काठमाडौं : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । मंगलबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो । नेपाल आयल निगम लिमिटेडले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पाेरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थकोप्रति लिटर दुई रुपैया ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैया ४६ पैसा मूल्य बढेको हो ।
नयाँ खुद्रा मूल्यअनुसार पेट्रोलप्रति लिटर रुपैयाँ एक सय ७८, डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ एक सय ६१ पुगेको छ । पहिलो वर्गअन्र्तगतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ । यस्तै दोस्रो वर्ग अन्र्तगतको सुर्खेत र दाङका लागि एक सय ७७ रुपैयाँ मूल्य रहेको छ भने तेस्रो वर्गअन्र्तगतको काठमाडौं, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य एक सय ६१ रुपैयाँ कायम गरिएको छ ।
काठमाडौं : शिवम् सिमेन्टले नेपाली सिमेन्ट जगतमै इतिहास रच्दै सर्वाधिक १३ करोड ३१ लाख बोरा ओ.पि.सी. सिमेन्ट बिक्री गर्न सफल भएको छ । शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै आएको छ ।
शिवम् सिमेन्ट सर्वसाधारणको लागि शेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी पनि हो भने कम्पनीले एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट सम्मानित भएको छ । नयाँ वर्ष २०८१ का अवसरमा कम्पनीले उपभोक्ता, बिक्रेता, शेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरुमा शुभकामना सन्देश जारी गर्दै कम्पनीको प्रगति र सफलताको हरेक कदममा पाएको अटुट साथ, सहयोग र भरोसाका निम्ति कृतज्ञता ज्ञापन गरेको छ ।
सन् २००३ मा हेटौँडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय चुनढुंगाको प्रयोग गरी दैनिक तीन हजार टन ओ.पि.सी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलले स्नो याक फाउन्डेशनलाई सहयोग प्रदान गरेको छ । आफ्नो स्थापनाको १७औं वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गर्ने क्रममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालभरका पिछडिएका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको संस्थालाई बैंकले सहयोग गरेको हो । बैंकले आफ्नो सत्रौं वार्षिकोत्सव यहि बैशाख ७ गते मनाउँदै छ ।
विशेष गरी विपन्न परिवारमा जन्मेका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरुको सामना गर्नुपर्ने हुँदा सञ्चालनमा केही सहजता होस भन्ने हेतुले बैंकले एक समारोहकाबीच एक लाखको चेक संस्थाका संचालक मणिराज शर्मालाई हस्तान्तरण गरेका हुन् ।
बालबालिकाहरुको उज्ज्वल भविष्यको परिकल्पना गर्दै स्नो याक फाउन्डेशनले बिगत एक दशक भन्दा बढी समय गुणस्तरीय शिक्षामा विद्यार्थीको पहुँच बढाउन समर्पित गरेको र उक्त रकम पनि बालबालिकाको शिक्षामा खर्च गर्ने कुरा संस्थाका संचालकले जानकारी दिए । हाल फाउन्डेशनले पाँच सय बालबालिकालाई शिक्षा प्रदान गरिरहेको छ ।
काठमाडौं : खल्तीले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना प्रयोगकर्ताहरुका लागि ‘क्यासब्याक मेला’ अफर ल्याएको छ । यूनियन पे सँग सहकार्य गर्दै प्रदान गरिएको सो अफरमा खल्ती प्रयोगकर्ताहरुले तोकिएका ब्राण्डहरुको एक सयभन्दा बढी आउटलेटहरुमा यूनियन पे को क्यूआर स्क्यान गरी भुक्तानी गर्दा थुप्रै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
चैत्र १४ देखि वैशाख ३० गतेसम्म लागू हुने सो अफरमा खल्ती प्रयोगकर्ताहरुले यूनियन पे को क्यूआर खल्तीमार्फत् स्क्यान गरी छिटो र सरल तरिकाले भुक्तानी गर्दै १० प्रतिशत क्यासब्याकको लाभ समेत उठाउन सक्ने खल्तीले जनाएको छ ।
विभिन्न मुभी हल, क्याफे तथा रेस्टुरेन्ट, स्वास्थ्य सेवा प्रदायक, फेसन ब्राण्ड, ट्राभल तथा एड्भेन्चर, डिपार्टमेन्टल स्टोरहरुका आउटलेटहरुमा भुक्तानी गर्दा उक्त क्यासब्याकको लाभ लिन सकिने कम्पनीले जनाएको छ । आइएनआइ सिनेमा, न्यू म्यू डल्ले, मोन्स्टर मिल, ई–फार्मेसी, मनकामना दर्शन लगायतका थुप्रै ब्राण्डहरुको आउटलेटहरुमा सो अफर उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं : प्रभु बैंकले पोखरा महानगरपालिका–१५ स्थित नयाँगाउँमा ३ सय २औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको नयाँगाउँ शाखा कार्यालयको प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले गरे ।
बैंकको नयाँगाउँ शाखा कार्यालयको शान्ती शेरचन गौचनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिंङ सेवा विस्तार गरेको बताए ।
प्रभु बैंकको यो अभियानले देशभरी नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै शाखालाई सफलताको शुभकामना व्यक्त गरे ।
बैंकको नयाँगाउँ शाखामार्फत् स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले क्रेडिट कार्ड प्रयोग गरेर स्वदेश तथा विदेश भ्रमणको प्याकेज खरिद गर्न सकिने योजना ल्याएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले आफ्ना क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको हो ।
आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, वाली, दुवई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरु ल्याएको छ । बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम् तीन हजार दुई सय १० रुपैयाँ र विदेश भ्रमणको लागि छ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो ।
बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकले जनाएको छ । साथै, यो योजनामा आवद्ध भई क्रेडिट कार्ड लिन चाहने ग्राहकहरुलाई बैंकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट समेत प्राप्त गर्न सक्ने जनाइएको छ ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : जुम्लाका किसानले अनुदानमा मीनी हाते ट्याक्टर पाएका छन् । परम्परागत कृषि प्रणालीलाई यान्त्रिकीरण र व्यवसायीकरण गर्न स्याउ सुपोरजोन जुम्लाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर पाएका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत उपलब्ध बजेट र किसानको मागका आधारमा जिल्लाका विभिन्न व्यक्ति, समूह, फर्म र सहकारीलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको स्याउ सुपरजोन जुम्लाका प्रमुख खेम राज शाहीले बताए । उनका अनुसार यस वर्ष ६१ वटा मिनी हाते ट्याक्टर वितरण गरिएको छ । यान्त्रिकीरण वितरण कार्यविधिअनुसार कार्यक्रममा आएको १२ लाख स्याउ सुपरजोनको बजेट र किसानको १२ लाख गरी ६१ वटा हाते ट्याक्टर वितरण गरिएको हो ।
हाते ट्याक्टरमार्फत् कृषि कर्ममा लागेका किसानलाई आधुनिक कृषि प्रणालीसँग जोड्न सजिलो हुने र खेत तथा पाखोबारीमा पनि सजिलै प्रयोग गर्न सकिने भएकोले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर दिइएको हो । उनका अनुसार यो खेत जोत्ने ट्याक्टर ३९ हजार नौ सय रुपैयाँ मूल्यको हो । जसमा आधा १९ हजार नौ सय ५० रुपैयाँ किसानको लगानी रहेको छ ।
‘जुम्लाको आर्थिक समृद्धिका लागि कृषि नै पहिलो रोजाई भएकाले अब कृषि र वन पैदावारको औद्योगिकरण गरी रोजगारीमा ध्यान दिन आवश्यक रहेको छ’, प्रमुख शाहीले भने, ‘सहुलियत अनुदानमा गरिएको वितरणले यहाँको कृषि उत्पादनमा यान्त्रिकीरणको प्रयोग बढ्ने र उत्पादनले समेत बजार पाउने देखिन्छ ।’
काठमाडौं : नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् ।
प्रधानमन्त्रीले स्वीच थिचेपछि धादिङ र काठमाडौं दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो । मुख्य सुरुङसँगैको आपतकालीन सुरुङ भने गत साउन २२ गते नै ब्रेक थ्रु भएको थियो ।
धादिङको सिस्नेखोला र काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ । समारोहमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतका उच्च अधिकारीको उपस्थिति थियो । यस्तै समारोहमा संघीय सांसद एवम् प्रदेश सांसदहरुको पनि उपस्थिति थियो ।
नागढुंगाको घुमाउरो सडक र जामबाट आजित भएका नागरिकलाई उक्त सुरुङमार्ग निर्माण भएपछि थप सहज हुनेछ । आज छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमितरुपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ ।
नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरका अनुसार एक विशेष समारोहबीच सुरुङको ब्रेक थ्रु गरिएको हो । सो सुरुङमार्गको कूल लम्बाई दुई हजार छ सय ८८ मिटर छ । सुरुङबाट काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउजाउ गर्न सकिने आयोजनाले जनाएको छ ।
सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका कामका लागि भने केही समय लाग्नेछ । आयोजनाको कूल लागत झण्डै रु २२ अर्ब बराबर छ । जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेशनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको थियो ।
काठमाडौं : यही वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ ।
लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ । दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन)हुने बोर्डको कार्यालयले जनाएको छ ।
दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नविनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ । त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी, र नेपालको निर्यात प्रवर्द्धनका लागि कृषि प्रशोधनमा आधारित आपूर्ति शृङ्खलाबारे छलफल हुनेछ । तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यवसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल गरिने जनाइएको छ ।
‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन काठमाडौंस्थित सोल्टी होटलमा आयोजना गर्नेगरी स्थान तय भइसकेको छ । सम्मेलनका लागि एक सय ५० हाराहारी आयोजना ‘सोकेस’मा लैजाने तयारी छ । यसअघि लगानी बोर्डले एक सय २५ वटा आयोनजा ‘सोकेस’मा लैजाने तयारी गरिहेकोमा अहिले निजी क्षेत्र, प्रदेश र स्थानीय तहकासमेत केही आयोजना थपिएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।
“निजी क्षेत्र, प्रदेश र स्थानीय तहबाटसमेत सोकेसका लागि प्रस्ताव गरिएका आयोजनासमेत गरेर एक सय ५० हाराहारी पुगेका छन् । निजी क्षेत्र र स्थानीय तहका आयोजनाबारे जानकारी दिने छुट्टै कक्ष र उहाँहरुकै जनशक्ति खटाइनेछ”, प्रवक्ता उपाध्यायले भने, “कुन प्रदर्शनी कक्षमा कस्ता आयोजना राख्ने, त्यसको व्यवस्थापन कसरी गर्ने र लगानीकर्तालाई आयोजनाबारे अधितम जानकारी कसरी दिन सकिन्छ भनेर पूर्वतयारी चलिरहेको छ ।” लगानी सम्मेलन स्थलमा २२ देखि २५ वटा कक्ष रहनेगरी तयारी भइरहेको उनको भनाइ छ ।
सम्मेलनका लागि अब १२ दिन मात्रै बाँकी छ । सम्मेलन स्थलको व्यवस्थापन, सुरक्षा व्यवस्था तथा स्वयम्सेवक परिचालन, विदेशी लगानीकर्तालाई विभिन्न आयोजनाबारे जानकारी दिनका लागि कक्ष व्यवस्थापनलगायतका कामको पूर्व तयारी तीव्र बनाइएको उपाध्यायले जानकारी दिए । आइतबार बेलुकासम्ममा ३१ देशका दुई सय ६० भन्दा बढी अतिथि सम्मेलनमा आउने निक्र्योल भइसकेको बोर्डले जनाएको छ ।
लगानी सम्मेलनका क्रममा तीनवटा परियोजनाको विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट–पिडिए) गर्ने तयारी भइरहेको र अहिले विकासकर्ता कम्पनीसँग त्यसबारे वार्ता चलिरहेको प्रवक्ता उपाध्यायले बताए । सम्मेलनका क्रममा नेपाल–चीन मैत्री औद्योगिक पार्क, अपर मर्स्याङ्दी–२ जलविद्युत आयोजना, कोहलपुर तथा वाणगङ्गा सौर्य ऊर्जा आयोजनाको पिडिए सम्झौता हुँदैछ ।
त्यस्तै, डावर नेपाल प्राइभेट लिमिटेडसँग आयोजना लगानी सम्झौता (प्रोजेक्ट इन्भेस्टमेन्ट एग्रिमेन्ट–पिआईए) को तयारी छ । लगानी सम्मेलनअघि प्रधानमन्त्रीको अध्यक्षतामा रहने लगानी बोर्डको बैठक बस्ने तयारी भइरहेको पनि बोर्डले जनाएको छ ।
सम्मेलनमार्फत विभिन्न २० वटा आयोजनाका लागि लगानीकर्तासँग आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट–इओआई) माग गरिँदैछ । त्यस्तै, अगाडि बढाउन सकिने सम्भावित आयोजनाका रुपमा ‘मार्केट साउण्डिङ प्रोजेक्ट’ छ वटा, आयोजना पहिचानको प्रारम्भिक चरणका ३३ वटा, वित्तीय लगानी जुटाउने अवस्थाका २० वटालगायतका आयोजना सोकेसमा लगिँदैछ ।
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला सात सय रुपैयाँले वृद्धि भइ एक लाख ३७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । शुक्रबारको तुलनामा आइतबार दुई हजार दुई सय रुपैयाँले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो ।
यस्तै, तेजाबी सुन आज प्रतितोला एक लाख ३६ हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार सात सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार सात सय १५ रुपैयाँ निर्धारण भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies