दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : आगलागीमा परी सोमबार एकै सदन चार जनाको मृत्यु भएको छ । ओखलढुंगामा डढेलोको आगोमा जलेर सिद्धिचरण नगरपालिका १० बेतेनीमा आमाछोराको मृत्यु भएको छ ।
सोमबार समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै मृत्यु भएको हो ।
बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा आमा र छोरा दुवैका जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
यता, ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा घाइते भएका एकै परिवारका ५ सदस्यमध्ये दुई बालिकाको मृत्यु भएको छ ।
आगलागीमा जलेर घाइते भएका ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको सोमबार साँझ मृत्यु भएको हो ।
आइतबार ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित मोबिल स्टोर गर्ने कोठामा आगलागी हुँदा सञ्जय गिरीको परिवारका ५ सदस्य गम्भीर घाइते भएका थिए । उनीहरुमध्ये दुई छोरीको सोमबार मृत्यु भएको हो ।
घरमुली ३५ वर्षका सञ्जय गिरी र उनकी पत्नी ३२ वर्षकी रुपा गिरीको किस्ट अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । सञ्जयलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार सञ्जय र रुपाको अवस्था जटिल रहेको छ । आगलागीमा उनीहरुसँगै जलेर घाइते भएका भतिज १५ वर्षका नित गिरीको अवस्था भने सामान्य छ । उनलाई जनरल वार्डमा सारेर उपचार गरिएको अस्पतालले जनाएको छ ।
प्रहरीका अनुसार लामो हिउँदे खडेरीका कारण पछिल्लो समय आगलागीका घटना देशभर बढेसँगै ओखलढुंगा र ललितपुरको जस्तो दृृष्य अन्यत्र पनि देखिएका छन् । खेतबारीमा आगो लाउँदा झाडी सफा हुने मनोविज्ञानले समेत आगलागीका घटना बढाउनमा भूमिका खेलेको प्रहरीको भनाई रहेको छ ।
देशभरका आगलागी पीडितलाई तत्काल १५ हजार दिइने
सरकारले आगलागी पीडितलाई तत्काल १५ देखि २० हजार दिने भएको छ । आगलागीमा परेर पूर्ण रुपमा आवासमा क्षेति भएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार दिने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।
गृहमन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार डढेलेबाट पीडित भएका नागरिकलाई तत्कालै विवरण लिएर १५ देखि २० हजार दिने नीति छ । यसअनुसार कतिपय जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुले विवरण संकलन गरेर पीडित परिवारलाई १५ देखि २० हजार उपलब्ध गराउने कार्य गरिरहेका छन् ।
साथै, अस्थायी आवासका लागि ५० हजार दिने गरी कार्यविधि निमाणको काम चलिरहेको छ । ‘अस्थायी वासस्थानका लागि कार्यविधि र नियमावली संशोधन गरेर ५० हजार दिने भन्ने विषयमा मन्त्रिपरिषदमा छलफल भइराखेको छ । यो हिसावमा हामी कार्यविधिलकई संशोधन गरेर अगाडि बढेका छौं’ गृहसचिव अर्यालले भनेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies