काठमाडौं : सुरक्षित र निर्भयताका साथ व्यवसाय सञ्चालनको वातावरण सुनिश्चित हुनुपर्ने माग गर्दै वैदेशिक रोजगार व्यवसायीहरूले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरको गम्भीर ध्यानाकर्षण गराएका छन् । धेरै अगाडि मेलमिलाप भइ तामेलीमा राखेको उजुरी जगाएर व्यवसायीलाई छलफलमा बोलाएपछि मंगलबार विभाग परिसरमा भएको झडपपछि बिहीबार ठूलो संख्यामा वैदेशिक रोजगार व्यवसायीहरू सुरक्षा र प्रणालीमा सुधारको माग लिएर वैदेशिक रोजगार विभाग पुगेका हुन् ।
समाजको एउटा पक्ष वैदेशिक रोजगार व्यवसायी बेइमान छन् भनि बद्नाम गर्न योजनाबद्धरूपमा लागिरहेको र विभागका कतिपय कार्यविधि र निर्णयले त्यस्ता गैरजिम्मेवार पक्षलाई बल पुर्याएका कारणले व्यवसायीलाई सहज र सुरक्षितरूपमा काम गर्ने वातावरण नभएको गुनासो व्यवसायीहरूले विभागका महानिर्देशकसमक्ष राखेका थिए ।
विभागले वैदेशिक रोजगारबाट विभिन्न कारणले फर्केका कामदारको उजुरी दर्ता गरेपछि छलफलमा भएको सहमतिअनुसार कामदारलाई म्यानपावर कम्पनीको तर्फबाट क्षतिपूर्ति रकम दिलाएर उक्त उजुरीलाई तामेली अर्थात निष्क्रिय बनाउने गरेको छ ।
तामेलीमा गएको उजुरीको अभिलेख भने विभागको प्रणालीमा रहने गरेको छ । विभागमा कर्मचारी परिवर्तन भएपछि धेरैले अगाडि मेलमिलाप भएको उक्त पुरानो उजुरी जगाएर पीडितलाई क्षतिपूर्ति दिन छलफलमा आउन व्यवसायीलाई पत्र काटेर बोलाउने गरिएको कारणले गम्भीर समस्या उत्पन्न भएको व्यवसायीहरूको भनाइ छ । बिहीबारको छलफलमा मेलमिलाप भएको उजुरीलाई पुनः जाग्ने अर्थमा नराखी प्रणालीबाटै हटाउनुपर्ने माग व्यवसायीले राखेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले मध्यान्हलाई बताए ।
छलफलमा विभागले फ्रि भिसा फ्रि टिकट अन्तर्गत दश हजार रुपैयॉ सेवा शुल्क लिएर पठाएको कामदार विभिन्न कारणले फर्केको अवस्थामा परिस्थिति र प्रमाण नै नबुझी ५ लाख रूपैयाँसम्मका उजुरी दर्ता गराउने, छलफलमा सरोकार बिनाका संघसंस्था र युट्युबरहरूलाई सहभागी गराउने, बिना कारण छापा मार्ने र प्रमाण बिनाको उजुरीमा पनि एलटी बन्द गरिदिने कार्य भएकाले त्यसलाई रोकी विभागमा हुने छलफलमा पीडित, पीडितको परिवार र म्यानपावर कम्पनीको आधिकारिक परिचयपत्रवाहक सञ्चालकलाई मात्रै सहभागी गराउने तथा विभाग परिसरमा अनधिकृत व्यक्ति वा समूहको प्रवेशमा रोक लगाउनुपर्ने व्यवसायीले माग राखेको छलफलमा सहभागी त्रिवेणी ओभरसिज कन्सर्न प्रा.लि.का सञ्चालक लक्ष्मण पौडेलले बताए ।
संघले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेका वैदेशिक रोजगार व्यवसायीलाई बद्नाम गर्न र वैदेशिक रोजगारमाथि अनेक भ्रम छर्ने प्रयास गरिएको भन्दै त्यसलाई चिर्न विभागले व्यवसायीलाई साथ दिनुपर्ने माग गरेको छ ।
जवाफमा महानिर्देशक घिमिरेले वर्तमान युग नै प्रविधि र सञ्चारको युग भएकाले व्यवसायीहरू शुद्धीकरण र व्यावसायिक भइ बद्नाम गराउने तत्वलाई जवाफ दिनसके असामाजिक, उत्तेजना र भड्काउने तत्व आफैं सेलाएर जाने भएकाले सचेत हुन व्यवसायीलमई आग्रह गरे ।
महानिर्देशक घिमिरेले नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि पूर्णरूपमा व्यवसायीलाई साथ दिन आफू तयार रहेको भन्दै व्यवसायीहरूले पनि वैदेशिक रोजगार ऐन र नियमावलीभित्र रहेर गुनासो नआउने गरी काम गर्नुपर्ने सुझाव दिएका थिए । उनले व्यवसायीले बिहीबार उठाएका समस्याको समाधानका लागि मातहत निर्देशक र कर्मचारीसँग छलफल गरेर सुधार गर्ने प्रतिबद्धता पनि जनाएको छलफलमा सहभागी व्यवसायीहरूले बताएका छन् ।
कसरी भयो झडप ?
धेरै अगाडि क्षतिपूर्ति र राहत पाइ मिलापत्र भइसकेको फ्युचर स्टार म्यानपावर प्रा.लि.सँग सम्बन्धित उजुरीका सम्बन्धमा विभागले सञ्चालक हरिबहादुर पाण्डे क्षेत्रीलाई पत्र काटेर बोलाएपछि मंगलबार क्षेत्री विभाग पुगेका थिए । विभाग पुग्दा पीडित भनिएका व्यक्तिहरुमध्ये यसअघि अलर्ट ओभरसिजका सञ्चालक देव खोखालीमाथि भएको आक्रमणमा संलग्न युवाहरू पनि थिए ।
संयोगले खोखाली पनि विभागमा नै थिए । आफूमाथि आक्रमण गर्नेहरू देखेपछि खोखालीले भने, ‘ए भाइ सरोकारविहीन व्यक्ति तिमीहरू यहाँ किन आएको ?’ त्यसपछि विभागमा रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मेलमिलाप कक्षमा छलफलको क्रममा हात हालाहाल र झडप भयो ।
प्रहरीले त्यहाँ पीडित भनिएका व्यक्ति भन्दै अलमलमा फ्युचर स्टारका एक जना कर्मचारीलाई पक्राउ गरी कालिमाटी प्रहरी कार्यालय पुर्याएको थियो । बुधबार कतारी अमिरको नेपाल भ्रमण थियो । सार्वजनिक बिदा परेका कारणले प्रहरीले केही गरेन । बिहीबार विभागमा भएको छलफलपछि महानिर्देशक घिमिरेले सहमतिको वातावरण बनेको भन्दै कसैलाई कारबाही नचलाउनु उचित हुने भनि कालिमाटीका डीएसपीलाई फोन गरे ।
महानिर्देशक घिमिरेको फोनपछि प्रहरीले त्रिवेणी ओभरसिज कन्सर्न प्रा.लि.का सञ्चालक पौडेलको जिम्मा लगाएर फ्युचर स्टारका कर्मचारीलाई छोडेको छ । व्यवसायीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हालेपछि बिना प्रमाण चर्का कुरा गर्ने युट्युबर र उद्धारका नाममा खोलिएका गैरसरकारी संस्थाका व्यक्तिहरू उत्ताउलो शैलीमा व्यवसायीविरूद्ध लागेको टिप्पणी गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies