काठमाडौं : नियात्राकार राजेन्द्रमान डंगोलद्वारा रचित नियात्रा संग्रह ‘बादलडाँडा'को लोकार्पण गरिएको छ । प्रमुख अतिथि प्रा.डा. रमेशप्रसाद भट्टराईले एक कार्यक्रमका बीच नियात्रा संग्रह ‘बादलडाँडा'को लोकार्पण गरेका हुन् ।
उक्त संग्रह लोकार्पण गर्दै प्रा.डा. भट्टराईले डंगोलका नियात्रामा आत्मपरक लेखनको प्रभाव, पर्यावरण संरक्षण र स्थानीय जनजीविकाका सवालमा नियात्रा रचिएको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि ,नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा समालोचक डा. धनप्रसाद सुवेदीले नियात्राकारले भूगोल, संस्कृति र समाजको सौन्दर्यलाई आत्मसात गर्दै रचिएको ‘बादलडाँडा’ नियात्रा संग्रह स्तरीय र पठनीय रहेको बताए । उनले चीनमा अध्यापनरत रहँदा चिनियाँ विद्यार्थीहरूलाई उत्कृष्ट सामग्री सिफारिस गर्न धौधौ परेको धारणा राख्दै ‘बादलडाँडा’ जस्ता कृतिले त्यस अभावलाई मेट्ने बताए । साथै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरू रारा साहित्यिक महोत्सवमा सहभागी हुँदा जेजस्ता टीकाटिप्पणीहरू भएपनि त्यो नियात्रा लेखनका लागि महत्वपूर्ण साहित्यिक खुराक भएको दृष्टिकोण सबैले राख्नुपर्ने उनले बताए ।
यस्तै कवि तथा समालोचक डा.विन्दु शर्माले नियात्राकार डंगोलको 'बादलडाँडा'मा यथार्थ र तथ्यपरक सूचना समेटिएको बताउँदै घुमफिरका क्रममा स्थानीय ठाउँको सूक्ष्म दृष्टिकोणसहित पर्यटन प्रवर्द्धन,आर्थिक विकास, विसंगति, जीविकोपार्जनको अवस्था, पर्यावरणमा आएका असर र जोखिमका बारेमा स्पष्ट पारेको बताए ।
यसैगरी समालोचक राम लोहनीले नियात्राकार डंगोलको लेखनशैली र भाषामा परिष्कार रहेको बताए । कवि तथा समालोचक आर.एम. डंगोलले नियात्राकार डंगोलको परिचय, व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै नियात्रा लेखनमा डंगोलले नयाँपन दिएको आभास भएको बताए ।
नियात्राकार डंगोलले लेखकका कृतिहरू सार्वजनिक भएपछि सबैको सम्पत्ति हुने बताउँदै ‘बादलडाँडा’ पाठकको मनमस्तिष्कमा रहे मात्र नियात्राकार बाँच्न सक्ने बताए ।
कार्यक्रममा प्रा.डा. ऋषिराम शर्मा, पर्यटन व्यवसायी तथा समाजसेवी आङछिरिङ शेर्पा, टानका पूर्वअध्यक्ष नवराज दाहाल र नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले शुभकामना मनतव्य राखेका थिए । यसैगरी गाउँ पर्यटन मञ्च (भिटोफ)का महासचिव निशेष थापाले स्वागत मनतव्य र भिटोफका पूर्वअध्यक्ष बोधराज भण्डारीले धन्यवाद ज्ञापन गरे । भिटोफ नेपालका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण कवियत्री लक्ष्मी रूम्बाले गरेकी थिइन् ।
काठमाडौं : नेपाली हास्यव्यङ्ग्य सम्वर्द्धन र अभ्युत्थानमा समर्पित फित्कौली अनलाइन मिडियाद्वारा विशिष्ट व्यक्तित्व भैरव रिसाल, शान्तदास मानन्धर, रोचक घिमिरे, प्रा.डा. गोविन्दराज भट्टराई, चट्याङ मास्टर लगायतको आतिथ्यतामा बागमती बोर्डिङ स्कुल, सुकेधारामा ‘फित्कौलीको खित्कौली सभा–२’ कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ ।
हास्यव्यङ्ग्यप्रेमी दर्शक स्रोताहरूको बाक्लो उपस्थितिमा पाँच जना स्रष्टाका पाँच कृति एकैसाथ लोकार्पण गरिएको थियो भने हास्यव्यङ्ग्य तथा बुढ्यौली साहित्यमा साधनारत पाँच मूर्धन्य स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार समर्पण गरिएको थियो । कार्यक्रमको आरम्भमै हास्यव्यङ्ग्यकार चट्याङ मास्टरले कार्टुन नै कोरेर काटुनिस्ट राजेश मान्धरको एकल कार्टुन प्रदर्शनीको उद्घाटन गरेका थिए ।
जेष्ठ र विशिष्ट व्यक्तित्वको आसन ग्रहणपश्चात स्वागत सम्मानमा फित्कौलीको तर्फबाट माला अर्पण– विमला लुइँटेल, एरिका गजुरेल गरिमा उपाध्यायबाट भएको थियो । फित्कौलीका प्रधान सम्पादक नरनाथ लुइँटेलले कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै फित्कौलीको योजना, फित्कौली अक्षय कोष, विमोचित कृति र स्रष्टा, साथै पुरस्कार र पुरस्कृत व्यक्तिको बारेमा जानकारी दिएका थिए । विमोचन हुन लागेका किताबहरू डिजिटल (विद्युतीय) माध्यमबाट रिमोट थिची लोकार्पण गरिएको थियो । अग्रज हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलको हास्यव्यङ्ग्य निबन्धसंग्र्रह ‘भ्यागुताको श्वेतपत्र’ वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेद्वारा, स्रष्टा राजेन्द्र कार्कीको हास्यव्यङ्ग्य निबन्धसंग्रह ‘खाइराइड’ वरिष्ठ समालोचक तथा साहित्यकार गोविन्दराज भट्टराईद्वारा, स्रष्टा सुभाषचन्द्र देवकोटाको व्यङ्ग्य कवितासंग्रह शान्तदास मानन्धरले र बुढ्यौली साहित्यिक अभियन्ता डा. मुकेशकुमार चालिसेको बुढ्यौली साहित्यिक कृति उज्याला जून’ भैरव रिसालद्वारा र साहित्यकार ठाकुरप्रसाद अधिकारीको हास्यव्यङ्ग्य निबन्धसंग्रह ‘बेसारे घुर्की’ चट्याङ मास्टद्वारा लोकार्पित भएको थियो ।
लोकार्पित कृति ‘डाँडाका उज्याला जून’ समीक्षात्मक चर्चा वरिष्ठ साहित्यकार पत्रकार रोचक घिमिरेले गरेका थिए भने बाँकी चार वटा विमोचित हास्यव्यङ्ग्य कृतिहरूका बारेमा वरिष्ठ समालोचक/साहित्यकार गोविन्दराज भट्टराईले प्रकाश पारेका थिए । यसलगत्तै लोकार्पित कृतिका स्रष्टाहरूले आफ्ना सारगर्वित मन्तव्यसहित रचना सुनाएका थिए ।
कार्यक्रमको दोस्रो चरणमा सम्मान तथा पुरस्कार समर्पण कार्य भएको थियो । फित्कौली अनलाइन मिडियाद्वारा स्थापित ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान–२०८०’ द्वारा विगत चार दशकदेखि हास्यव्यङ्ग्य लेखनमा क्रियाशील व्यक्तित्व पाल्पाका चोलेश्वर शर्मालाई नगद २० हजार १ सय ५ सहित सम्मानपत्र अर्पण गरिएको थियो ।
त्यसैगरी स्याङ्जाकी हास्यव्यङ्ग्य लेखिका गायत्री परिरोशनीलाई ‘गोविन्द–विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार–२०८०’, झापाका हास्यव्यङ्ग्य कवि खगेन्द्र नेउपानेलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार–२०८०’, गुल्मीका हास्यव्यङ्ग्य निबन्धकार काशीनाथ मिश्रितलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार–२०८०’ र भक्तपुरका कवि रामशरण न्यौपानेलाई ‘मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार–२०८०’ समर्पण गरिएको थियो ।
सम्मानित स्रष्टा एवम लोकार्पित कृतिका स्रष्टाहरूलाई भैरव रिसालले शुभकामना व्यक्त गर्दै फित्कौलीले यस्तो कार्यकममा सहभागी हुने मौका दिएकामा धन्यवाद दिएका थिए ।
यी पुरस्कारहरूको रकम जनही १५ हजार १ सय ५ र सम्मानपत्र रहेको थियो भने फित्कौली प्रोत्साहन पुरस्कार स्वरूप कार्टुनिस्ट राजेश मानन्धरलाई नगद १० हजार १ सय ५ रुपैयाँ सम्मानपत्र समर्पण गरिएको थियो । यसपछि सम्मानित तथा पुरस्कृत व्यक्तिहरूबाट मन्तव्य तथा रचना वाचन भएको थियो ।
यसैगरी जेष्ठ तथा विशिष्ट व्यक्तित्वको सघन मन्तव्यसहित फित्कौलीको कदम अब नरोकियोस् सुझाव दिँदै कार्यक्रमका जेष्ठ तथा विशिष्ट अतिथि शान्तदास मानन्धरद्वारा सभा विसर्जन गरिएको थियो । कार्यक्रम हास्यव्यङ्ग्य स्रष्टा अनिल पौडेल कीर्तेले सहजीकरण एवम् सञ्चालन गरेका थिए ।
काठमाडौं : कवि रामचन्द्र न्यौपाने ‘वनवासी’का ज्ञानक्रान्ति (महाकाव्य) र भक्तिसागर (खण्डकाव्य) को शनिबार लोकार्पण गरिएको छ ।
सिसार साहित्य परिवारको आयोजनामा सम्पन्न सो कार्यक्रम त्रिविका उपप्राध्यापक तथा पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत, पत्रिकारिता र हिन्दी विभागका पूर्व विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको हो । महात्मा दीपकजीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष, प्रमुख अतिथि र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीलगायत विभिन्न व्यक्तिहरूले संयुक्त रूपमा कृतिहरुको लोकार्पण गरेका थिए ।
दुबै लोकार्पित कृतिको समीक्षा प्रा.डा. भागवत ढकाल, कवि सीता भट्टराई र पूर्व प्रशासक कृष्णचन्द्र घिमिरेले गरेका थिए । कवि रामचन्द्रका दुई कृतिबाट कवि प्रभा भट्टराई, लक्ष्मी घिमिरे र स्वस्तिक ढकालले रचना वाचन गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरु राधेश्याम लेकाली, विजयराज न्यौपाने, चन्द्रप्रसाद न्यौपाने, विजयध्वज थापा, राजनप्रसाद न्यौपाने, मीनप्रसाद ज्ञवालीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रमुख अतिथि महात्मा दीपकजीले तत्त्वज्ञान प्राप्तिका लागि कृतिहरु सहयोगी भएको धारणा राख्नुभयो भने कृतिका सम्पादक एवं भूमिका लेखक ज्ञाननिष्ठ ज्ञवालीले सम्पादन र भूमिका लेखनको जोखिमबारे धारणा राखेका थिए । कवि वनवासीले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रमको सञ्चालन कवि राधिका पन्तले गरेकी थिइन् ।
–नारायण पौडेल
“ए हजुर हो ! सुन्नुहोस् कसैले सुनिन भन्न पाउनु हुने छैन, डाँडाघरे कान्छा हिजो दिउँसोबाट हराएकोले खोजीका लागि दुलै पिच्छेबाट एकएक जना निस्कनु अरे हो....!”
झिसमिसेमा स्कुल ग्राउन्डको डिलमा उभिएर कटुवाल बुढाले घोक हाले ।
जीवनको उकालो चढिसकेका कटुवाल बुढाको दाँत झरिसकेको थियो । त्यसैले पनि उनको बोली प्रष्ट सुनिदैनथ्यो । कतिले बुझे कतिले बुझेनन् । वल्लो गाउँका लागि स्कुल ग्राउन्डको डिलबाट र पल्लो गाउँको लागि डिलको थुम्को गरि दुई ठाउँबाट घोक्ने चलन थियो । उनले अर्काे ठाउँमा गएर घोक हाले । नबुझेकाहरूले फेरि कान थापेर सुने ।
“कहिल्यै घर नछोड्ने डाँडाघरे कान्छा बुढा कता हराए त ?” सबैको मनमा एउटै प्रश्नले डेरा जमायो । उत्तर कसैसँग पनि थिएन ।
गाउँले सबै डाँडाघरे कान्छाको आँगनमा जम्मा भए । उनकी श्रीमती राममायाले पिलपिल गर्दै भनिन् “दिउँसोसम्म कोठामै सुतेका थिए, म बाख्रालाई स्याउला लिन पाखातिर गएँ, आउँदा थिएनन् !”
उनको कुरा सुनेपछि कोही खोलातिर, कोही वनतिर र कोही भीर पाखातिर खोज्न गए । चारै दिशा खोजी कार्य शुरु भयो । उनी कतै फेला परेनन् ।
उनको खोजी कार्य पहिलो दिन, दोस्रो दिन, तेस्रो दिन हुँदै चौथो दिनमा चल्यो । खोज्दा खोज्दै गाउलेहरू सबै थाकिसके तर पनि उनको कुनै फाल फेला पर्न सकेन ।
चौंथो दिन झमक्क रात परिसकेको थियो । एउटा समाचार आयो । “एकजना भुपु लाहुरेले काजिरामको घरभित्र मान्छेले खोकेको आवाज आफूले सुनेको कुरा बतायो अरे !”
परिवार सबै शहर पसेकाले काजिरामको घर लामो समयसम्म खाली थियो । पातल वनसँग जोडिएको काजिरामको घर गाउँको किनारामा थियो । सबैले शंका गरे डाँडाघरे राती त्यो घरमा बसेका हुनसक्छन् ।
गाउँलेहरू बिहान उज्यालो भएपछि काजिरामको खाली घरमा गएर हेरे । डाँडाघरे कान्छा त भेटिएनन् तर, काफलका बियाहरू प्रशस्त भेटिए । भूइँमा पाको मान्छेका चप्पलका छाप पनि देखिए । यसबाट डाँडाघरे कान्छा बिहानै जंगल पस्ने, दिनभरि जंगलतिर ऐँसेलु काफल खाएर बस्ने र रात परेपछि काजिरामको घरमा सेल्टर लिने गरेको र त्यो बिहान पनि डाँडाघरे झिसमिसेमा जंगल पसिसकेको हुन सक्ने अनुमान लगाए गाउँलेहरूले ।
गाउँलेहरूको खोजी समूह गाउँको तलतिर झर्दै थियो बाटोमा घुराने दाइ भेट्टिए । “डाँडाघरे कान्छालाई मैले हिजो बिहान भैंसी खोज्न जाँदा भन्ज्याङको चौतारीमा भेटेको हुँ, मलाई देखेर लुक्न खोजे !” घुराने दाइले अर्काे खबर ल्याए ।
डाँडाघरे बिहानै उठेर जंगल हैन सिधाने गाउँतिर हानिएको कुरा पत्ता लाग्यो । खोजी कार्य अब भन्ज्याङ तलको सिधाने गाउँतिर सोझियो । उनको आफन्तको घर सिधानेमा थियो । त्यतै गएको अनुमान लगाएर गाउँलेहरू सिधाने गाउँतिर लागे ।
डाँडाघरे सिधाने गाउँको आफन्तको घरमा भेटिए । चार÷पाँच दिनदेखि छापामार शैली अपनाएका डाँडाघरेले गाउँलेका अगाडि खुट्टाले टेक्न मानेनन् । उनले आफू बिरामी जस्तो बनेर उठ्नै नसक्ने सिरियस बिरामीको बहाना बनाए । खुट्टा टेक्न मानेनन् । बाटो करिब चार घण्टा लामो थियो । डाँडाघरेलाई डोलीमा बोकेर लैजाने निधो भयो । गाउँलेहरूले उनलाई तन्नाको डोलीमा बोकेर घर ल्याए ।
डाँडाघरे कान्छा उपाध्याय बाहुनका छोरा थिए । राममाया क्षेत्रीकी छोरी । दुबैको घर नजिकै थियो । वन जंगल, मेलापात सँगसँगै हिँडे । एक अर्काले भित्रभित्रै मन पराए । उनीहरूको माया प्रेम झाँगियो । एक आपसमा छुट्नै नसक्ने अवस्थामा पुगे ।
त्यतिबेलाको कठोर संस्कारलाई चुनौती दिएर डाँडाघरे कान्छाले राममायालाई भगाएका थिए ।
राममायाका दाजुभाइ दिदिबहिनी कोही थिएनन् । बाउ छोरी मात्रै थिए । भएको सम्पत्ति खाने कोही थिएन । बाबुको शेषपछि त्यो सम्पत्ति राममायाको नाममा आएको थियो ।
बाउको सम्पत्तिबाट प्राप्त हुन आएको बेसी खेतबाट २० मुरी गुडुरा धान भित्र्याउँथे । त्यही बेसी खेतको अन्नले पाँच जना छोराछोरीको पालन पोषण गरे उनीहरूले । जग्गाको मूल्य पनि उतिबेला राम्रो थियो । डाँडाघरे कान्छा आफ्नो घर छोडेर ससुरालीमै घर ज्वाईँ बसे । जिन्दगीको उर्वर समय सुखद तरिकाले बित्यो उनीहरूको ।
समयक्रममा तिव्र बसाइँसराइको कारणले गाउँको जग्गाको मूल्य कम हुँदै गयो । कोदो मकै लगाउने बारीका पाटाहरू वनमाराले भरिए । स्थिति यस्तो बन्न गयो कि कसैलाई त्यसै कमाएर खाभन्दा पनि कसैले नमान्ने स्थिति बन्यो । उनीहरूका तीन वटा छोराहरू तीनतिर छरिएका थिए । छोरीको पनि बिहे भैसकेको थियो । घरमा दुई बुढाबुढी मात्रै बस्थे । हुँदाहुँदा जग्गा नै बाँझो बस्ने अवस्था सिर्जना भयो ।
बुढाले बुढी र बुढीले बुढाको मुख हेरेर चित्त बुझाएर बसेका थिए । राममायालाई बुढेसकालले छोइसकेको थियो । उनमा जैविक आवश्यकताको भोक थिएन । तर गाउँको अर्गानिक आँटो पिठो र सागपात खाएर हुर्किएका डाँडाघरे कान्छा ७० पुग्नै लागेपनि अझै हट्टाकट्टा थिए । उनी जैविक आवश्यकताका भोका थिए । तैपनि राममायाले बेला–बेला डाँडाघरे कान्छाको जैविक आवश्यकता पूरा गरेकी थिइन् ।
एकदिन सम्पत्तिको विषयमा राममाया र डाँडाघरेको बीचमा ठाकठुक पर्यो । उनले आफ्नो माइतीको पेवाले पालिएको भनेर घोचपेच गरिन् । दुुई पैसा नपर्ने सम्पत्तिको धाक देखाएर घोचपेच गरेको डाँडाघरे कान्छालाई मन परेन ।
उनीहरूबीच झगडा भयो । झगडा भएको दिनपछि जैविक आवश्यकताको भोक मेट्ने मेटाउने क्रम राममायाले अस्वीकार गरेपछि बन्द भयो ।
एकदिन बिहानको खाना खाएर डाँडाघरे कोठाभित्र पसेर बिस्तारामा पल्टिए । उनको मनमा अनेक विचार खेल्न थाले ।
“यो घर ज्वाईं बस्न त शत्रुलाई पनि नपरोस्, एउटा झुपडी नै बरु किन नहोस् आफ्नै माटोमा बनेको हुनुपर्ने रहेछ !” उनले मनमनै सोंचे । उनलाई छोराहरूले शहरमा नबोलाएका पनि होइनन् । उसैको मायाले रोकिएका थिए डाँडाघरे कान्छा ।
“थुइक्क ! छोराहरुले बोलाउँदा जानुपर्ने रहेछ, नगएर आज दुःख पाएँ ।” ग्लानीले उनको मन छियाछिया भयो ।
सम्पत्तिको धाक लगाउने र कहिलेकाहीँको चाहाना पूरा नगर्ने श्रीमती राममायालाई उनले सबक सिकाउने निधो गरे । दिउँसो बाख्रालाई घाँस लिन गएको मौका छोपेर उनी घरबाट सुटुक्क निस्किए र जंगल पसे ।
उनले साथमा केही पनि लगेका थिएनन् । खानका लागि जंगलमा प्रशस्त काफल र एँेसेलु पाकेको थियो । त्यही ऐँसेलु र काफल खाएर उनले चार दिन बिताए । उनलाई हल्का चिसोले भेट्यो । खोकी लाग्यो । खोकीलाई बलजफ्ती रोक्न खोजे तर, सकेनन् । यदि खोकी नलागेको भए डाँडाघरे कान्छालाई फेला पार्न सजिलो थिएन ।
डाँडाघरे कान्छाको प्रेम विवाह भएकोले विवाहमा डोली चढ्न पाएनन् । त्यो धोका उनले बिरामीको बहाना बनाएर डोली चढे र पूरा गरे । डोलीमा बोकेर ल्याएका डाँडाघरे कान्छा भोलिपल्टदेखि ठमठमी हिँडेका छन् ।
–मधुसूदन अधिकारी
एकजोड साडी किनिदिन्छु भनेर गुइँठेले श्रीमतीलाई भनेको थियो । देवरको बिहेमा दामीसाडी लाउन पाउँछु भनेर गुइँठेकी श्रीमति फुरुक्कै परेकी थिई । बिहेको सम्पूर्ण खर्च आफ्नै थाप्लोमा पर्न गएकाले गुइँठेलाई भित्रभित्रै सुकेनास लागे झैँ देखिन्थ्यो । नयाँ घर बनाउनु र भाईको बिहे गर्न अघि सर्नु भ्यागुतालाई तराजुमा तौलिनु जस्तै भएको थियो गुइँठेलाई ।
एकातिर मिलाउँदा अर्कोतिर मिल्दैन । बिहेको सम्पूर्ण हाटबजार, बेहुलीका गरगहना इत्यादि भइसक्यो । श्रीमतीको साडी चै किनेको थिएन । बिहेको दिन लगन नजिकै आइसक्यो श्रीमतीको साडी चै आएन यो देखेर एकदिन् उसकी श्रीमती रिसले मुरमुरिन्दै बेलुन फुलेझैं फूलेर बम् भई । कुरै कुरामा दुबै दम्पतीबीच घमासान वाक्य शब्दको कम्पिटिसन् हुन् थाल्यो । उडुस् र मच्छरले टोकेको पुरूषहरुले सहन सकलान् तर, श्रीमतीको वाक्य बान् को टोकाइ त सहन् निकै धर्यवान् व्यक्तिहरूले मात्र सकलान् । अश्रुबानको साहारा लिँदै गुइँठेकी श्रीमती भूतभुताउँन थाली, “बिहेभाको सात वर्ष बिते कहिल्यै आफूले मन खाएको साडी किन्देका छौ ? अरूका लोग्नेहरुले कस्ता–कस्ता साडी ल्याइदिन्छन् ।”
यसरी गुइँठेलाई श्रीमतीले शब्द वाणको झटारो हानी । साडीको तृष्णामा रिसाएकी श्रीमतीलाई फकाउनु गुइँठेले निकै प्रयास गर्यो तर, सकेन् । मोबाइलको जमानामा रिसाएकी श्रीमतीलाई फकाउनुभन्दा बरु नयाँ प्रेमिकालाई पट्याउँनु नै सजिलो थियो नि तर के गर्ने पड्के कोरोनाले नारी जति सबैलाई दिदी–बैनी बनाइदियो ।
तपाईं पनि जानी राख्नुहोस् रिसाएकी श्रीमतीको छेऊमा जानुअघि आफ्नो दाँत पहिले चेकगर्नु होला फोल्डिङ्ग दाँत लगाउनु भएको छ भने बाहिरै फुकाली जानुहोला । नौ ग्रह बिग्रिएमा पण्डितद्वारा शान्त होलान् तर, केही कथन नारीग्रह रुष्ट भए भने शान्त हुन् अलिक समय लिन्छन् । अझै एउटा कुरा जानी राख्नुहोस् रावणसँग युद्ध गर्न सकिएला तर, नारीजातीसँग युद्ध गर्न सकिँदैन, यसैकारण उहाँहरुलाई आदिशक्ति भनिएको होला मलाई लाग्छ ।
गुइँठे गाउँमा बिहेको निम्तो बाँड्न गयो । यता उसकी श्रीमती छेपारोले रंग फेरे झैं रङ्ग फेर्दै भित्र चुलाकोठामा पसि । हल्का रुगा (सर्दी) लागे छ क्यार, स्याक्कसुक्क नाकतान्दै घोप्टोपरि लामा लामा नङग्राका नेलपलिस् उक्काउन थाली । गाउँमा निम्तो बाँडेर गुइँठे घर आई पुग्यो र उसलाई साह्रै भोक लागेको हुनाले सरासर भान्सा कोठाभित्र पस्यो । भातदाल त पाक्न परै जाओस् त्यहाँ त ठूलो भूँइचालो आएर हो कि श्रीमतीको रणचण्डी शक्तिले हो भान्सा कोठाको भाँडाकुडा, थालबटुका सबै बाहिर आँगनमा ताण्डब नृत्य गरि रहेका थिए । घरभित्रका समान सबै छरपस्ट देखेर गुइँठे आफ्नो कोठाभित्र पस्यो त्यहाँ उसकी श्रमती व्यञ्जन वर्ण को ‘द’ जस्तै भएर सुतिरहेकी थी । गुइँठे रिसले बम किएर एकपल्ट झपारो श्रीमतीलाई तर केही असर पारेन झन् रिएक्सन गर्यो । श्रीमतीले जन्मसिद्ध पाएको बरदान उनको रुन्चे संगीत भोल्यूम बढ्दै गयो । पल्ला घरकी आमै श्रीमती रोएको सुनेर गुइँठेलाई भन्छिन् – “अइ गुइँठे यो साँझमा बुहारी किन्न रुन्छे कुटिस् कि क्या हो ?” गुइँठेले लाज पचाउँदै आमैलाई भन्यो, “ए आमै यो पाली हामीले रुन्चे संगीत प्रतियोगितामा भाग लिएका छौं अनि पूर्वाभ्यास गरेको ।” गुइँठेको कुरा सुनेर श्रीमतीलाई हाँस् त उठनु समन उठेको छ नि तर यहाँ हाँस्नु भएन किन् की श्रीमानलाई घुर्कि देखाउँनु छ । अन्त्यमा श्रीमतीदेखि गुइँठेले हारमानी मिठो बचनले भन्यो, “हेर मिना यसरी तिमी नरिसाउ । शाहजहाँले आफ्नी श्रीमतीको यादमा विश्व प्रसिद्ध ताजमहल बनाए भने के म तिमीलाई साडी किन्दिन् सक्दिन र ? साडी किन गाडी मागन् ।”
यस्तो मिठो बोलिबचन लोग्नेमान्छेबाट श्रीमतीले सुन्न पाउँदा त्यो घरभित्रका झिटीमिटीहरू अघि आँगनमा छरिएका थिए सबै भित्र प्रवेश गरेछन् । देख्नु भयो त आइमाई रिसाउँदा घरको झिटीमिटीहरू चकनाचुर हुन् कतिबेर लाग्दैन् । त्यतै लोग्ने स्वास्नी मिलेपछि सिनेमाको प्रोग्राम बनिनु कति समय लाग्दैन् । दाम्प्त्य जीवनमा बेला मौका लोग्ने स्वास्नी बीच यसो ठ्याक ठुक नपरे विवाहित जीवनको आनन्दै ।
स्वास्नीले एउटा निहुँ खोजेर कुनैदिन भाँडभैलो गरी भने आफूले पनि उखरमाउँलो लाउनु भएन । स्त्री जातिसँग मल्ल यूद्ध गरी कुटपिट गर्नु पुरुषलाई शोभा दिँदैन । भाईको बिहे भयो नयाँ दुलही घर भित्राए हर्ष उल्लासको नाचगान हुँदै थियो । बिहेमा आएका अतिथिहरुका भिडाभिड, थियो त्यही समय अचानक गुइँठे लरखराउँदै भुइँमा लड्यो । बिहे घरमा निकै खलबली मच्चियो त्यहीबेला गुइँठेकी श्रीमती अतिन्दै आई र रुँदै भन्छे, “हे भगवान यो के भयो मेरो गुइँठेलाई बचाई देऊ, मलाई केही चाहिँदैन”
यसो भन्दै श्रीमती बिलौना गर्दै थी त्यही बेला गुइँठे छातीमा हात राखी जुरुक्कै उठ्यो र भन्यो, “यो मेरो हृदयरोग हो ।” श्रीमतिले च्याप्प अंगालो हालेर रोई । सबै कुरा शान्त बन्यो । सम्बन्ध फेरि उस्तै मिठास बन्यो ।
–प्रदीप महरा
आफ्नाले नै यहाँ अजात भन्छन् महोदय
यसरी नै मेरो जाति बर्बाद हुँदैछ ।
वर्षौंदेखि म देश बचाई रहेछु
तर देश पटक–पटक मलाई मार्ने संवाद गर्दैछ ।
पूरा भयो उनको पानी चडाउने सपना
जब मन्दिरमा सबै थरको हाथ पुग्दैछ ।
हाम्री आमा सिमानामा जवान छोरा पठाउछिन्
र त सरकार चन्द्रमासँग हर बात गर्दैछ ।
कहिलेसम्म तिमी ठूलो हुनुमा अहम् गर्छौ
यहा एउटै जातिभित्रको जात मर्महात हँदैछ ।।
– पाउलिन राई
हामीले पनि लडेका हौं युद्ध इतिहासमा
एउटा शासकहरूले हामीलाई साथ लिएर
अर्को शासकहरूको विरुद्ध लडाए
हामी पनि जन्मभूमि, मातृभूमि भन्दै शहीद भएका हौं
पराधीनबाट स्वाधीन हांै, शोषकबाट मुक्त
हामी सर्वहारा सबै शोषित हौं भन्दै
इनकलाबको नारा गाउँदै हामी हिँडेका हौं
अर्को शासकहरूको ढाल भएर उभिएका हौं ।
कराईबाट निस्केपनि झुप्रोमा झरे जस्तै,
एउटा शासकबाट उम्के पनि
अर्को शासकको कब्जामा परेका छौं
स्वाधीनताले कति मुक्ति दियो हामीलाई ?
हिजो पनि दास थियौं आज पनि दास छौं
हाम्रो आकांक्षा बिना शासकहरूको हस्ताक्षरमा
एक शासकबाट अर्को शासकको रैती भएका छौं
तर पनि यस भूमिलाई आमा भन्दै प्राण दिएकै छौं
तिरंगालाई छात्तीमा टाँसेर घर आएका छौं
किन मुक्तिको गीत गाउनु ? जब म पराधीन नै छु
शासकहरूले देखावटी दिएको भावनामा
संविधानले मौलिक अधिकार भन्दै पहिराई दिएको खास्टोमा
मैले मेरो मानव अधिकार गुमाएकी छु ।
तिनीहरूले छात्तीमा लगाई दिएको तक्मा भिर्दैमा
हामीलाई वीर भन्दैमा, हामी वीर पटक्क होइनौ
हामी त तिनीहरूले ल्याबमा पालेको
पुस्टिएका गिनिपिग हौँ
जसलाई समय भएपछि एक्सपेरीमेन्ट गरिन्छ ।
पुस्टिएको गिनिपिगको कुनै मुक्ति गान हुँदैन
शासकको मुहार फेरिएरता पनि शोषण शैली फेरिन्दैन
आफ्नै निम्ति जबसम्म लड्न सिक्दैनौ
हामी वीर हुँदै होइनौ
हामी स्वतन्त्र छँदै छैनौं
जबकी हाम्रै माटो हाम्रो छैन ।।
काठमाडौं : उपन्यासकार शंकर भारतीको ‘अनुपम देवता’ उपन्यासको तेस्रो संस्करणको अन्तरक्रिया शुक्रबार सम्पन्न भएको छ ।
उपन्यास समाज नेपालको आयोजनामा सामाजिक विकास समाज अनामनगर काठमाडौंमा कार्यक्रम सम्पन्न भएको हो । पहिलो संस्करण २०२७ सालमा प्रकाशित भएको थिया ।
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षता तथा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा ‘अनुपम देवता’ उपन्यास बारे चर्चा गरिएको थियो ।
कार्यक्रममा सो उपन्यासबारे समालोचकहरु डा. दामोदर पुडासैनी, डा.शान्तिमाया गिरी, डा.रामप्रसाद ज्ञवाली, डा.मधुसूदन लामिछाने, डा.दिनबन्धू शर्माले आ–आफ्नो पाठकीय मन्तव्य राखेका थिए ।
यसैगरी उपन्यासकार शंकर भारतीले आफ्नो उपन्यास लेखनबारे चर्चा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव धनप्रसाद सुवेदी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोक, महासचिव देवीका तिमिल्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा साहित्यकार वियोगी बुढाथोकीले स्वागत तथा विष्णुबहादुर सिंहले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन निबन्धकार श्रीबाबु कार्कीले गरेका थिए । वि. स.२०१३ सालमा डिल्लीबजार काठमाडौंमा जन्मिएका भारतीको ‘अर्को जुनी,’ ‘प्रेम तपस्या,’ ‘अनुपम देवता,’ ‘महापुरुषको सन्तान’ र ‘अग्नि परीक्षा’ उपन्यासहरु प्रकाशित रहेका छन् ।
पवन जायसवाल/मध्यान्ह
नेपालगञ्ज : वरिष्ठ साहित्यकार कल्पना पौडल ‘जिज्ञासु’को कथासंग्रह 'कचहरी' एक कार्यक्रमका बीच शनिबार नेपालगञ्जमा विमोचन गरिएको छ । कल्पना फाउण्डेसन नेपाल, बाँकेद्वारा यहाँ आयोजित एक विशेष समारोहमा 'कचहरी' विमोचन कार्यक्रमका साथै दुई जनालाई पुरस्कार तथा सम्मान पनि प्रदान गरिएको थियो ।
लुम्बिनी प्रदेश विश्वविद्यालय आयोग सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यता तथा फाउण्डेसनकी अध्यक्ष जिज्ञासुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कथाकार सनत रेग्मीलाई साहित्यतर्फ 'मनिकर्णा–टिकाराम स्मृति पुरस्कार'द्वारा सम्मानित गरिएको थियो । त्यसैगरी समाजसेवातर्फ मानव सेवा आश्रम, बाँकेका संयोजक उर्विन सापकोटामार्फत 'देउकला–टीकानिधि स्मृति पुरस्कार'द्वारा मानवसेवा आश्रम नेपालगञ्जलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. घिमिरे, विशिष्ठ अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशिराम कार्की, पूर्व प्राज्ञ सनत रेग्मी, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र बहादुर भण्डारी, भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरि तिमिल्सिना, मानव सेवा आश्रम, बाँकेका संयोजक उर्विन सापकोटा, साहित्यकार किरण आचार्य, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि ‘कोपिला’, प्रगतिशील लेखक संघ बाँकेका पूर्व अध्यक्ष पंकज श्रेष्ठ, साहित्यकार मणि अर्याललगायतले कथा संग्रह 'कचहरी'बारे आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा वक्ताहरुले कचहरी कथा संग्रहमा रहेका १५ वटै कथाहरुले समाजको यथार्थ चित्रण गर्न सफल भएको, उत्पीडनमा परेका महिला, वृद्धाहरुका समस्या, वैदेशिक रोजगारका समस्या, मधेशी, मुस्लिम, थारु र पहाडी समुदायका समस्याहरुलाई सामाजिक विषयवस्तु बनाएर कथाको वनोटमा बुनिएकोले कथाहरु पठनीय रहेको, विषयवस्तु महिलावादी र प्रगतिवादी रहेको, विषयवस्तु र भाषा शैलीको हिसाबले कथा उत्कृष्ट रहेको भन्दै कृतिकारलाई बधाई तथा कृति सफलताको शुभकामना दिएका थिए ।
साहित्यकार चरित्रा शाहले कचहरी कथा संग्रहको परिचयात्मक मन्तव्य दिएकी थिइन् भने संस्थाकी अध्यक्ष तथा कृतिकार जिज्ञासुले आफ्नो कृतिको बारेमा संक्षिप्त धारणा राख्दै सम्मानित व्यक्ति तथा संस्थालाई बधाई दिएकी थिइन् ।
हिमालय टाइम्सका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको समेत उपस्थित रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य साहित्यकार तथा फाउण्डेसनका संस्थापक सदस्य ऋषिराम सापकोटाले दिएका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव लेकप्रसाद प्याकुरेलले गरेका थिए ।
फाउण्डेसनका संस्थापक सदस्य ऋषि राम सापकोटाका माता पिताको नाममा स्थापना गरिएको 'देउकला–टीकानिधि स्मृति पुरस्कार तथा सम्मान' र जिज्ञासुका माता पिताको नाममा स्थापित 'मनिकर्णा–टिकाराम स्मृति पुरस्कार तथा सम्मान' हरेक वर्ष दुई जनालाई प्रदान गर्ने गरिएको छ । पुरस्कारको राशी रु.५ हजार एक सय एक रहेको फाउण्डेसनकी अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंंघ, नेपालकी अध्यक्ष जिज्ञासुले जानकारी दिइन् ।
अध्यक्ष जिज्ञासुले गत वर्ष फाउण्डेसनबाट साहित्यतर्फ खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र बहादुर भण्डारीलाई र समाजसेवातर्फ नील सागर सेवा आश्रमलाई सम्मान गरिएको बताउँदै यस वर्षदेखि सम्मानका साथै पुरस्कार पनि वितरण गर्न थालिएको बताइन् । अध्यक्ष जिज्ञासुका अनुसार फाउण्डेसनले २०७० सालदेखि चितवनको चेपाङ बस्ती र नवलपरासीका गरिब असहाय बालबालिकाहरुलाई पढ्नका लागि छात्रवृत्ति प्रदान गर्न शुरु गरेको थियो । संस्थाले सहयोग गरिरहेका बालबालिकाहरु एसईई. परीक्षामा उत्कृष्ट जीपीए ल्याएर उत्तीर्ण भइसकेका छन् । फाउण्डेसनले बागलुङ र बाँकेमा समेत गरिब असहाय बालबालिकाहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।
काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन सत्रमा ‘राष्ट्र कवि माधवप्रसाद घिमिरे गीत पुरस्कार’ नगद २१ हजारसहित वरिष्ठ सर्जक यादव खरेल र मररोपरान्त प्रेमध्वज प्रधानलाई प्रदान गरिएको थियो ।
प्रेमध्वज प्रधानलाई प्रदान गरिएको पुरस्कार प्रधानका भान्जी एलिसा मास्केलाई हस्तान्तरण गरिएको थियो । यसैगरी वरिष्ठ कलाकार तथा स्रष्टा मदनदास श्रेष्ठलाई ‘अनेसास विशिष्ट सम्मान’ प्रदान गरिएको थियो ।
यसैगरी अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्व अध्यक्ष गीता खत्री, अनेसासका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र अनेसासका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइलालाई पनि सम्मानपत्रसहित सम्मानित गरिएको थियो ।
यसैगरी राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारका संस्थापक वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा ‘शीला’, सम्पादक रमेश दाहाल, ठाडो भाका लोककला प्रतिष्ठान, नेपाल संस्कृति विश्वविद्यालय, जनकपुर उपमहानगरपालिका, गोरखकाली नगरपालिका, गोरखालाई कदरपत्र प्रदान गरिएको थियो ।
यसैगरी ‘अनेसास भानु विशेष सम्मान’ बाट भानु प्रतिष्ठानलाई र भानु सम्मानबाट कविहरु क्रमशः डा. देवी नेपाल, प्रभा आचार्य, बलराम दाहाल र सरु बस्नेत सम्मानित भएका थिए ।
यसैगरी अनेसास नेपाल च्याप्टरले कोभिडको कारण विश्व नै लकडाउनको अवस्थामा रहेको समयमा लकडाउन संस्मरण प्रतियोगिता गरेको थियो । सो प्रतियोगितामा प्रथम हुने बाबुराम न्यौपानेलाई नगद रु.३० हजार, द्वितीय हुने पवित्रा अधिकारीलाई नगद रु. २० हजार र तृतीय हुने सम्झना निरौलालाई नगद रु. १० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
अधिवेशनमा प्रमुख अतिथि प्रा.डा.वासुदेव त्रिपाठी, वरिष्ठ गीतकार यादव खरेल, पूर्व अध्यक्ष राधेश्याम लेकाली, प्रा.डा.गोविन्दराज भट्टराई, प्रा.डा.खगेन्द्रप्रसाद लुइटेल, सल्लाहकार प्रतीक ढकाल, केन्द्रीय उपाध्यक्ष डा.रेणुका सोलु, अध्यक्ष सन्ध्या पहाडीलगायतले आ–आफ्नो मन्तव्य राखेका थिए । यसैगरी कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष गोवर्धन पूजा र बिओटी अध्यक्ष पदम विश्वकर्माको शुभकामना पनि वाचन गरिएको थियो ।
सन्ध्या पहाडीको सभापतित्व सम्पन्न सो अधिवेशनको प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठी रहेका थिए । कार्यक्रमको सञ्चालन महासचिव ऋषभदेव घिमिरेले गरेको सो अधिवेशनमा उपाध्यक्ष राजेन्द केसीले स्वागत गरेका थिए ।
अधिवेसनको बन्दसत्रमा महासचिव ऋषभदेव घिमिरेले महासचिवको प्रतिवेदन र अध्यक्ष सन्ध्या पहाडीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो सत्रमा केन्द्रीय समितिले सदस्यता अपडेटको नाममा निर्वाचनबाट बन्चित गर्ने गरेको कार्यको व्यापक विरोध गरिएको थियो । एकपटकको आजीवन सदस्य सधैंको आजीवन सदस्य हुनुपर्नेमा जोड दिइएको थियो ।
अधिवेशनले अनेसास नेपाल कार्यसमितिको निर्वाचन पनि सम्पन्न गरेको थियो । सो निर्वाचनबाट अध्यक्षमा राजेन्द्र के. सी. निर्विरोध निर्वाचित भएका छन् । यसैगरी प्रथम उपाध्यक्षमा मन्जिला अनिल र दितीय उपाध्यक्षमा निर्मलरमण पराजुली निर्वाचित भएका छन् । समितिको महासचिवमा रन्जना निरौला, सचिवमा सुशिला खड्का हसिना र कोषाध्यक्षमा कमला रिसाल निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा क्रमशः आकाश अधिकारी, डा.शान्तिमाया गिरी, डिआर राई, शान्ति रिसाल, दुर्गाबहादुर शाह ‘बाबा’, सीता विष्ट कार्की, डा. हिरण्यलाल ज्ञवाली, सुमन वर्षा, सुचिता काफ्ले, द्वारिका कुइकेल र इन्दिरा ढकाल निर्विरोध निर्वाचित भएका छन् । शनिबारनै निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले शपथ ग्रहण गराएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies