कमल कुमाल/मध्यान्ह
कालीकोट : कालीकोट सदरमुकाम मान्ममा खानेपानीको अभाव भएको छ । पुरानो पाइप लाइनको मर्मत र समयमै व्यवस्थापन हुन नसक्दा खानेपानी समस्या बढेको हो । मानिसको संख्या बढिरहेको तर पानीको व्यवस्थापन हुन नसक्दा बजारबासीले समस्या झेल्दै आएका छन् ।
यो समस्या अहिले देखिको समस्या होइन् । विगतदेखि नै मान्ममा खानेपानीको अभाव हुँदै आएको छ । यहाँ जनप्रतिनिधि फेरिए, खानेपानीका लागि अध्यक्ष फेरिए तर बजारबासीलाई प्रयाप्त हिसावले खानेपानीको पहुँचमा पुर्याउने जनप्रतिनिधिहरु भने कहिल्यै फेरिएनन् ।
यहाँका स्थानीय भन्छन्, ‘हातमा जर्कीन, बाल्टा बोकेर पानीको जोहो कहिलेसम्म गर्नुपर्ने हो ?’ यहाँ पहुँचवालाले मात्र खानेपानी पाउनुपर्ने हो भने सर्वसाधारणले प्रयाप्त हिसावले खानेपानी कहिले पाउने भनेर वडा तथा नगर सरकारलाई बजारबासीले प्रश्न समेत गरेका छन् ।
सदरमुकाम मान्ममा बस्दै आएका पचालझरना ८ का सुरेन्द्रबहादुर शाहीले आफुले २७ वर्षदेखि सदरमुकाममा कहिलै प्रयाप्त खानेपानी नपाएको गुनासो गरे । खानेपानी वितरण गर्ने खाँडाचक्र नगरपालिका वडा नं १ र पहँचवाला बीचको समन्वयले पानी अभाव झेल्नु परेको बताएका छन् । पानी वितरणको जिम्मेवारी पाएको खाँडाचक्र नगरपालिका वडा नं १ का वडाअध्यक्ष धर्मराज टमटाले मुहानको अभावले समस्या टार्न नसकेको बताए ।
काठमाडौं - आगामी वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । गतिरोध हटाइ व्यवस्थित र संकल्पसहित संसद अघि बढाउन सबै शिर्ष नेताहरू बैंठकमा बोल्ने कार्यक्रम राखिएको हो ।
सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन बैठक डाँकेका हुन् । उक्त बैठकपछि संसद व्यवस्थित बनाउन सबै दल तयार हुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए। उपप्रधान तथा गृहमन्त्रीमाथि सहकारी प्रकरणको छानबिन गर्नको लागि समिति बनाउने विषयमा अझै दलहरुबीच कुरा मिल्न सकेको छैन।
काठमाडौं- सुनतस्करी प्रकरणमा परेकालाई कारबाही सिफारिस गर्न बनेको गृह मन्त्रालयको समितिले प्रतिवेदन बुझाएको छ । सुन तस्करी जाँचबुझ आयोगको सुझाव अनुसार प्रहरी र सरकारी कर्मचारीलाई कारबाही सिफारिस गर्न बनेको उक्त समितिले थप कारबाही गर्न सिफारिससहित प्रतिवेदन बुझाएको गृह मन्त्रालयले जाएको छ ।
मन्त्रालयको कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा गठित उक्त समितिले यसअघिको आयोगको सिफारिसलाई अध्ययन गरी थप सिफरिस गरेको हो । यसअघि पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले सुन तस्करी प्रकरणमा तत्कालीन सीआईबी नेतृत्वबाट गम्भीर त्रुटि भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रमुख एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरेको थियो । पूर्वन्यायाधीश आचार्य नेतृत्वको आयोगले चैत १ मा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । त्यसको आधारमा सीआईबीमा नयाँ टोलीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
प्रहरी नियमावली, २०७१ अनुसार सामान्य सजायमा शारीरिक परिश्रम हुने सजाय गर्ने वा नियन्त्रणमा राख्ने, नसिहत दिने, प्रतिकुल राय लेख्ने, बढीमा ५ वर्षसम्म बढुवा रोक्का गर्ने, बढीमा ५ तलब वृद्धि रोक्का गर्ने, बढीमा ५ वर्ष खाईपाई आएको तलव वृद्धि घटुवा गर्ने र तल्लो पदमा घटुवा गर्नेसम्मको व्यवस्था छ भने विशेष सजायमा भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा भविष्यमा अयोग्य ठहरिने गरी बर्खास्त गर्न सकिने उल्लेख छ ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको दक्षिणी क्षेत्रमा पर्ने चंखेली गाउँपालिका वडा नं. २ मा रहेको महादेव माध्यमिक विद्यालयले जिल्लाकै पहिलो पटक विद्यालय बस सञ्चालन गरेको छ ।
उक्त बस गाउँपालिकालाई भारतीय दूतावासले सहयोग गरेको हो । विद्यालय बस सञ्चालनमा आएपछि विद्यार्थीले पहिलो पटक घरबाट विद्यालयमा बस चढेका छन् । विद्यालय लेखापाल जिर्मण विक्रम शाहीका अनुसार आइतबारबाट बसले सेवा प्रदान गर्न थालेको छ ।
उनका अनुसार पहिलो दिन उक्त गाउँपालिका वडा १ को रिमी र बोहरा वडाबाट विद्यार्थीलाई बसले ओसारेको छ । जिल्लाका सात गाउँपालिकामध्ये विद्यालय बस सञ्चालन गर्ने पहिलो गाउँपालिका भएको छ ।
प्रत्येक विद्यार्थीले बस चढेबापत मासिक २ सय ५० रुपैयाँ भाडा तिर्नुपर्ने गाउँपालिका अध्यक्ष प्यारिलाल शाहीले बताए । अध्यक्ष शाहीका अनुसार बस चालकको पारिश्रमिक गाउँपालिकाले दिनेछ । त्यस्तै इन्धन, मर्मत खर्च भने विद्यालयले आफ्नो श्रोत र विद्यार्थीबाट उठाएको भाडाबाट गरिने छ ।
घरबाटै विद्यालयको बस चढेर जान पाउँदा विद्यार्थी खुसी भएका छन् । यसअघि विद्यालय जान विद्यार्थीलाई एकदेखि दुई घण्टा पैदल हिँड्ने गरेको भएपनि बस सञ्चालनमा आउँदा त्यो बाध्यता हटेको छ ।
बस काठमाडौंबाट गाउँपालिका पुगेपछि अध्यक्ष शाहीले बस विद्यालयलाई हस्तान्तरण गरेका थिए। अब बस सञ्चालन आएको र विस्तारै विद्यार्थी भएको प्रत्येक वडामा बस सञ्चालन गर्ने विद्यालय स्रोतले जनाएको छ ।
काठमाडौं : सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया शुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ ।
केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई विद्युतीय चुरोटको उपभोग गर्न नपाउने व्यवस्था कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २८ को उपदफा ४ मा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिकस्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेकाले सोही कार्यान्वयन गर्नका लागि पत्राचार गरिएको उनले बताए ।
केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा.भक्तबहादुर केसीले अर्थ र सञ्चारमन्त्रायले निर्देशिकामा भएको कुरालाई कार्यान्वयन गर्नसाथ विद्युतीय चुरोटको नेपालबाट प्रतिबन्ध हुने बताए । उनले कतिपयले चुरोटको सेवन छाड्नका लागि विद्युतीय चुरोटको सेवन गर्ने गरेको भन्दै चुरोट जतिकै विद्युतीय चुरोटले पनि स्वास्थ्यमा हानी गर्ने बताए । उनले सुर्ती सेवनको गेट–वेका रुपमा विद्युतीय चुरोट रहेकोसमेत बताए ।
विद्युतीय चुरोटले मानिसको मुटु र फोक्सोमा सिधैँ असर गर्नुको साथै मुख जल्ने जस्ता पनि समस्या गराउनुको साथै सेवन गरिरहेको मानिससँगै बसिरहेको अर्को मानिसलाई पनि यसले हानी गर्ने उनको भनाइ छ ।
नेपालमा विद्युतीय चुरोट विभिन्न फ्लेवरमा आउने गरेको छ । ब्लाकवेरी, ब्लुवेरी, मेलन, पाइनापल, गाभा, म्याङ्गो जस्ता फ्लेवरमा आउने गरेको छ ।
भन्सार विभागको तथ्याङ्कमा गत आर्थिक वर्षमा वार्षिक ३२ लाख २३ हजार छ सय ८७ थान विद्युतीय चुरोटका डिभाइस नेपाल आउने गरेको बताए ।
तीमध्ये ३१ लाख ७५ हजार आठ सय १५ थान ती विद्युतीय चुरोट चीनबाट मात्र आउने गरेको छ । यस्तै अमेरिकाबाट दुई लाख ६५ हजार ६४०, सयुक्त अरब इमिरेट्सबाट १२ हजार नौ सय ६७ थान आउने गरेका छन् । भारत, बेलायतलगायत देशबाट पनि विद्युतीय चुरोट आउने गरेको छ ।
केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा केसीका अनुसार नेपालमा वार्षिक रु ३२ अर्ब बराबरको विद्युतीय चुरोटको व्यापार हुने गरेको छ । उनले नेपालमा विगत पाँच वर्षमा दुई सय गुणाले आयात बढेको बताए । एउटा विद्युतीय चुरोट रु १० हजारदेखि १३ हजारसम्म पर्छ ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्नेे बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताए ।
“तपाईँहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ,” प्रधानमन्त्री दाहालले भने, “सरकारले लगातार कूटनीतिक पहल गरिरहेको छ, कूटनीतिक नोटमार्फत पहल लिइएको छ ।”
नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीहरूका परिवारको माग सम्बोधन गन आफू प्रतिबद्ध रहेको बताए ।
“उच्चस्तरको कूटनीतिक पहल हुन्छ, म आफैले थप पहल गर्छु,” प्रधानमन्त्री दाहालले भने । युद्ध मैदानमा रहेका नेपालीसँग आफूले फोनमा कुरा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरूको अवस्थाबारे कूटनीतिक च्यानलबाट निरन्तर छलफल भइरहेको जानकारी दिए ।
रुसी सेनामा कार्यरत नेपालीका परिवारले युद्धमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै काठमाडौंमा धर्ना दिएका थिए । प्रधानमन्त्री दाहालका जनसम्पर्क विज्ञ बुिद्ध जिसीले उनीहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै धर्ना स्थगित भएको थियो । सोही प्रतिबद्धताअनुसार आज प्रधानमन्त्री दाहालले ती परिवारका सदस्यलाई भेट उच्चस्तरीय पहल गरेर युद्धमा रहेका नेपाली स्वदेश फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
इसत्याक अहमद/मध्यान्ह
काठमाडौं : गृह मन्त्रालयले नेपाल हज समिति सदस्यमा २४ जनालाई नियुक्त गरेको छ । २६ सदस्यीय हज समितिमा एक अध्यक्ष र २५ जना सदस्य नियुक्त हुने प्रावधान रहेका छ ।
गृह मन्त्रालयले ढिलो गरी सदस्यहरु नियुक्त गरेको हो । नियुक्त हुने सदस्यहरूमा राबिया खातुन मियाँ (पाल्पा), सिकन्दर बख्श (तनहुँ), मोजिम्मिल मियाँ अन्सारी (सुनसरी), अलिम अहमद हलुवाई (बाँके), समिना मियाँ (चितवन), मो. मुर्तुजा मुसलमान (रूपन्देही), मों बिलाल खान (ललितपुर), जफर हुसेन (काठमाडौं), रोशन खातुन (रौतहट) र मो. अबुबक्र सिद्दिक उद्दीन मुस्लिम (काठमाडौं) रहेका छन् । त्यस्तै गयासुद्दीन ठकुराई (पर्सा), तैयब हुसेन मियाँ (सुनसरी), जबुल मियाँ (रूपन्देही), आसिफ शाह (काठमाडौं), राशिद मिर्जा (कपिलवस्तु), मुन्नी खातुन (तनहुँ), मो. आजम (मोरङ ), ज्याउल हसन (पर्सा), फैज अहमद खान (रूपन्देही), नेक मोहम्मद (चितवन), गुलाम सरवर (रौतहट ), इर्शाद अन्सारी (बारा), शायरा बानु (स्याङ्जा) र नुरुल होगा फकीर (बारा) पनि हज समिति सदस्यमा नियुक्त भएका छन् ।
हज समितिमा देशभरका १४ जिल्लाबाट सदस्य नियुक्त भएका हुन् । नवनियुक्त सदस्यहरूमा सर्वाधिक काठमाडौं र रूपन्देहीका ३-३ सदस्य रहेका छन् भने तनहुँ, सुनसरी, चितवन, रौतहट, पर्सा र बाराबाट २-२ जना सदस्य नियुक्त भएका छन् । बाँकी पाल्पा, स्याङ्जा, बाँके, ललितपुर, कपिलवस्तु र मोरङबाट १-१ जना सदस्य नियुक्त भएका छन् । अध्यक्षसहित २६ सदस्यीय समितिमा पाँच महिला र २० पुरुष नियुक्त भएका छन् । एक हप्ताअघि बसेको मन्त्रिपरिषद् बैठकले समितिकाे अध्यक्षमा पाल्पाका इस्रामुल्ला मियाँलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
समिति सदस्यको नियुक्तिपछि सोमबार बसेको समितिको बैठकले सदस्यहरूको कार्यविभाजन गर्ने जिम्मेवारी अध्यक्षलाई दिएको छ । गृह मन्त्रालयको सभा कक्षमा सम्पन्न समितिको पहिलो बैठक गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा भएको थियो । गृहमन्त्री लामिछानेले नवनियुक्त सदस्यहरूलाई विधिपूर्वक काम गरी हाजीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न निर्देशन दिँदै शुभकामना व्यक्त गरेका थिए ।
मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : नुवाकोटकी हरिमाया तामाङको सपना थियो, काठमाडौंमा जग्गा किन्ने र घर बनाउने । त्यही सपना पुरा गर्न श्रीमानले मलेसियामा १० वर्ष कमाएको रकम जग्गामा हाल्ने विचार गरिन् ।
उनले आफन्त र चिनजानबाट जग्गा बुझ्न खोजिन् । उनीसँग भएको पैसाअनुसारको भनेजस्तो कतै नभेटेपछि सामाजिक जग्गा खोज्न थालिन् । कोरोना महामारीपछि अधिकांश जग्गा कारोबारी सामाजिक सञ्जालमा भेटिने सुनेपछि खोज्न थालेकी हरिमायाले सजल क्षेत्र नाम बताउने एक ब्यक्ति भेटिन् । हरिमायाले सजलसँग कुरा गर्दा राम्रो, सस्तो जग्गा खोजिदिने र नपुगेको रकम ऋण पनि मिलाइदिने आश्वासन पाइन् । खुशी भएर सजलसँगै काम गरेकी हरिमायाले सजलले मिलाइदिएकोे ७ लाख ऋण तिर्न हम्मेहम्मे पर्यो । ऋण तिर्ने एक वर्षको भाका राखेकी हरिमायालाई ४ वर्षमा पनि ऋण घटाउन सकेकी छैनन् । ऋण घट्नुको सट्टा बढ्दै गएको छ । आजभोली उनलाई लाग्छ, ‘रहरले जोडेको माटो पनि जान्छ कि !’
हरिमायाको जस्तै कथा सिन्धुपाल्चोकका सन्तोष क्षेत्रीको पनि छ । कोरोना महामारीका बेला लामो समय उनी कामबिहिन भएर बस्नुप¥यो । पाँच वर्षभन्दा लामो समय विदेश बसेर पर्किएका सन्तोषसँग केही बचत थियो । उनलाई त्यो रकम जग्गा सस्तो भएको बेला लगानी गरे केही वर्षमा राम्रो कमाइ हुन्छ जस्तो लाग्यो । आफन्त साथीभाइसँग बुझ्दा त्यही सल्लाह पाए सन्तोषले । सामाजिक दुरी कायम गर्नुपर्ने सकेसम्म मानिसको भिडभाडमा जान नहुने अवस्थाको ख्याल गर्दै उनले सामाजिक सञ्जालबाटै जग्गा खोज्ने निर्णय गरे । फेसबुकमा खोज्दै जाँदा पवित्र केसी नामको एक व्यक्तिसँग सन्तोषको सम्पर्क भयो । पवित्रले सन्तोषलाई काभ्रेस्थलीमा जग्गा देखाए । सन्तोषलाई जग्गा मन पर्यो । तर, त्यसका लागि केही रकम अपुग भएको बताएपछि पवित्रले उनलाई सोही जग्गा धीतो राखेर अपुग रकम मिलाइदिने आश्वासन दिए । सन्तोषले अपुग रकम १० लाख पवित्रले भने बमोजिम लिए । तर, २०७७ सालमा दिएको १० लाख हरेक महिनाजसो तिर्दा पनि अहिले १४ लाख पुगिसकेको सन्तोष बताउँछन् ।
यी दुइ प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो दशकमा घरजग्गा कारोबार गराएर उच्च कमिसन लिने, अपुग रकम मिलाइदिने भन्दै योजनाबद्ध तरिकाले जग्गा नै हत्याउने र मिटरब्याजमा पैसा चलाउने कारोबारी सल्बलाउदा घरजग्गा कारोबार मिटरब्याजीको कब्जामा परेको छ । जग्गा किनबेच गर्नेहरूका अनुसार त्यस्ता कारोबारीले मिटरब्याजमा रकम दिने र एउटा कारोबार बापत ५ देखि १० प्रतिशत रकम कमिसनका लिने रूपमा लिने गरेका छन् ।
कारोबार कम्पनीमार्फत गफ मात्रै !
पछिल्लो एकदशकमा अधिकांशको लगानी घरजग्गामा थुप्रियो । व्यक्तिगत मात्रै होइन, बैंक तथा वित्तीय क्षेत्रकोलगानीको ठूलो हिस्सा घरजग्गा क्षेत्रमा गयो । यसकै परिणाम कोरोना महामारीपछि घर जग्गा क्षेत्रमा पनि निकै कम कारोबार हुँदा अधिकांश रकम उतै फस्यो । यसरी घरजग्गाको ब्यापार घटेका बेला वयक्तिगत रूपमा काम गर्ने दलालहरू सल्बलाएका हुन् ।
सरकारले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा घरजग्गा कारोबारलाई व्यवस्थित गर्ने घोषणा गरेका थियो । तर, व्यक्ति कारोबारीको ‘कब्जा’मा रहेको घरजग्गा कारोबार राज्यको दायरामा ल्याउन सरकार असफलजस्तै भएको छ । घरजग्गाको कारोबार संलग्नहरूमध्ये अधिकांश सरकारी कर्मचारी, राजनीति गर्नेहरू छन् । उनिहरूले नै कम्पनीमार्फत कारोबार हुन नदिने अनेक प्रपन्च गर्ने गरेको अधिकारी बताउँछन् । ‘कम्पनीमार्फत कारोबार हुने भन्ने विषयमा त सम्बन्धित मन्त्रालय र मातहतका कर्मचारी नै असहमत हुन्छन्।’ भूमी व्यवस्था मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘यो ओपन सेक्रेट हो । कर्मचारीलाइ घरजग्गा कारोबारबारे राम्रो सँग थाहा हुन्छ । यसका लुपहोल’बारे यही क्षेत्रमा काम गरेकाहरू बुझ्न । अनि राजनीतिक दलका प्रतिनिधिको पनि कमाइको हिस्स यही हुन्छ । अनि कसरी यो क्षेत्र व्यवस्थित हुन्छ ।’
ती अधिकारी थप्छन्, ‘मिटरब्याजी सल्बलाएको, वास्तविक कारोबारभन्दा सरकारी रेकर्ड निकै कम भएको त सबैलाई थाहा छ नि । यसमा कोही बोल्नै सक्दैनन् किन कि त्यसमा उनीहरूको सहभागिता हुन्छ ।’ स्रोतकाअनुसार घरजग्गा कारोबार विभिन्न दलमा आवद्ध नेताहरूको पनि पर्याप्त लगानी रहेको छ । काठमाडौं कुनाकाप्चाका कयौं स्थानमा उनिहरूले ठूल्ठूला डाँडा नै किन्ने र प्लटिङ गरेर बेच्ने कारोबार नै गरिरहेका थिए । शहरी क्षेत्रमा भइरहेको बढ्दो बसाइँसराईका कारण घरजग्गाको माग बढे पनि राज्यको नियन्त्रणमा नहुँदा अवस्था डरलाग्दो भएको शहरी विकासविज्ञ दीपक श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘घरजग्गा क्षेत्रमा भाऊ डरलाग्दो तरिकाले बढिरहेको छ । तर, राज्यको नियन्त्रण र नियममा छैन । सबैभन्दा व्यस्थित हुनुपर्ने क्षेत्र सबैभन्दा अनौपचारि र डरलाग्दो भएको छ । यो खतरनाक छ ।’ मूल्य नियन्त्रण गर्न स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्ने बताउँदै न्युनतम तोकिएको स्थानमा अधिकतम पनि मूल्य पनि तोक्नुपर्छ ।
सरकारले देशभरको जग्गाको न्यूनतम मूल्याङ्कन तोकिदिने तर क्रेता–विक्रेताले त्यसभन्दा निकै बढी मूल्यमा कारोबार गर्ने गरिरहेका छन् । यो अवस्थाले एकातिर राजस्व चुहावट हुने र अर्कोरित वास्तविक कारोबारसमेत थाहा हुँदैन । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ९ महिनामा देशभर ३ लाख ७६ हजार घरजग्गा लिखत पास भएको छ ।
तर, पास भएकोमध्ये २५ प्रतिशतभन्दा बढी जग्गा दुइपटकभन्दा बढी भएको मातपोतका अधिकारी नै बताउँछन् ।
दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : आगलागीमा परी सोमबार एकै सदन चार जनाको मृत्यु भएको छ । ओखलढुंगामा डढेलोको आगोमा जलेर सिद्धिचरण नगरपालिका १० बेतेनीमा आमाछोराको मृत्यु भएको छ ।
सोमबार समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै मृत्यु भएको हो ।
बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा आमा र छोरा दुवैका जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
यता, ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा घाइते भएका एकै परिवारका ५ सदस्यमध्ये दुई बालिकाको मृत्यु भएको छ ।
आगलागीमा जलेर घाइते भएका ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको सोमबार साँझ मृत्यु भएको हो ।
आइतबार ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित मोबिल स्टोर गर्ने कोठामा आगलागी हुँदा सञ्जय गिरीको परिवारका ५ सदस्य गम्भीर घाइते भएका थिए । उनीहरुमध्ये दुई छोरीको सोमबार मृत्यु भएको हो ।
घरमुली ३५ वर्षका सञ्जय गिरी र उनकी पत्नी ३२ वर्षकी रुपा गिरीको किस्ट अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । सञ्जयलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार सञ्जय र रुपाको अवस्था जटिल रहेको छ । आगलागीमा उनीहरुसँगै जलेर घाइते भएका भतिज १५ वर्षका नित गिरीको अवस्था भने सामान्य छ । उनलाई जनरल वार्डमा सारेर उपचार गरिएको अस्पतालले जनाएको छ ।
प्रहरीका अनुसार लामो हिउँदे खडेरीका कारण पछिल्लो समय आगलागीका घटना देशभर बढेसँगै ओखलढुंगा र ललितपुरको जस्तो दृृष्य अन्यत्र पनि देखिएका छन् । खेतबारीमा आगो लाउँदा झाडी सफा हुने मनोविज्ञानले समेत आगलागीका घटना बढाउनमा भूमिका खेलेको प्रहरीको भनाई रहेको छ ।
देशभरका आगलागी पीडितलाई तत्काल १५ हजार दिइने
सरकारले आगलागी पीडितलाई तत्काल १५ देखि २० हजार दिने भएको छ । आगलागीमा परेर पूर्ण रुपमा आवासमा क्षेति भएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार दिने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।
गृहमन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार डढेलेबाट पीडित भएका नागरिकलाई तत्कालै विवरण लिएर १५ देखि २० हजार दिने नीति छ । यसअनुसार कतिपय जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुले विवरण संकलन गरेर पीडित परिवारलाई १५ देखि २० हजार उपलब्ध गराउने कार्य गरिरहेका छन् ।
साथै, अस्थायी आवासका लागि ५० हजार दिने गरी कार्यविधि निमाणको काम चलिरहेको छ । ‘अस्थायी वासस्थानका लागि कार्यविधि र नियमावली संशोधन गरेर ५० हजार दिने भन्ने विषयमा मन्त्रिपरिषदमा छलफल भइराखेको छ । यो हिसावमा हामी कार्यविधिलकई संशोधन गरेर अगाडि बढेका छौं’ गृहसचिव अर्यालले भनेका छन् ।
सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँची जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई योगा सिकाइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा मानसिक स्वास्थ्य प्रवद्र्धन गराउने उद्देश्यले जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई योग, ध्यान कार्यक्रम सञ्चालन गरिएको हो ।
योग शिक्षाले व्यक्ति वा समाजमा सकारात्मक प्रभाव पारेको विभिन्न अनुसन्धानबाट पुष्टि भएका छन् । विश्व परिवेशमा बदलिँदो जीवनशैली, रहन सहन तथा खानपानका कारण नसर्ने रोग विशेष गरी मानसिक स्वास्थ्य सम्बन्धी जोखिम पाइन्छ ।
कार्यक्रममा योगको परिचय, उद्देश्य, महत्व, योग गर्दा अपनाउनुपर्ने सावधानी, योगका नियम विषयमा प्रकाश पारिएको थियो । जसमा अष्टाङ्गयोग, ध्यान, प्रणायामका विभिन्न विधिहरु, प्रज्ञा योग तथा योग ध्यान गर्ने व्यक्तिको मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक परिवर्तनको बारेमा जानकारीसहित प्रयोगात्मक अभ्यासहरु गराइएको थियो ।
कार्यक्रम आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका महिला सदस्य कमला खनाल भण्डारीको अध्यक्षता, जिल्ला कारागार कार्यालयका कारागार प्रशासक दुर्गा न्यौपानेको आथित्यता तथा कारागार सुरक्षा प्रमुख होम बहादुर वि.क. एवं पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक कुमार खनालको आथित्यतामा सञ्चालन गरिएको थियो ।
कार्यक्रममा योग, ध्यान, आशनको प्रयोगात्मक अभ्यास योग गुरु पुष्पा भुसालले गरेकी थिइन् । कार्यक्रमको सहजीकरण स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख कमल प्रसाद आचार्य तथा स्वास्थ्य केन्द्रका ल्याव–टेक्निसियन सुवास शाही तथा कर्मचारी निराजन पौडेलले गरेका थिए । सो कार्यक्रममा कारागारका करिब ८० जना कैदीबन्दीहरुको सहभागीता रहेको थियो । कार्यक्रम ३ दिनसम्म सञ्चालन रहने योग गुरु अशोक खनालले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies