–रीता ताम्राकार
छिमेकीको घरपैचोमा जानु पर्ने । ढिलो भइसक्यो । पाती चढाउन पनि बोलाएको । चोकमा गएर फलफुल पनि ल्याउनु पर्ने । सधैँको यस्तो हतार । के होला व्यवहार पनि । मनमा खटपटि मच्चाउँदै लुगा फेर्दै छे राधिका ।
“आमा ! हामीचाहिँ खाली अर्काको घर पैंचामा मात्र जाने ? हाम्रो आफ्नो घर कहिले बनाउने नि ?”
उसकी आठ वर्षकी छोरीको यो अप्रत्यासित प्रश्नले कपडा फेर्दै गरेका हात फतक्कै गले । फेरि त्यो हात अड्याउने शाहस राधिकामा भरिएन । ऊ मौन बसी प्रतिउत्तरको अभावमा । हो त, के उत्तर दिने छोरीलाई ? जबकी उसैलाई थाहा छैन आफ्नो घर बनाउने भाग्य कहिले जुर्ने हो ।
आफ्नो घरको सपना, रहर कसलाई कहिले पो नहुँदो हो र ? आ–आफ्नो बलबुता र हैसियतले भ्याउँदो हो त, अर्काको घरमा बसेर अपजस र अबगाल थाप्न कसलाई पो मन हुँदो हो र ? छिरिक्क केही गर्नु हुँदैन, घरबेटिको महानवाणी सुरु भइहाल्छ ।
हाम्रो समाजको नीति, नियम, संस्कार, धर्म वा नियति जे उपनाम दिए पनि, वर्षौं सके जुगौं सँगै बसे पनि किरायादार र घरबेटीको सम्बन्धमा आफ्नोपनको माधुर्य भेट्टाउन सकिँदो रहेनछ । यी दुई व्यक्ति वा सम्बन्धबीच एउटा यस्तो नमिठो पर्खाल हुँदो रहेछ जसलाई ढाल्न कुनै पनि समयको हुरी असक्षम छ ।
“आमा ! के ट्वाल्ल हेरिरहनु भएको ? लुगा फेरि सकेर कपाल कोर्न अझै बाँकी नै छ । सबैभन्दा ढिलो पुग्नु ? सबै गइसके होलान् ।”
अघि मात्र अर्काको घरपैँचामा जानु परेको गुनासो गर्ने राधिकाकी छोरी अहिले ढिलो भएकामा हतारिँदै छे । यही होला बाल शुलभता, चञ्चलता र कोमलता । छोरीको हतारलाई मूर्तता दिन राधिका छिट्टो छिट्टो तयार हुन् थाली ।
तर, जतिजति आमन्त्रण गरिएको घरको नजिक पुग्दै जान्छे उति उति उसको पाउमा गह्रुँगो ढुङ्गा झुण्डीएको जस्तो अनुभूति उसलाई हुन्छ । जसोतसो आफूलाई छोरीको हतारसँग घिसार्दै ऊ अगाडी बढी ।
निक्कै चहलपहल थियो नयाँ घरमा । घरमुलीको चुरीफुरी हेर्न लायक देखिन्थ्यो । हुन त आफुलगायत आफ्ना सन्तान दरसन्तानलाई बासस्थान जुराउन पाउँदा कुन मूर्खलाई पो खुशी नलाग्ला ? तर राधिकालाई लाग्यो, यी सबै उसको सानो बासस्थान पनि नहुनुको उपहास हो । हुन सक्छ, यो राधिकाको मनको भ्रम होस् वा हिनताबोध होस् ।
अझ घरमुलीले टिका लगाएर “नानीले पनि छिट्टै आफ्नो घर बनाई हामीलाई पनि घरपैंचामा बोलाउने साइत जुरोस् है !” भन्दै दिएको आशिर्वादको यो वाक्य त राधिकाको मुटुमा शूल बनेर बिझ्यो । ऊ त्यसै त्यसै छटपटाई । उसलाई खपिनसक्नुको औडाहा भयो । त्यसै त उसलाई त्यो नयाँ घरको भित्ता र झ्यालढोकाले गिज्याइ रहे जस्तो लागिरहन्थ्यो । अहिले त झन् खिज्याहट रुपी अग्निमाथि घिउ थपे सरह भयो ।
धेरै समय टिक्न सकिन ऊ त्यहाँ । अघि घिसार्दै त्यहाँसम्म पुर्याएका पाइला अहिले फर्कंदा फूलका थुंगाजस्ता हल्का भए । तर अघिको त्यो वाक्य मनमस्तिस्कबाट मेटिएको छैन रत्तिभर । घर एउटा आफ्नै बनाउन पाए कति आनन्द हुन्थ्यो ? बारीमा एक ढिँडी खुर्सानी भए पनि फल्थ्यो ऋतुअनुसार फलफूल खान पाउँदा नानीहरु हृष्टपुस्ट हुन्थे ।
मुलद्वारको छेउमा तुलसीको मोठ बनाएर कतैबाट आउँदा वा कति जाँदा साइत पार्नु हुन्थ्यो । दसैँ तिहारमा ढकमक्क सयपत्री, मखमली र गोदावरी फुलाएर घरमा आउने हरेक पाहुनाको मन लोभ्याउन हुन्थ्यो । यस्तै थुप्रै रहरहरु छन् राधिकाको मनमा । तर पनि ऊ कुण्ठाग्रस्त थिइन् । ऊ सानो बचतबाट ठूलो काम बन्न सक्छ भन्ने सकारात्मक शैलीलाई अङ्गीकार गर्न जान्दछे । तर आजको आफ्नै व्यवहारदेखि आफैं छक्क छे । ऊ आज सोच्न बाध्य छे, के उसले बुझेकी छैन ? इष्र्या र जलनले अशान्ति र बर्बादी निम्त्याउँछ भनेर ?
“हेर न् राधा ! अफिसमा कामको चाप यति बढी छ कि समयमा घर आउने पाइँदैन । के भयो तिमीलाई ? निनाउरी छ्यौ त ?” राधिकाले बोल्ने शब्द पाइन वा हुन हुनसक्छ बोल्ने चाहिन ।
“बाबा ! आज हामी गीता आन्टीहरुको नयाँ घरको घरपैंचामा गएर आएका । हजुरमुमाले आमालाई पनि छिट्टै घर बनाएर घरपैंचामा हामीलाई पनि बोलाउनु भन्ने आशिर्वाद पनि दिनु भयो टिका लगाउँदै ।” छोरी किन मौन रहन्थी । सुनाई दिनको ईतिवृतान्त । राधीका तुवाँलो मुहारभरि पोतेर मौन नै छे । बिना वर्षा धुम्मिएको दिन जस्तो ।
एक विचित्रको नजर स्वास्नीमाथि फाल्दै “ए ! तिम्रो मुहारमा औंशी लाग्नुको कारण त त्यो पो रहेछ । होइन अर्काको उन्नतीमा जल्ने कस्तो स्वभाव हँ तिम्रो । त्यस्तो जलन हुनेले त कहीँ आउने जाने नगर्नु । छोटो सोचाई राख्ने छोटाहरु यस्तै हुन्छन् ।” भुत भुतायो ऊ नामिठोसँग ।
आफ्नो असक्षमतामाथि मान्छे अर्काको कमजोरी औँलाएर पर्दा लाउँछन् । यही सोंचेर मन बुझाउन खोजे पनि मनभित्रको ग्लानि तरलरुपमा आँखाबाट बलेसी बनि चुहिरह्यो । कति रहर छ, राधाको मनभित्र आफ्नो घरमा बस्ने । आफ्नो लोग्नेभन्दा सानो तहका कर्मचारीले आफ्नै आँखा अगाडि घर बनाएर बसिसके । आ–आफू भने जहिले तहिले भाडाको एक कोठामा । कोठाको चारैतिर आँखा घुमाउँछे, लाग्छ उसलाई यो कोठा त एउटा जेल हो । चार पर्खालभित्रको बन्दि जीवन बिताउन ऊ विवश छे । जहाँ उसका इच्छा, चाहना र रहरहरु पिल्सिएर घाइते हुन बाध्य छन् । उसलाई थाहा छ, उसको लोग्ने अफिसको कामले ढिलो आएको होइन । तासको लत र तासको जमातमा ऊ हर दिन अल्झन्छ । उनीहरुको डेरा बसाईको श्रेय पनि लोग्नेको त्यहि बानीलाई जान्छ ।
थोरैथोरैको बचत पैसामा केही अफिसको पेस्की र केही ऋण थपेर एउटा सानो घडेरी त जुराउन सकेकी छ । तर घर कसरी बनाउने ? कहिले बस्ने आफ्नो घरमा ? कहिले छाड्ने यो अब्जसे डेरा ? यस्तै प्रश्नहरु राधिकाको मनमा रुमल्लिरहन्छन् हरदम ।
“तपाइँका सहकर्मी साथीहरुको सानै भएपनि सबैको आ–आफ्नै घर छ । हामीले मात्र बनाउन सकेनौं । अब त त्यो पैसा मास्ने खेल त्यागीदिनुस् । छोराछोरी पनि बढ्दै छन् । उनीहरुलाई पनि त आफ्नो घरमा बस्न मन लाग्दो हो नि !” राधिकाले एकदिन लोग्नेलाई मिठो स्वरमा ओँठभरि मधुर मुस्कान सजाउँदै भनिन् ।
“तिमीलाई मात्र किन ? मलाई पनि त लाग्छ नि ? हो अब चाहिँ तास नछुनु पर्यो । साह्रै बिगार्यो बा .. ! मेरो कमाईले मात्र त जति साँचे पनि कहिले सम्भव होला र खै ! घर बनाउन । जग्गा किनेको पनि त अलिअलि ऋण छँदै छ । बरु राधा ! तिम्रा भाइहरु त बाहिर कमाउन गएका छन् । हुन त अहिले विदेशिएर पनि कमाई त कति नै पो हुन्छ र ? तर पनि उनीहरुले पठाएको पैसाले मलाई सघाउँदै गरे उनीहरुलाई बिस्तारै तिर्दै गर्नु हुन्थ्यो । जाउ, एकपटक माईतीमा गएर कुरा गरिहेर । तिम्रा भाइहरु पनि फर्कने बेला भयो ।”
लोग्नेको सल्लाह राधिकालाई राम्रै लाग्छ । अब उसलाई पनि आफ्नो घरमा बस्ने रहरले छोएछ भनेर दंग पर्छे । मनको बसन्त भरी पालुवा पलाएको महसुश हुन्छ । राम्रै भयो माइतीबाट पनि घर बनाउँदा सघाउने आश्वासन पाई उसले ।
मान्छेको मन न हो कल्पनाशील । कल्पनामै रमाउने, कल्पनामै हराउने, कल्पनामै मिठास र तिक्तताको अनुभूति गर्ने । राधिका पनि कल्पनामा घर बनाएर त्यसलाई स्याहार गर्ने, सजाउने, मिलाउने धुनमा मग्न छे । एककोठे जीवन बिताईरहेकी राधिका कोठाको कुनामा रहेको खाटमाथि बसेर पनि त्यहाँ हुँदिन । ऊ भौंतारी रहेकी हुन्छे । आफ्नो घरको कल्पनामा ऊ हराइरहेछे, कुन कोठामा केके सामान राख्ने भनेर । कल्पनामै उसलाई सामानको अभावसम्म खड्किन्छ ।
अब त यसो साथीभाइसँग पनि नधकाई घर बनाउने कुरा गर्न थालेकी छ राधिकाले । घरपैंचामा सबैलाई बोलाउँछु, आउनुपर्छ पनि भनेकी छे । सघाउनु पर्छ है भनेकी छे । घर पछाडीको सानो खाली जग्गामा सागसब्जी रोपेर छर – छिमेकमा बाँडने सपना पनि देख्छे । दिउँसै खुल्ला आँखाले धेरै सपना देखेकी छे ।
बिचरी ! नियति त होला नि उसको यो । धेरै नेपालीलाई जस्तै विपना र यथार्थमा मनका ईच्छा, चाहना पूरा गर्ने अधिकार उसलाई पनि अहिलेसम्म जुरेको छैन । बाध्य छे, सपना र कल्पनामा डुब्न ऊ ।
“रुद्रजी हुनुहुन्छ होला ?” बाहिर अपरिचित आवाज ।
“उहाँ त आइपुग्नु भएको छैन । के काम थियो होला हजुरको ?”
राधाको आँखामा आउँछ र जान्छ । घर बनाउनेबारे पो कुरा हो कि !
आगन्तुक निर्धक्क बोल्छ, “त्यो तपाइँहरुको सानो जग्गा पास गरिदिन्छु भनेर छिन्ति पैसा लिएको कयौं दिन भइसक्यो । अझै रुद्रजी तात्नु भएन र छिट्टै गरौँ भनेर सम्झाउन आएको । जग्गा तपाइँको नाममा होला होइन ? पास गर्न जाँदा तपाइँले पनि एकछिन कष्ट गर्नुपर्यो सही गर्नको लागि ।”
कस्तो कहाली लाग्दो क्षण ! बिच सभामा लोग्नेले उसको लिलामी बाके जस्तो । उसका इच्छा, चाहना, सपना, कल्पना र रहरहरुको लिलामी, उसलाई लाग्दैछ । लिलामीका लागि बोल्नेहरुको स्वर चर्को चर्को हुँदै अट्टहासभित्र आफ्ना रहरहरुको मृत शव सहरभरी खोज्दै छे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies