बाँकेः बाँकेमा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका–८ पिपिरी बस्ने २१ वर्षीय गणेश सुस्लिङ मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती बालिकालाई ललाई फकाई गत आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सङ्खुवासभाः सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस शुरु भएको छ ।
हत्या प्रकरणमा जोडिएका १५ अभियुक्तसँग मङ्गलबार बयान सकिएपछि आजदेखि थुनछेक बहस शुरु भएको जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले जानकारी दिए । कैदी हत्या प्रकरणमा सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।
जिल्ला न्यायाधीश टेकनाथ गौतमको इजलासमा थुकछेक बहस भइरहेको स्रेस्तेदार केसीले बताए । झन्डै १२ कानुन व्यवसायीले बहस गर्ने उनले जानकारी दिए । दुवै पक्षको बहस सुनेपछि मात्रै इजलासले निर्णय लिनेछ ।
कैदी हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षागार्ड दमनसिंह राई, हबल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षागार्ड नुसन राईविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।
त्यस्तै उक्त घटनामा कारागारमा कैद भुक्तान गरिरहेका आठ जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको छ । चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेविरुद्ध पनि कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो ।
भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिएर शुरुमा उनीहरूले कुटपिट गरेर यातना दिएको सिसी क्यामेरामा देखिएको जनाइएको छ । बाहिर कुटेर दुवै जनालाई कारागारभित्र छिराइएको थियो । गत साउन २४ गते सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी तथा केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो ।
काठमाडौंः हङ्कङबाट तस्करी गरी ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ । मङ्गलबार प्रतिवेदन तयार पारेको सिआइबीले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो ।
सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइने र त्यसअघि पत्रकार सम्मेलन गरेर उक्त प्रकरणबारे जानकारी दिइने बताए । आरोपीहरुविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारीलगायत कसुरमा मुद्दा चलाउन राय दिने सिआइबीको तयारी गरेको पनि उनले बताए ।
उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी नियन्त्रणमा छन् । स्वास्थ्यका कारण एक जना हिरासत बाहिर राखेर अनुसन्धान गरिएको थियो । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् ।
सङ्गठित अपराध कसुरमा म्याद थप गरेर सिआइबीले घटनाको अनुसन्धान गरेको थियो । उक्त प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ६० दिन म्याद पाउँछ । यही भदौ ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययन गर्न समय बाँकी हुन्छ ।
गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङ्कङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो । सुन अहिले राष्ट्र बैंकको संरक्षणमा छ ।
काठमाडौंः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।
मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको जनाएको हो ।
“सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यी दुई सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यता विपरीतको कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन २०७४ को दफा १०४ को उपदफा (१) को व्यवस्थाअनुसार सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ”, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समस्याग्रस्त घोषणा भएका यी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी अब सहस्याग्रस्त सहरकारी व्यवस्थापन समितिले गर्नेछ ।
यी सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको बचत रकम हिनामिना गरेको भन्दै विभागमा उजुरी परेको थियो । त्यस्ता उजुरीमाथि विभागले छानबिन गरेपछि समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । सहकारी विभागको सिफारिसका आधारमा मन्त्रालयले सोमबार यस्तो निर्णय गरेको हो ।
यीसँगै समस्याग्रस्त घोषणा भएका सहकारीको सङ्ख्या १५ वटा पुगेको छ । यसअघि मन्त्रालयले विभिन्न मितिमा १३ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ । स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ् एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कन्जुमर बचत तथा ऋण सरकारी संस्था लिमिटेड र कुवेर बचत तथा ऋण सरकारी संस्था लिमिटेड समस्याग्रस्त सहकारीका रुपमा रहेका छन् ।
त्यस्तै, चार्टर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सरकारी संस्था लिमिटेड, स्टाण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लुःनिभा बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, ओरेण्टल को–अपरेटिभ लिमिटेड र पशुपती सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड समस्याग्रस्त सहकारीका रुपमा घोषणा भइसकेका छन् ।
काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले मंगलबार नौ सय ६० ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
हिमालय एयरलाइन्सबाट दुवईदेखि आएका एकजना व्यक्तिका साथबाट उक्त सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेकाले उनको नाम अहिले सार्वजनिक नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौंः प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रतिवेदनको लेखन सकेर मंगलबार वा बुधबारसम्ममा नै बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए ।
सङ्गठित अपराधको यस मुद्दामा अनुसन्धान भइरहेकोमा यसै महिनाको ३१ गते ६० दिन पुग्ने भएकाले सो अबधिसम्म मुद्दा अदालतमा पुग्नुपर्छ । प्रतिवेदन लेखन लगभग सकिएको र केही प्राविधिक काम बाँकी रहेको सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।
उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी हिरासतमा छन् । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् ।
चिनियाँ नागरिकले त नेपाली नागरिकतासमेत लिएको खुलेको छ । तस्करीमा भन्सारका कर्मचारीकै मिलेमतो रहेको पाइएकाले पछिल्लो समयमा प्रहरीले भन्सार अधिकृत पुष्पा जोशीसहित नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपाली पक्राउ गरेको थियो ।
गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको अपरेशनका क्रममा हङकङबाट ब्रेक सुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको थियो । सुन भन्सार पास भएर निस्किएको थियो । विभागले आवश्यक अनुसन्धान सकेको १८ दिनपछि सुन प्रकरणको अनुसन्धान अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरिरहेको छ ।
ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम शुद्ध सुन भएको थियो । अहिले उक्त सुन राष्ट्र बैंकको संरक्षणमा रहेको छ ।
काठमाडौंः वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–२ घर भई हाल टोखा नगरपालिका–१० बस्ने २७ वर्षीया तुलसा वाग्ले (अधिकारी), झापाको गौरादह नगरपालिका–७ घर भई हाल काठमाडौंको कागेश्री मनोहरा नगरपालिका–१ सानटारी बस्ने २४ वर्षीय सुजन पुरी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
वाग्लेलाई खिमलाल बढामगरसमेत दुईजनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै रकम ठगी गरी फरार रहेको र पुरीलाई भूमिराज राईलाई क्यानडा पठाइदिने भन्दै दश लाख पचासी हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ । रासस
दार्चुलाः दार्चुलामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका–९ नायलबाट मंगलबार उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बैतडीको पुर्चौँडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालयको टोलीले जाँच गर्दा दुवैजनाको साथबाट गरी आठ किलो आठ सय ५० ग्राम चरेस बरामद भएको हो ।
धामीको साथबाट ६ किलो र धानुकको साथबाट दुई किलो आठ सय ५० ग्राम चरेस बरामद गरिएको प्रहरी निरीक्षक सिंहले बताए । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नवलपरासीः पाल्पाबाट अवैध रुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् ।
तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । बा प्र ०१–०३–००१ च १३८६ नं को पिकअप जिपमा नौ गाई ल्याउँदै गरेको अवस्थामा दुई जनालाई इलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको उनले बताए ।
‘पिकअपमा नौ गाई खाँदाखाँद गरेर ल्याउने क्रममा नौ वटामध्ये सात गाई मरेका र दुई गम्भीर अवस्थामा रहेको पाएका छौँ’, उनले भने, ‘पिकअप भ्यानमा पाल्पाको निस्दीतिरबाट कच्ची बाटो हुँदै पूर्वपश्चिम राजमार्गतर्फ ल्याउँदै गर्दा मरेको भेटिएका हुन् ।’ पिकअप भ्यान र घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा पिकअप चालक रौतहटको गजुरा–७ निवासी २८ वर्षीय गोजेन्द्र चौधरी र नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–८ निवासी ४० वर्षीय धुव्र कार्की रहेका छन् । प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरूले स्थानीय जातको गाई ल्याएको र प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू गाई तस्कर भएको खुलेको छ ।
घटनाको बारेमा थप अनुसन्धान भई रहेको रेग्मीले बताए । गाई, पिकअप भ्यान र पक्राउ परेका दुई जना इलाका प्रहरी कार्यालय दुम्किबासको नियन्त्रणमा रहेका छन् । रासस
रुकुम पश्चिमः आत्महत्या दुरुत्साहन मुद्धा परेपछि चौरजहारी नगरपालिका– १ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रक्राउ गरेको हो । सोही विद्यालयको कक्षा ८ मा अध्यनरत १३ वर्षीया सृष्टि गौतमको आत्महत्या दुरुत्साहन मुद्धामा उनीहरुलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए ।
शक्रबार १३ वर्षीया छात्रा गौतमलाई विद्यालयमा प्रिन्सिपल भाट र सञ्चालक भण्डारीको संलग्नतामा निर्धात कुटपिट भएपछि घर आएकी छात्राले विद्यालयको पोसाकमै झुण्डिएर अत्महत्या गरेको घरपविारको भनाइ छ ।
पढाइलेखाइ भन्दा पनि घरायसी साथसङ्गतका कारण विद्यालयमा बालिकामाथि प्रिन्सिपलले निरन्तर यातना र तनाव दिएपछि ज्यान गुमाउन बाध्य पारिएको छात्राका परिवारले आरोप लगाएका छन् । यस विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । मृतक छात्रा सोही नगरपालिका वडा नं १ लामिछाने गाउँकी हुन् । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies