काठमाडौं : ‘मोडल हन्ट नेपाल २०२३’को उपाधि रोनिश खड्गी र आयुष्मा पौडेलले जितेका छन् । काठमाडौंमा खड्गीले १५ प्रतियोगीलाई पछि पार्दै मेल तथा पर्वतकी पौडेलले २१ प्रतियोगीलाई पछि पार्दै फिमेलतर्फको उपाधि चुमेका हुन् ।
शुक्रबार साँझ होटल सोल्टीमा आयोजित एक समारोहका बीच सम्पन्न प्रतियोगितामा मेलतर्फ लक्की राणापहेली फष्ट रनरअप र शौनाक मल्ल सेकेन्ड रनरअप बन्दा फिमेलतर्फ रिया मेहता फष्ट रनरअप र मोनिका बुढाथोकी सेकेन्ड रनरअप घोषित भए ।
नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको प्रतियोगितामा मोस्ट पपुलर छिरिङ फुंस्टोक गुरुङ र मोनिका बुढाथोकी, फोटो जेनिक रिया मेहता र सोहज खान, कमर्सियल मोडल लक्की राणापहेली र क्रिस्टिना ढुंगाना, पब्लिक च्वाइस रोनिश खड्गी र सहारा केसी, बेष्टवाक आवाज कार्की र सुजल बम, मोस्ट स्टाइलिस लिसा बर्नवाल, आंसुतोष थापा, बेष्ट पर्सनालिटी सुनिल अधिकारी र अनिसा मैनाली, फिटनेश मोडल रोनिश खड्गी, बेष्ट फिगर मेधना श्रेष्ठ भए । प्रतियोगितामा स्पेशन रिकगननेसन अवार्ड सुजल बम र सोनिया तामाङ (भिन्न क्षमताको सहभागी)ले प्राप्त गरे ।
प्रतियोगिताको यो आठौं संस्करण हो । प्रशान्त ताम्राकार (अभिनेता, कोरियोग्राफर), राजभाई सुवाल (फोटोग्राफर) नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), सोफिया भुजेल (मिस युनिभर्स २०२२), समर्पण कार्की (मिष्टर नेपाल २०२३) र मदन रौनियार (प्रवन्ध निर्देशक जोय पपाय) यो संस्करणको निर्णायकमा रहेका थिए ।
दक्ष तथा अनुभवी विभिन्न प्रशिक्षकबाट व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्यांग्वेज, फोटोसुट, एक्सप्रेसन, ग्रुमिङ क्लास लगायत प्रशिक्षणसहित प्रतियोगी फाइनल प्रस्तिस्पर्धामा उत्रिएका थिए ।
स्वदेश तथा विदेशका विभिन्न प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ८ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगिताका विजेतामध्ये मेल रोनिशले पार्टो रिको देशमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘रनवे मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्नेछन् भने फिमेल आयुष्माले थाइल्याण्डमा आयोजना हुने मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्नेछिन् । दुवै विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरका अलवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गरेको आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
फेसनमय वातावरणमा विभिन्न सांगीतिक तामझामसहित आयोजित प्रतियोगिताको क्रेज युवायुवतीमा बढ्दो रहेकाले आगामी वर्षमा पनि यो प्रतियोगिताले निरन्तरता पाउने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपालमा स्थापित र सक्रिय ब्याण्डहरूमध्ये चर्चित 'स्त्री ब्याण्ड'ले कतारमा धमाका मच्चाएको छ । अंग्रेजी नयाँ वर्ष २०२४ को अवसर पारेर ग्रान्ड रिगल होटेलमा अवस्थित अर्मानि एक्स लन्ज एन्ड बारले आयोजना गरेको 'न्यु इयर धमाका'मा ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुतिले धमाका मच्चाएको हो ।
आफ्नो सांगीतिक प्रस्तुति दिन पहिलो पटक कतार आइपुगेको ब्याण्डले बिहीबार रातिदेखि बिहान २ बजेसम्म प्रस्तुति दिएको थियो । अंग्रेजी, नेपाली तथा हिन्दी भाषामा चर्चित गीत प्रस्तुत गरेको ब्याण्डको प्रस्तुतिमा उपस्थित नेपाली तथा विदेशी नागरिक झुमेका थिए । ब्याण्डको मेन भोकलिष्टमा निशा खपाङ्गि, ड्रमर विमला गुरुङ, लिड गिटारिष्ट इसा विश्वकर्मा, रिदम गिटारिस्ट मुस्कान चौगुठि र बेस गिटारिष्टमा रेनु श्याङ्बो रहेका छन् ।
ब्याण्डले आज शुक्रवार साँझ र आउँदो आइतबार साँझ पनि प्रस्तुति दिने तालिका रहेको कार्यक्रम संयोजक रोशन अर्यालले मध्यान्ह दैनिकलाई जानकारी दिए । कार्यक्रमका लागि दिउसो दिउँसो ४ बजेबाट ढोका खुल्ने र साँझ ६ बजेबाट सांगीतिक कार्यक्रम सुचारु हुनेछ । महिलाका लागि निःशुल्क र पुरुषका लागि कतारी रियाल ५० प्रवेश शुल्क लाग्ने अर्यालले जानकारी दिए ।
तिलु शर्मा पौडेल
दोहा कतार
नेपालमा स्थापित र सक्रिय ब्याण्डहरूमा परिचित नाम हो 'स्त्री ब्याण्ड' । यो ब्याण्डको विशेषता भनेकै भोकलिष्टदेखि गितारिष्ट र ड्रमर सबै युवती रहनु हो । नेपालसहित भारतका केही शहरमा आफ्नो प्रस्तुतिद्वारा धमाका मच्चाएको यो ब्याण्ड आफ्नो सांगीतिक प्रस्तुति दिन पहिलो पटक कतार आइपुगेको छ । ब्याण्डको मेन भोकलिष्टमा निशा खपाङ्गि, ड्रमर विमला गुरुङ, लिड गितारिष्ट इसा विश्वकर्मा, रिदम गितारिष्ट मुस्कान चौगुठि र बेस गितारिष्ट रेनु श्याङ्बो रहेका छन् ।
अंग्रेजी नयाँ वर्ष २०२४ को अवसर पारेर ग्रान्ड रिगल होटेलमा अवस्थित अर्मानि एक्स लन्ज एण्ड बारले आयोजना गरेको "न्यु एयर धमाका"मा ब्याण्डले आफ्नो प्रस्तुति दिने भएको हो । आफ्नो सांगीतिक प्रस्तुति दिन कतार आइपुगेको ब्याण्डले बिहीबार, शुक्रबार साँझ र आइतबार साँझ गरी तीन दिन प्रस्तुति दिने कार्यक्रम संयोजक अर्यालले मध्यान्ह दैनिकलाई जानकारी दिए ।
आज बिहीबार साँझ हुने कार्यक्रमको ढोका दिउसो दिउँसो ४ बजेबाट खुल्ने र साँझ ६ बजेबाट सांगीतिक कार्यक्रम सुचारु हुनेछ l महिलाका लागी निःशुल्क र पुरुषका लागी कतारी रियाल ५० प्रवेश शुल्क लाग्ने जानकारी अर्यालले दिए । उनीहरूको स्वागतका लागि कतारको हमाद विमानस्थलमा क्लब सञ्चालक रमेश केसी सहित सञ्चारकर्मी तथा अन्य व्यक्तिहरू एयरपोर्ट पुगेका थिए ।
कुलेन्द्र शाही/मध्यान्ह
सुर्खेत : गायक जीवन विसीको स्वर रहेको ‘आखिर किन दिल तोडेउ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘रानी म्युजिक सोलेशन’ युट्युब च्यानलमार्फत बुधवार सार्वजनिक गरिएको हो ।
गीतको शब्द जाजरकोटका सिद्धार्थ रोयल ठकुरीले कोरेका छन् भने गीतमा संगीत जीवन विसी तथा एरेन्ज विशाल निरौलाको छ । भिडियाे सन्तोष शर्माले खिचेका हुन् भने भिडियोको सम्पादन विष्णु भट्टराईले गरेका हुन् ।
जीवन खड्काको कथा एवम् निर्देशनमा तयार भएको भिडियोमा श्याम घर्ती मगर, जीवन खड्का र गिया कुँवरको अभिनय रहेको छ । उक्त गीतमा विसाल निरौलाको मिक्सिङ रहेको छ । भिडियाेमा माया प्रेममा धोका पाएको कुराहरु समेटिएको छ । सिद्धार्थ रोयल ठकुरीको यो पहिलो गीत हाे ।
‘यसमा मायाप्रेममा बिछोड भएको कुराहरु समेटिएको छ,’ शाहीले भने, ‘यो गीतले मायाप्रेममा बिछोड आमदर्शक श्रोतामा जागृत गराउँछ भन्ने मेरो अपेक्षा छ ।' जाजरकोटकाे शिवालयमा हुर्केका ठकुरी सानैदेखि गीत, गजल, मुक्तक र भावनाहरु लेख्ने गर्थे । साहित्यिक लेखनमा सानैदेखि उनको हुटहुटी थियो ।
हेर्नुहोस् भिडियो :
राजकुमार भुजेल/मध्यान्ह
दोलखा : आगामी बिहीबारदेखि शुरु हुने बृहत् दोलखा महोत्सव २०८० मा नेपालका चर्चित गायक गायिका तथा कलाकारहरुको प्रस्तुति हुने भएको छ ।
उद्योग वाणिज्य संघ दोलखाको आयोजनामा शुरु हुन लागेको महोत्सवमा सांगीतिक मनोरञ्जनका लागि कलाकारहरु मिलन नेवार, राजनराज सिवाकोटी, एलिना चौहाल, प्रिती आले, ज्योति मगर, नवराज घोरासैनी, रमेश प्रसाईं, प्रताप दास, रमेशराज भट्टराई, हरिबहादुर राउतलगायतका राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै स्थानीय कलाकारहरुको प्रस्तुति र विविधि सांस्कृतिक कार्यक्रमसमेत हुनेछ ।
सदरमुकाम चरिकोटस्थित रंगशालामा आयोजना हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम तय भएको संघले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादनलाई विशेष जोड दिइएको छ । महोत्सवका लागि करिब डेढ सय स्टल बुकिङ भइसकेको छ । महोत्सव नजिकिँदै गर्दा सदरमुकाम चरिकोटलाई बेहुली झैं सिंगारिएको छ भने प्रचारप्रसारलाई तीव्र पारिएको छ । महोत्सव पुस २२ गतेसम्म चल्नेछ ।
काठमाडौं : गायिका सरु गौतम सर्वोत्कृष्ट गायिकाको अवार्डबाट सम्मानित भएकी छिन् । आइतबार काठमाडौंमा उपमा सञ्चार प्रा.लि.ले आयोजना गरेको ‘सांस्कृतिक राष्ट्रिय म्युजिक अवार्ड २०८०’मा उनले सर्वोत्कृष्ट गायिकाको अवार्ड जितेकी हुन् ।
‘जाउन माया भागेर’ बोलको गीतबाट गायिका गौतम सर्वोत्कृष्ट गायिकाको अवार्ड जित्न सफल भएकी हुन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न विधागत अवार्डबाट कला क्षेत्रका व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
अमेरिका : प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षण र श्रीवृद्धिका निम्ति गीत सिर्जनामार्फत आफ्नो मौलिक पहिचान जोगाउन सकिने हेतुले उत्तर अमेरिकामा रहने गीतकार एवम् सर्जकहरू द्वारा एक गैरमुनाफा संस्था 'इमिग्रेन्ट नेपाली लिरिसिस्ट एसोसिएसन युएसए' आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको स्थापना गरिएको छ ।
चर्चित एवं लोकप्रिय गीतकार हरि उप्रेतीको नेतृत्वमा संस्था स्थापना गरिएको हो । उप्रेतीको नेतृत्वमा रहेको उक्त संस्थामा लोकप्रिय एवम् प्रसिद्ध साहित्यकार एवम् गीतकार अनु शाह उपाध्यक्षमा रहेकी छन् भने महासचिवमा गीतकार नारद रिजाल, कोषाध्यक्षमा गीतकार रमेश लुइँटेल रहेका छन् ।
त्यसैगरी बोर्ड अफ डाइरेक्टरमा गीतकार डा. राजेश कुमार शाक्य, गीतकार एवम् साहित्यकार केशव बैरागी, गीतकार एवम् गायक तिलचन आचार्य, सुप्रसिद्ध गीतकार सुनिता थापा बस्नेत रहेको संस्थाका अध्यक्ष उप्रेतीले जानकारी गराए । चार प्रमुख कार्यकारीसमेत रहने गरी जम्मा ११ जनाको बोर्ड अफ डाइरेक्टर रहने उक्त संस्थाको विधानमा उल्लेख रहेको छ ।
संस्थालाई अभिभावकत्व प्रदान गर्न तथा संस्थालाई सदैव जीवित राख्न प्रमुख संरक्षकमा वरिष्ठ गीतकार एवम् साहित्यकार ज्ञानेन्द्र गदाललाई सर्वसम्मत रूपमा संस्थाले चयन गरेको छ । त्यसैगरी अन्तराष्ट्रिय संयोजक तथा प्रमुख प्रेस सल्लाहकारमा सञ्चारकर्मी सूर्य चन्द रहेका छन् भने नेपाल संयोजकमा म्युजिक भिडियो निर्देशक तथा कार्यक्रम प्रस्तोता प्रहिल कार्कीलाई मनोनयन गरिएको छ ।
अमेरिकाको ओहायो राज्यमा संस्थाको केन्द्रीय कार्यालय रहनेछ । भविष्यमा अन्य देशहरू तथा अमेरिकाको विभिन्न राज्यहरूमा पनि शाखा कार्यालय स्थापना गरिने अध्यक्ष उप्रेतीले जानकारी दिए । संस्था स्थापना गर्नुको प्रमुख उद्देश्य परदेशमा वा प्रवासमा रहेका गीतकार तथा सर्जकहरूलाई आफ्ना सिर्जना पस्कने आधिकारिक र साझा थलो निर्माण गर्नु रहेको उनको भनाइ छ । त्यसका साथै नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनु, सिर्जनामार्फत आफ्नो भाषा साहित्यलाई संरक्षण र प्रवर्द्धन गर्दै पुस्तान्तरण गर्नु पनि संस्थाको उद्देश्य रहेको उनले बताए । आगामी दिनमा नयाँ सर्जकहरूलाई गीत लेखनमा प्रशिक्षण दिइ सिर्जनाको स्तरलाई वृद्धि गर्ने संस्थागत उद्देश्य रहेको उनले बताए ।
गीत सिर्जनामार्फत सर्जकहरूले सामाजिक परिवर्तन गराउन सक्ने र जीवन दर्शनलाई प्रवाहित गर्न सक्ने भएकाले सिर्जना पस्कन निरन्तर प्रोत्साहन गर्ने, प्रवासमा रहेर पनि नेपाली गीत संगीत र साहित्यमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान गर्दै अगाडि बढ्ने अर्को महत्त्वपूर्ण उद्देश्य रहेको अध्यक्ष उप्रेतीले बताए ।
हालसम्म संस्थाले प्राप्त गर्नुपर्ने आधिकारिक प्रमाणपत्र राज्य सरकारबाट प्राप्त भइसकेको र आन्तरिक राजस्व विभागबाट पनि मान्यता प्रदान भएको अध्यक्ष उप्रेतीले जानकारी गराए ।
काठमाडौं : युवा संगीतकार लक्ष्मण पोखरेल 'सातौं मनास्लु राष्ट्रिय अवार्ड २०८०'बाट सर्वोत्कृष्ट संगीतकारको अवार्डबाट सम्मानित भएका छन् । मनास्लु मिडिया प्रा.लि.ले प्रत्येक वर्ष मनास्लु पोष्टको सातौं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान र अवार्ड वितरण गर्दै आएकोमा यस वर्ष संगीततर्फ पोखरेललाई उक्त अवार्डसहित सम्मान गरेको हो ।
शनिबार राष्ट्रिय नाचघरमा नेपाल आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान अवार्ड र आईकन अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा मनास्लु पोष्टका प्रधानसम्पादक तथा अध्यक्ष मनबहादुर रोकालागयतका विशिष्ठ व्यक्तिहररुको उपस्थिति रहेको थियो ।
नेपाली गीत संगीतको क्षेत्रमा विषेश योगदान पुर्याएबापत संगीतकार पोखरेललाई उक्त अवार्ड प्रदान गरिएको हो । अहिलेका व्यस्त संगीतकारमा गनिने पोखरेलको संगीतमा सुप्रसिद्ध गायक गायिकाहरु उदित नारायण झा, दिपा नारायण झा, राजेशपायल राई, स्वरुपराज आचार्य, अञ्जु पन्त, शिव परियार, प्रमोद खरेल, मिलन नेवार, रुपक डोटेल, शान्तिश्री परियारदेखि अहिलेका नयाँ गायक गायिका प्रताप दास, एलिना चौहान, समिक्षा अधिकारी, सुरेश लामा, अनु चौधरी, देव राना, स्मिता दाहाल, महेश भण्डारी, रानी शाक्यलगायतले स्वर दिएका छन् । उनका गीतमा सबै किसिमको संगीत सुन्न पाइन्छ ।
लमजुङको पाउदीबजारमा जन्मेका पोखरेलको केही दिनअघि मात्रै अञ्जु पन्तको स्वरमा रहेको गीत 'कहाँ बिराएँ' सार्वजनिक भएको थियो । दर्जनौं गीतमा संगीत दिइसकेका पोखरेलका सार्वजनिक हुने तयारीमा रहेका गीतहरुमा उदित र दिपाको 'थाहा छैन', स्वस्पराज आचार्यको 'दिल रोएको बेला', दिपा नारायण झाको 'धुरुधुरु रुन्छ मन', राजेशपायल राईको 'ग्रेटर नेपाल', प्रताप दासको 'मझधारमा', महेश भण्डारी र स्मिताको 'घाम लागे छाता', 'घामपानी घामपानी', 'रेशमी धागो'लगायत एक दर्जन रहेका छन् ।
उनको संगीतमा छिट्टै एउटा गजल र केही गीतहरुको रेकर्डङि हुँदैछ । गीतकार सरला श्रेष्ठ, टिएन आचार्य, नारायण रेग्मी, सागर उदास, जगदिश्वर पोखरेललगायतका गीतकारहरुका गीतमा पोखरेलको संगीत सुन्न पाइन्छ । उनका चर्चित गीतहरुमा 'दिल रुन्छ भन्छन्', 'आइफोन हरायो', 'दिल रुन्छ जब', 'आँसु दिएर गयौ', 'आधिकार बाँडिदेउ', 'हा बरै हाहाहा', 'रोक्यौ किन'लगायतका रहेका छन् ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा सिजन ४’को दोस्रो चरणको अडिसन शुक्रबार फितलो व्यवस्थापनका बीच सम्पन्न भएको छ । गायन र नृत्य विधाबाट अलग अलग गैरआवसीय नेपाली तारा चुन्ने लक्ष्य लिएर आयोजना गरिएको कार्यक्रमको दोस्रो चरणको कार्यक्रम निकै खल्लो भएको छ । यद्यपि गायन प्रतिस्पर्धाबाट १९ जना र नृत्य प्रतिस्पर्धाबाट १० जना तेस्रो चरणमा प्रवेश गरेका छन् ।
मेघा अडिसनमा देखिएका केही कमजोरी भन्दा दोस्रो अडिसनमा झनै बढी फितलो व्यवस्थापन देखियो । प्रतिस्पर्धीले निकै आकर्षक प्रस्तुति दिएको कार्यक्रमका लागि मेघा अडिसनदेखि दोस्रो अडिसनसम्म तयारी गर्न ३ हप्ताको समय राखेको आयोजक कार्यक्रमका लागि सुविधा सम्पन्न र सहज हलको व्यवस्थापन गर्नबाट चुक्यो । कार्यक्रममा पर्यवेक्षक पनि पुरै समय बसेनन् भने केही समयमै आएनन् ।
कतार च्यारिटीले करिब सय जना अट्ने हल निःशुल्क बिहान ९ बजेदेखि २ बजेसम्मका लागि उपलब्ध गराइदियो । तर कार्यक्रम निर्धारित समयभन्दा डेढ घण्टा ढिलो शुरु गरेका कारण उक्त हलमा कार्यक्रम समापन गर्न आयोजकले सकेनन् । कार्यक्रमलाई स्थानान्तरण गरेर च्यारिटीको हलबाट नज्माको अफगान ब्रोदर रेस्टुरेन्टमा पुर्याउन पर्यो । एक दर्जन प्रतिस्पर्धीले प्रस्तुति दिन बाँकी रहँदा हल स्थानान्तरण गर्दा कार्यक्रम अशोभनीय मात्र बनेन बिहान समयमा कार्यक्रम शुरु नगर्नुको नमिठो अनुभव पनि बटुल्यो । कार्यक्रममा आयोजक संस्थाका कार्यसमितिका केही र प्रतिस्पर्धी बाहेक आयोजकले गठन गरेको मूल आयोजक समिति र एक दर्जन उपसमितिका जिम्मेवार मानिसहरू पनि अनुपस्थित रहे l
लोभलाग्दो उपस्थितिसहित कार्यक्रम सम्पन्न गर्न चुकेको आयोजकले च्यारिटीको हलमा प्रतिस्पर्धीलाई उपलब्ध गराउने समय पनि फरक-फरक किसिमको थियो । कसैलाई ३ मिनेट तथा कसैलाई २ मिनेटमा सक्न आग्रह गरिएको थियो । कतार च्यारिटीको हलमै कार्यक्रम सम्पन्न गर्न निकै कोसिस गरेको आयोजकले कार्यक्रम हुने हलका लागि सूचना पनि ४८ घण्टा पहिले मात्र निकालेको थियो । जबकि यो प्रतियोगिताका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रत्येक चरणको प्रतिस्पर्धा हुनुभन्दा एक हप्ता पहिले सामाजिक सञ्जाल र फोनमार्फत हलका बारेमा जानकारी दिने प्रतिबद्धता जनाइएको थियो ।
यति ठूलो र प्रवासकै निकै फरक कार्यक्रममा आयोजकले आफ्नै प्रतिबद्धता पूरा मात्र गर्न सकेनन् आयोजकका कारण प्रतिस्पर्धीलगायत स्वयं आयोजकले समेत झमेला ब्यहोरेका थिए । आयोजक समितिले यातायात संयोजकका रूपमा जिम्मेवारी प्रदान गरेपनि शुक्रबारको कार्यक्रमपश्चात नज्माबाट प्रतिस्पर्धी ट्याक्सी चढेर निवासतर्फ लागेका थिए भने एनसीसी कतारका अध्यक्ष रमेश भट्ट आफैंले समेत यातायातका लागि सहजीकरण गरिरहेका थिए ।
लक्ष्मण पोखरेल/मध्यान्ह
काठमाडौं : भीम चापागाईं गीत संगीत भनेपछि सानैदेखि हुरुक्कै हुन्थे । गाउँघर, मेलापातमा मात्रै होइन स्कुल, बजार जताततै उनलाई गीत गाउन भ्याइनभ्याइ हुन्थ्यो । सानै उमेरमा गाउँघरमा एउटा बेग्लै छाप छोडन सफल भीम त्यस्ता मेला महत्सवमा रमाइरमाइ गीत गाउँथे । उनको गायन प्रतिभा देखेर पर्वतका विभिन्न ठाउँबाट उनलाई गायनका लागि निम्तो आउँथ्यो । हिजोका ती दिन सम्झेर भीम अहिले पनि रमाइलो मान्छन् ।
‘एक किसिमले म त्यो बेला गाउँठाउँ र जिल्लामा चर्चित भइसकेको थिएँ । सबैले माया गरेर गीत गाउन बोलाउनुहुन्थ्यो । सबैको माया आर्शिवादले यो क्षेत्रमा लाग्न प्रेरणा मिलेको छ,’ उनी भन्छन् ।
पर्वतको कुर्घामा जन्मे हुर्केका भीम वि.सं. २०५१ सालबाट औपचारिकरुपमा संगीतमा लागेका एक संगीत साधक हुन् । सानैदेखि गायक बन्ने सपना बोकेर विभिन्न आरोहअवरोह पार गर्दै अघि बढेका भीमले संगीतको शिक्षा गान्धर्व संगीत महाविद्यालय भारतबाट र संगीत प्रेम प्रयाग इलाहावादबाट शास्त्रीय संगीतमा एमम्युज गरेका छन् । साथै गुरुदेव कामत, धन बहादुर कपालीबाट पनि उनले शास्त्रीय संगीतको शिक्षा लिएका छन् ।
रेडियो नेपालबाट २०५१ सालमा स्वर पास गरेका भीम त्यसपछि निरन्तर नेपाली संगीतमा लागि रहेका छन् । ‘साक्षी राख्ने होइन जोवन’ उनको पहिलो गीत हो । हाल चर्चामा रहेको ‘अरे हो काइँली’ गीतका गायकसमेत रहेका भीम संगीतकार लक्षु प्रकाश मल्लको संगीत रहेको उक्त गीतबाट हाल चर्चामा छन् । पाँच दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका भीम नेपाली संगीतलाई राम्रोसँग बुझेका गायकमा पर्छन् ।
लोक दोहोरीदेखि गजलसम्मका गीतहरुमा आफ्नो जादुमयी स्वर दिइसकेका भीमका चर्चित एल्बमहरुमा च्वाटमाया, पाल्पा गेटैमा राम्रो ताम्सुरा, बाचा, मुहार तिम्रो यादलगायतका छन् । स्व. सम्राट नारायण गोपाल, गोपाल योञ्जनलगायता स्रष्टाहरुबाट प्रभावित उनी नेपाली संगीतको श्रीवृद्धिमा निरन्तर लागिरहने बताउँछन् ।
सांगीतिक कार्यक्रमको सिलसिलामा विभिन्न देश भारत, चीन, बहराइन, दुबईको भ्रमण गरिसकेका भीम अहिलेको संगीत र हिजोको संगीतमा खासै भिन्नता नभएको बताउँछन् । प्राविधिक हिसावले विश्व संगीतले एउटा फड्को मारिरहेको छ, तर सिर्जनाको हिसाबले हिजो र आजको संगीतमा फरक नभएको उनी बताउँछन् । समयअनुसार गीत संगीतमा नयाँ सर्जक स्रष्टाहरुको सिर्जना आइरहन्छ, यो एउटा नियमित प्रक्रिया रहेको बताउने भीम गीत संगीत कहिल्यै नयाँ र पुरानो नहुने बताउँछन् ।
हाल अमेरिकामा बसोबास गर्दै आएका भीम आफूमा नेपाली गीत संगीतप्रतिको माया अथाह रहेको बताउँछन् । त्यसैले त उनी सात समुद्र पारी भए पनि निरन्तर नेपाली गीत संगीत रेकर्ड गरिरहन्छन् । विभिन्न परिस्थितिका कारण देशबाट अलग भए पनि नेपाली गीत संगीतबाट आफू अलग हुन नसक्ने उनी बताउँछन् । ‘यही नेपाली गीत संगीतले मलाई भीम भनेर चिनायो, कसरी म नेपाली संगीतलाई बिर्सन सक्छु,’ उनी भन्छन् ।
नेपाली संगीतलाई सधैं माया गरिरहने भीम विभिन्न संघसस्थाबाट सम्मानित समेत भइसकेका छन् । सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन्, उनी । सामाजिक कार्य गर्दा बेग्लै किसिमको आन्नद आउने बताउने उनी चर्चा कमाउन उक्त कार्य नगरेको बताउँछन् । हाल ‘अरे हो काइँली’ गीतबाट चर्चामा रहेका उनी उक्त गीतले नेपाली दर्शक स्रोताहरुमाझ पुनः परिचित हुन पाएकोमा दंग छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies