अमेरिका : प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षण र श्रीवृद्धिका निम्ति गीत सिर्जनामार्फत आफ्नो मौलिक पहिचान जोगाउन सकिने हेतुले उत्तर अमेरिकामा रहने गीतकार एवम् सर्जकहरू द्वारा एक गैरमुनाफा संस्था 'इमिग्रेन्ट नेपाली लिरिसिस्ट एसोसिएसन युएसए' आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको स्थापना गरिएको छ ।
चर्चित एवं लोकप्रिय गीतकार हरि उप्रेतीको नेतृत्वमा संस्था स्थापना गरिएको हो । उप्रेतीको नेतृत्वमा रहेको उक्त संस्थामा लोकप्रिय एवम् प्रसिद्ध साहित्यकार एवम् गीतकार अनु शाह उपाध्यक्षमा रहेकी छन् भने महासचिवमा गीतकार नारद रिजाल, कोषाध्यक्षमा गीतकार रमेश लुइँटेल रहेका छन् ।
त्यसैगरी बोर्ड अफ डाइरेक्टरमा गीतकार डा. राजेश कुमार शाक्य, गीतकार एवम् साहित्यकार केशव बैरागी, गीतकार एवम् गायक तिलचन आचार्य, सुप्रसिद्ध गीतकार सुनिता थापा बस्नेत रहेको संस्थाका अध्यक्ष उप्रेतीले जानकारी गराए । चार प्रमुख कार्यकारीसमेत रहने गरी जम्मा ११ जनाको बोर्ड अफ डाइरेक्टर रहने उक्त संस्थाको विधानमा उल्लेख रहेको छ ।
संस्थालाई अभिभावकत्व प्रदान गर्न तथा संस्थालाई सदैव जीवित राख्न प्रमुख संरक्षकमा वरिष्ठ गीतकार एवम् साहित्यकार ज्ञानेन्द्र गदाललाई सर्वसम्मत रूपमा संस्थाले चयन गरेको छ । त्यसैगरी अन्तराष्ट्रिय संयोजक तथा प्रमुख प्रेस सल्लाहकारमा सञ्चारकर्मी सूर्य चन्द रहेका छन् भने नेपाल संयोजकमा म्युजिक भिडियो निर्देशक तथा कार्यक्रम प्रस्तोता प्रहिल कार्कीलाई मनोनयन गरिएको छ ।
अमेरिकाको ओहायो राज्यमा संस्थाको केन्द्रीय कार्यालय रहनेछ । भविष्यमा अन्य देशहरू तथा अमेरिकाको विभिन्न राज्यहरूमा पनि शाखा कार्यालय स्थापना गरिने अध्यक्ष उप्रेतीले जानकारी दिए । संस्था स्थापना गर्नुको प्रमुख उद्देश्य परदेशमा वा प्रवासमा रहेका गीतकार तथा सर्जकहरूलाई आफ्ना सिर्जना पस्कने आधिकारिक र साझा थलो निर्माण गर्नु रहेको उनको भनाइ छ । त्यसका साथै नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनु, सिर्जनामार्फत आफ्नो भाषा साहित्यलाई संरक्षण र प्रवर्द्धन गर्दै पुस्तान्तरण गर्नु पनि संस्थाको उद्देश्य रहेको उनले बताए । आगामी दिनमा नयाँ सर्जकहरूलाई गीत लेखनमा प्रशिक्षण दिइ सिर्जनाको स्तरलाई वृद्धि गर्ने संस्थागत उद्देश्य रहेको उनले बताए ।
गीत सिर्जनामार्फत सर्जकहरूले सामाजिक परिवर्तन गराउन सक्ने र जीवन दर्शनलाई प्रवाहित गर्न सक्ने भएकाले सिर्जना पस्कन निरन्तर प्रोत्साहन गर्ने, प्रवासमा रहेर पनि नेपाली गीत संगीत र साहित्यमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान गर्दै अगाडि बढ्ने अर्को महत्त्वपूर्ण उद्देश्य रहेको अध्यक्ष उप्रेतीले बताए ।
हालसम्म संस्थाले प्राप्त गर्नुपर्ने आधिकारिक प्रमाणपत्र राज्य सरकारबाट प्राप्त भइसकेको र आन्तरिक राजस्व विभागबाट पनि मान्यता प्रदान भएको अध्यक्ष उप्रेतीले जानकारी गराए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies