्सव, २०८० सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे भने उपकुलपति विमल निभाले स्वागत मन्तव्य राखिन् ।
शेखर बस्नेत, खिजिदेम्बा-७ रावादोलु (ओखलढुङ्गा)
नरोक्नु महाराजको सवार आगो लाग्न सक्छ
भोलि बिहानै सिंहदरबार आगो लाग्न सक्छ
धनीलाई बालुवाटार बेच्दा पनि मुद्दा लाग्दैन
गरिबको ठेलामा ब्यापार आगो लाग्न सक्छ
स्वतन्त्रताको कठालोमा हात नपुर्याउनु होला
बैसाखी टेकेको सरकार आगो लाग्न सक्छ
आगोको बारेमा लेख्दा पानी नलेखी दिनु
आगो विरुद्धको समाचार आगो लाग्न सक्छ
गाँजा सल्काएको सलाई भुइँमा झर्नु पहिले
सबै दमकल होशियार आगो लाग्न सक्छ ।
ललितपुर : ‘सूर्य नेपाल काठमाडौं- कलिङ साहित्य महोत्सव' मा कवि रिमा के.सी.द्वारा अनुवाद गरिएको ‘अमृता प्रीतमका छानिएका कविता'लाई अनुवाद तर्फ यशस्वी अवार्ड प्रदान गरिएको छ । विगत दुई दशकदेखि अनवरत रूपमा साहित्य जीवन समर्पित कवि के.सी. नेपाली साहित्यकाशमा चम्किला तारा हुन् ।
त्यसैगरी सोही कार्यक्रममा डाक्टर नवराज केसीको 'शून्यको मूल्य', विवेक ओझाको उपन्यास 'ऐंठन' र रेणुका जिसीको कथा संग्रह 'सनेस'लाई यशस्वी अवार्डद्वारा सम्मान गरिएका थियो ।
तीन दिनसम्म चलेको महोत्सवमा आख्यान र गैरआख्यान गरी १० फरक विधाका कृतिहरूलाई पुरस्कृत गरिएको हो । सम्मानित हुने अन्य कृतिमा कवितातर्फ 'भाषाको बकपत्र', जीवनीतर्फ गोविन्द गिरी प्रेरणा, 'सुश्री पारिजात', बालसाहित्य विधामा अनुराधा लिखित 'छमछमको छमछमी', अनुवादतर्फ रीमा केसीको 'अमृता प्रीतमका छानिएका कविता', खाद्य तथा औषधि विधामा 'रैथाने चार्डवाड र खानपान', अंग्रेजी भाषाको संस्मरण 'हिमालयन मेभरिक' र अंग्रेजी कवितासंग्रह 'मिनट्स या मेरिट' छन् ।
ललितपुरको हिमालय होटलमा सञ्चालित महोत्सवमा लेखकहरूको उपस्थितमा यो अर्वाडद्वारा सम्मान प्रदान गरिएको हो । नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकालगायत देशका साहित्यकारहरूको भव्य जमघट हुने यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा भएको हो ।
–रीता ताम्राकार
छिमेकीको घरपैचोमा जानु पर्ने । ढिलो भइसक्यो । पाती चढाउन पनि बोलाएको । चोकमा गएर फलफुल पनि ल्याउनु पर्ने । सधैँको यस्तो हतार । के होला व्यवहार पनि । मनमा खटपटि मच्चाउँदै लुगा फेर्दै छे राधिका ।
“आमा ! हामीचाहिँ खाली अर्काको घर पैंचामा मात्र जाने ? हाम्रो आफ्नो घर कहिले बनाउने नि ?”
उसकी आठ वर्षकी छोरीको यो अप्रत्यासित प्रश्नले कपडा फेर्दै गरेका हात फतक्कै गले । फेरि त्यो हात अड्याउने शाहस राधिकामा भरिएन । ऊ मौन बसी प्रतिउत्तरको अभावमा । हो त, के उत्तर दिने छोरीलाई ? जबकी उसैलाई थाहा छैन आफ्नो घर बनाउने भाग्य कहिले जुर्ने हो ।
आफ्नो घरको सपना, रहर कसलाई कहिले पो नहुँदो हो र ? आ–आफ्नो बलबुता र हैसियतले भ्याउँदो हो त, अर्काको घरमा बसेर अपजस र अबगाल थाप्न कसलाई पो मन हुँदो हो र ? छिरिक्क केही गर्नु हुँदैन, घरबेटिको महानवाणी सुरु भइहाल्छ ।
हाम्रो समाजको नीति, नियम, संस्कार, धर्म वा नियति जे उपनाम दिए पनि, वर्षौं सके जुगौं सँगै बसे पनि किरायादार र घरबेटीको सम्बन्धमा आफ्नोपनको माधुर्य भेट्टाउन सकिँदो रहेनछ । यी दुई व्यक्ति वा सम्बन्धबीच एउटा यस्तो नमिठो पर्खाल हुँदो रहेछ जसलाई ढाल्न कुनै पनि समयको हुरी असक्षम छ ।
“आमा ! के ट्वाल्ल हेरिरहनु भएको ? लुगा फेरि सकेर कपाल कोर्न अझै बाँकी नै छ । सबैभन्दा ढिलो पुग्नु ? सबै गइसके होलान् ।”
अघि मात्र अर्काको घरपैँचामा जानु परेको गुनासो गर्ने राधिकाकी छोरी अहिले ढिलो भएकामा हतारिँदै छे । यही होला बाल शुलभता, चञ्चलता र कोमलता । छोरीको हतारलाई मूर्तता दिन राधिका छिट्टो छिट्टो तयार हुन् थाली ।
तर, जतिजति आमन्त्रण गरिएको घरको नजिक पुग्दै जान्छे उति उति उसको पाउमा गह्रुँगो ढुङ्गा झुण्डीएको जस्तो अनुभूति उसलाई हुन्छ । जसोतसो आफूलाई छोरीको हतारसँग घिसार्दै ऊ अगाडी बढी ।
निक्कै चहलपहल थियो नयाँ घरमा । घरमुलीको चुरीफुरी हेर्न लायक देखिन्थ्यो । हुन त आफुलगायत आफ्ना सन्तान दरसन्तानलाई बासस्थान जुराउन पाउँदा कुन मूर्खलाई पो खुशी नलाग्ला ? तर राधिकालाई लाग्यो, यी सबै उसको सानो बासस्थान पनि नहुनुको उपहास हो । हुन सक्छ, यो राधिकाको मनको भ्रम होस् वा हिनताबोध होस् ।
अझ घरमुलीले टिका लगाएर “नानीले पनि छिट्टै आफ्नो घर बनाई हामीलाई पनि घरपैंचामा बोलाउने साइत जुरोस् है !” भन्दै दिएको आशिर्वादको यो वाक्य त राधिकाको मुटुमा शूल बनेर बिझ्यो । ऊ त्यसै त्यसै छटपटाई । उसलाई खपिनसक्नुको औडाहा भयो । त्यसै त उसलाई त्यो नयाँ घरको भित्ता र झ्यालढोकाले गिज्याइ रहे जस्तो लागिरहन्थ्यो । अहिले त झन् खिज्याहट रुपी अग्निमाथि घिउ थपे सरह भयो ।
धेरै समय टिक्न सकिन ऊ त्यहाँ । अघि घिसार्दै त्यहाँसम्म पुर्याएका पाइला अहिले फर्कंदा फूलका थुंगाजस्ता हल्का भए । तर अघिको त्यो वाक्य मनमस्तिस्कबाट मेटिएको छैन रत्तिभर । घर एउटा आफ्नै बनाउन पाए कति आनन्द हुन्थ्यो ? बारीमा एक ढिँडी खुर्सानी भए पनि फल्थ्यो ऋतुअनुसार फलफूल खान पाउँदा नानीहरु हृष्टपुस्ट हुन्थे ।
मुलद्वारको छेउमा तुलसीको मोठ बनाएर कतैबाट आउँदा वा कति जाँदा साइत पार्नु हुन्थ्यो । दसैँ तिहारमा ढकमक्क सयपत्री, मखमली र गोदावरी फुलाएर घरमा आउने हरेक पाहुनाको मन लोभ्याउन हुन्थ्यो । यस्तै थुप्रै रहरहरु छन् राधिकाको मनमा । तर पनि ऊ कुण्ठाग्रस्त थिइन् । ऊ सानो बचतबाट ठूलो काम बन्न सक्छ भन्ने सकारात्मक शैलीलाई अङ्गीकार गर्न जान्दछे । तर आजको आफ्नै व्यवहारदेखि आफैं छक्क छे । ऊ आज सोच्न बाध्य छे, के उसले बुझेकी छैन ? इष्र्या र जलनले अशान्ति र बर्बादी निम्त्याउँछ भनेर ?
“हेर न् राधा ! अफिसमा कामको चाप यति बढी छ कि समयमा घर आउने पाइँदैन । के भयो तिमीलाई ? निनाउरी छ्यौ त ?” राधिकाले बोल्ने शब्द पाइन वा हुन हुनसक्छ बोल्ने चाहिन ।
“बाबा ! आज हामी गीता आन्टीहरुको नयाँ घरको घरपैंचामा गएर आएका । हजुरमुमाले आमालाई पनि छिट्टै घर बनाएर घरपैंचामा हामीलाई पनि बोलाउनु भन्ने आशिर्वाद पनि दिनु भयो टिका लगाउँदै ।” छोरी किन मौन रहन्थी । सुनाई दिनको ईतिवृतान्त । राधीका तुवाँलो मुहारभरि पोतेर मौन नै छे । बिना वर्षा धुम्मिएको दिन जस्तो ।
एक विचित्रको नजर स्वास्नीमाथि फाल्दै “ए ! तिम्रो मुहारमा औंशी लाग्नुको कारण त त्यो पो रहेछ । होइन अर्काको उन्नतीमा जल्ने कस्तो स्वभाव हँ तिम्रो । त्यस्तो जलन हुनेले त कहीँ आउने जाने नगर्नु । छोटो सोचाई राख्ने छोटाहरु यस्तै हुन्छन् ।” भुत भुतायो ऊ नामिठोसँग ।
आफ्नो असक्षमतामाथि मान्छे अर्काको कमजोरी औँलाएर पर्दा लाउँछन् । यही सोंचेर मन बुझाउन खोजे पनि मनभित्रको ग्लानि तरलरुपमा आँखाबाट बलेसी बनि चुहिरह्यो । कति रहर छ, राधाको मनभित्र आफ्नो घरमा बस्ने । आफ्नो लोग्नेभन्दा सानो तहका कर्मचारीले आफ्नै आँखा अगाडि घर बनाएर बसिसके । आ–आफू भने जहिले तहिले भाडाको एक कोठामा । कोठाको चारैतिर आँखा घुमाउँछे, लाग्छ उसलाई यो कोठा त एउटा जेल हो । चार पर्खालभित्रको बन्दि जीवन बिताउन ऊ विवश छे । जहाँ उसका इच्छा, चाहना र रहरहरु पिल्सिएर घाइते हुन बाध्य छन् । उसलाई थाहा छ, उसको लोग्ने अफिसको कामले ढिलो आएको होइन । तासको लत र तासको जमातमा ऊ हर दिन अल्झन्छ । उनीहरुको डेरा बसाईको श्रेय पनि लोग्नेको त्यहि बानीलाई जान्छ ।
थोरैथोरैको बचत पैसामा केही अफिसको पेस्की र केही ऋण थपेर एउटा सानो घडेरी त जुराउन सकेकी छ । तर घर कसरी बनाउने ? कहिले बस्ने आफ्नो घरमा ? कहिले छाड्ने यो अब्जसे डेरा ? यस्तै प्रश्नहरु राधिकाको मनमा रुमल्लिरहन्छन् हरदम ।
“तपाइँका सहकर्मी साथीहरुको सानै भएपनि सबैको आ–आफ्नै घर छ । हामीले मात्र बनाउन सकेनौं । अब त त्यो पैसा मास्ने खेल त्यागीदिनुस् । छोराछोरी पनि बढ्दै छन् । उनीहरुलाई पनि त आफ्नो घरमा बस्न मन लाग्दो हो नि !” राधिकाले एकदिन लोग्नेलाई मिठो स्वरमा ओँठभरि मधुर मुस्कान सजाउँदै भनिन् ।
“तिमीलाई मात्र किन ? मलाई पनि त लाग्छ नि ? हो अब चाहिँ तास नछुनु पर्यो । साह्रै बिगार्यो बा .. ! मेरो कमाईले मात्र त जति साँचे पनि कहिले सम्भव होला र खै ! घर बनाउन । जग्गा किनेको पनि त अलिअलि ऋण छँदै छ । बरु राधा ! तिम्रा भाइहरु त बाहिर कमाउन गएका छन् । हुन त अहिले विदेशिएर पनि कमाई त कति नै पो हुन्छ र ? तर पनि उनीहरुले पठाएको पैसाले मलाई सघाउँदै गरे उनीहरुलाई बिस्तारै तिर्दै गर्नु हुन्थ्यो । जाउ, एकपटक माईतीमा गएर कुरा गरिहेर । तिम्रा भाइहरु पनि फर्कने बेला भयो ।”
लोग्नेको सल्लाह राधिकालाई राम्रै लाग्छ । अब उसलाई पनि आफ्नो घरमा बस्ने रहरले छोएछ भनेर दंग पर्छे । मनको बसन्त भरी पालुवा पलाएको महसुश हुन्छ । राम्रै भयो माइतीबाट पनि घर बनाउँदा सघाउने आश्वासन पाई उसले ।
मान्छेको मन न हो कल्पनाशील । कल्पनामै रमाउने, कल्पनामै हराउने, कल्पनामै मिठास र तिक्तताको अनुभूति गर्ने । राधिका पनि कल्पनामा घर बनाएर त्यसलाई स्याहार गर्ने, सजाउने, मिलाउने धुनमा मग्न छे । एककोठे जीवन बिताईरहेकी राधिका कोठाको कुनामा रहेको खाटमाथि बसेर पनि त्यहाँ हुँदिन । ऊ भौंतारी रहेकी हुन्छे । आफ्नो घरको कल्पनामा ऊ हराइरहेछे, कुन कोठामा केके सामान राख्ने भनेर । कल्पनामै उसलाई सामानको अभावसम्म खड्किन्छ ।
अब त यसो साथीभाइसँग पनि नधकाई घर बनाउने कुरा गर्न थालेकी छ राधिकाले । घरपैंचामा सबैलाई बोलाउँछु, आउनुपर्छ पनि भनेकी छे । सघाउनु पर्छ है भनेकी छे । घर पछाडीको सानो खाली जग्गामा सागसब्जी रोपेर छर – छिमेकमा बाँडने सपना पनि देख्छे । दिउँसै खुल्ला आँखाले धेरै सपना देखेकी छे ।
बिचरी ! नियति त होला नि उसको यो । धेरै नेपालीलाई जस्तै विपना र यथार्थमा मनका ईच्छा, चाहना पूरा गर्ने अधिकार उसलाई पनि अहिलेसम्म जुरेको छैन । बाध्य छे, सपना र कल्पनामा डुब्न ऊ ।
“रुद्रजी हुनुहुन्छ होला ?” बाहिर अपरिचित आवाज ।
“उहाँ त आइपुग्नु भएको छैन । के काम थियो होला हजुरको ?”
राधाको आँखामा आउँछ र जान्छ । घर बनाउनेबारे पो कुरा हो कि !
आगन्तुक निर्धक्क बोल्छ, “त्यो तपाइँहरुको सानो जग्गा पास गरिदिन्छु भनेर छिन्ति पैसा लिएको कयौं दिन भइसक्यो । अझै रुद्रजी तात्नु भएन र छिट्टै गरौँ भनेर सम्झाउन आएको । जग्गा तपाइँको नाममा होला होइन ? पास गर्न जाँदा तपाइँले पनि एकछिन कष्ट गर्नुपर्यो सही गर्नको लागि ।”
कस्तो कहाली लाग्दो क्षण ! बिच सभामा लोग्नेले उसको लिलामी बाके जस्तो । उसका इच्छा, चाहना, सपना, कल्पना र रहरहरुको लिलामी, उसलाई लाग्दैछ । लिलामीका लागि बोल्नेहरुको स्वर चर्को चर्को हुँदै अट्टहासभित्र आफ्ना रहरहरुको मृत शव सहरभरी खोज्दै छे ।
–रूप नारायण तिम्सिना
“निरु ! आज अलिक छिटो आउ है ल अफिसबाट । नेपालबाट पाहुना पनि आउँदैछन् घरमा पनि म एक्लै के गर्नु के नगर्नु हुन्छु है त ल !” सुन्तलीले बुहारीलाई आफ्नो दुखेसो मधुर स्वरमा सुनाइन् ।
“हुन्छ आमा तपाईं चिन्ता नमान्नोस् म भर्सक छिट्टै आउँछु र ताजा हरियो साग सब्जीहरु पनि लिएर आउँछु । बरु नानीहरु आएपछि खाजा चाहिँ दिँदै गर्नु होला है आमा ! म गएँ ल !” भन्दै निरु गाडी चडेर अफिसतिर लागिन् ।
सुन्तलीका मनमा भने विविध द्वन्द्व प्रस्फुटन भैरहेका थिए “पाहुना आउँदैछन्, घर सर सफाइ गर्नुछ, खै निरुको व्यहारशील स्वभाव कस्तो लाग्ने हो कुन्नि पाहुनालाई । छोरो परलोक भएको पनि टक्कै पाँच वर्ष भो, आजसम्म यो घर छोडेर बुहारी अन्त कतै गएकी पनि छैन । यसको विवाह गरिदिन पाए साह्रै ढुक्क हुने थियो । बिचरा उमेर पनि कलिलै छ । राम्ररी घर गरिखान सक्छे । यो यहीँ बसिरहँदा मलाई त राम्रै छ नि तर, यसको जिन्दगी नै बर्बाद हुन्छ । यदी कोही हामी बुहारी बनाउँछौं भन्दै आउँछन् भने खुसी खुसी बिदादिन्छु नि । म त बुढी मान्छे जसरी पनि बाँचिहाल्छु । नातिनातिना हुन्छन् नै मलाई त्यतिभए भइगयो नि ।” आदि इत्यादि कुराहरु सम्झिँदै घर सर सफाइ गर्दै गर्दा गाडीले हरन बजायो । “ला पाहुना आइपुगे” भन्ने सम्झिँदै बाहिर निस्किँदा नानीहरु रहेछन् ।
“लु लु लु आओ नानी हो, लु झट्ट लुगा फेर अनि हात मुख धोएर खाजा खानु” भन्दै सुन्तली खाजा तयार गर्न थालिन् । यता नानीहरु तयार भएर आए अनि खाजा खाँदै नातिले भन्यो “हजुर आमा ! सुन्नोस् न ! हाम्रो स्कुलमा त तीजको प्रोग्राम पो छ त हामी सबै ‘प्रेक्टिस’ गर्दै छौं ।”
“नापिस नाथे ! तैँले चैं के गर्छस् र तीजमा प्रेक्टिस ?” सुन्तलीले हाँस्दै सोधिन् ।
“हजुर आमा ! यो चाहिँ जोकडको रोल गर्छ अनि हामी केटीहरु चाहिँ संगीनी नाच्ने ।” नातिनीले सुझाइन् ।
ए ल ल राम्रो भएछ भन्दै मुसुक्क हाँसिन सुन्तली ।
यत्तिनै बेला बाहिर पुनः गाडीको हरन बज्यो । सुन्तलीले “अब चाहिँ पक्कै आए पाहुना” भन्दै साडी मिलाउँदै बाहिर गएर आदरपूर्वक पाहुनालाई घरमा भित्र्याइन् ।
हतार हतार चिया ल्याएर दिइन् । चिया पिउँदै गफ गर्दै गर्दा निरुको पनि आगमन भयो । उनले सबैलाई प्रणाम गरेर सिधै भोजन पानीको व्यवस्थापनतर्फ लागिन् ।
पाहुनाले आनन्दसँग भोजन लिएपछि सासू बुहारी र नानीहरुले पनि खाए ।
बेलुकाको धन्दा सकेपछि गफ सुरु भो । सबै कुरा मिल्यो । निरुको आनि बानी व्यवहार सबै मन पराएका पाहुनालाई सुताएर सुन्तली र निरु पनि बिहान् अबेर हुन्छ लौ सुतौं भन्दै आ–आफ्नै कोठातिर पसे ।
भोलिपल्ट बिहानै नानीहरु न उठिकन निरु पनि तयार भएर निस्किन् । सुन्तलीले रातो टीका निधारमा टाँस्दै भनिन् “निरु ! यो घर नबिर्सनु, यो घरमा आउन नडराउनु, यो घर आज उपरान्त तिम्रो माइती घर हो । तिम्रो भाग्यले राम्रो ज्वाईं पाएकी छौँ राम्रो घर गरिखानु ल” भन्दै बरररर आँसु झारिन् । निरुको मन भरिएर आयो उनले च्याप्प सुन्तलीलाई समाइन् दुवैजना रोए अनि सुतलीले पाहुनालाई पनि टीका लगाएर विदा गरिन् ।
भाग्यले ठगिएकी निरु त्यो घर छोडेर कतै जान चाहन्न थिइन् तर, जिन्दगीको उतार चडाबलाई सम्झिँदै आफ्नी आमाभन्दा अधिक माया गर्ने सासूआमा र प्राणप्रिय नानीहरु छोडेर एउटा अर्को घरकी गृहलक्ष्मी बनेर जान बाध्य भइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies