पुर्ण कुमार/मध्यान्ह
डोल्पा : हिमाली जिल्ला डोल्पाको छलगाड खोलामा निर्माण हुन लागेको पक्की पुल निर्माणको लागि संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदनको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।
भेरी करिडोर अन्तर्गत डोल्पा–जाजरकोट सडक खण्डमा पर्ने त्रिपुरासुन्दरी नगरपालिका १ को छलगाड खोलामा पक्की पुल निर्माण सम्बन्धी संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदनको सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको हो ।
वातावरण संरक्षण ऐन २०७६ को दफा ३ को उप दफा (३) र वातावरण संरक्षण नियमावली २०७७ को नियम ६ बमोजिम आयोजना क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणालीमा पार्न सक्ने प्रभावहरुको बारेमा सरोकारवाला व्यक्ति र संघ संस्थाहरुसँग सामुहिक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी राय र सुझाव संकलन गर्नुपर्ने कानूनी प्रावधान अनुसार उक्त पुल निर्माणको विषयमा संक्षिप्त वातावरणीय प्रदिवेदनको विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकाया, प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहाल, त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाया, जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरीकृष्ण केसी, जिल्लास्थित राजनीतिक दलका पार्टी प्रतिनिधि, त्रिपुराकोटका स्थानीयको उपस्थितिमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको सडक विभागका वातावरण विद् चिरञ्जीवी काफ्लेले बताए ।
काफ्लेका अनुसार समुन्द्री सतहबाट १९७५.३३ मिटर उचाइमा बन्ने छलगाड खोलामा ४० मि. लम्बाइ र ११ मी. चौडाइ भएको पक्की पुल निर्माण बन्ने छ । पुल बनेको स्थानको दायाँतर्फ ७२.५ मिटर र बायाँतर्फ ७२.५ मिटर गरेर कुल १४५ मिटर कालोपत्रे समेत गरिनेछ ।
नाली बाहेक पहुँच सडकको विस्तार ११ मि. को हुनेछ । जसमा ७.५ मिटरको कालोपत्रे र सडकको दायाँ-बायाँ १.७५,१.७५ मिटरको सोल्डर हुनेछ । पहुँच सडकको लागि आवश्यक नाली तथा पहुँच सडकभित्र पर्ने अन्य भौतिक संरचनाहरु जस्तै, बिजुलीको पोल, सिँचाइ कुलो, मठ मन्दिर आदिको विस्तृत विवरण समेत संक्षिप्त वातावरणीय प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पक्की पुल निर्माणको क्रममा हुने समस्या र तीनको समाधानको विषयमा समेत छलफल गरिएको छ । पुल निर्माण तोकेकै समयमा सक्ने गरी काम गर्न उपस्थित सरोकारवाला निकायको भनाइ थियो । तल्लुबगर र रूपगाड खोलामा निर्माणाधीन बेलिब्रिज जसरी अलपत्र पारेर पुल निर्माणको काम नरोक्न समेत ध्यानाकर्षण गरिएको थियो ।
उपस्थित स्थानीयले पुल निर्माणको बेला हुने कामकाजमा यहाँको स्थानीयको सहभागीता हुनुपर्ने माग गरेका थिए । छलगाड खोलामा निर्माण हुन लागेको पक्की पुल बन्ने स्थान शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने भएपनि पुल निर्माणमा निकुञ्जले अवरोध नगर्ने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख रोकायले डोल्पाकै प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल श्री बाला त्रिपुरासुन्दरी मन्दिरको जगमै पक्की पुल बन्न लागेकोले यसमा उचित ध्यानका साथ काम गर्न र कामलाई तीव्र गतिमा अघि बढाउन आग्रह गरे ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी दाहालले पुल निर्माणको क्रममा आउने विभिन्न समस्याहरुलाई समाधान गर्न जिल्ला प्रशासन कार्यालय हरदम तयार रहेको बताए । पुल भनेकै समयमा काम सम्पन्न गर्न समेत सुझाव दिए ।
त्रिदेशीय मार्ग(चीन–नेपाल–भारत) जोड्ने सबै भन्दा नजिकको राजमार्गभित्र पर्ने यो महत्वपूर्ण पुल समेत हो । यो खोलामाथि पुल निर्माण नहुँदा अहिले बर्खाको समयमा डोल्पाबासीले निकै महंगी मारमा पर्ने गरेका छन् ।
ठेक्का पाएको मितिले ४२ महिनाभित्र पुल निर्माणको कार्य सक्ने गरेर तीन वटा पुलको कुल ३६ करोड २४ लाख ८६ हजार ७ सय रुपैयाँमा वाइपी, एमआर जेवि भरतपुर चितवनले लिएको छ ।
निर्माण कम्पनीले भेरी करिडोर अन्तर्गत डोल्पा – जाजरकोट सडकखण्डमा पर्ने तीन ठाउँमा पुल निर्माणको जिम्मा लिएको छ ।
जाजरकोटको नलगाड नगरपालिका १२ को तल्लुबगरस्थित भेरी नदी, डोल्पा त्रिपुरासुन्दरी ०५ को खदाङ्गस्थित भेरी नदी र छलगाड खोलामा निर्माण हुने पक्की पुल निर्माणको जिम्मा लिएको छ । जसमध्ये तल्लुबगरमा पक्की पुल निर्माण कार्य शुरु भइसकेको छ भने बाँकी २ ठाउँको पुल निर्माण कार्य केही महिनामा शुरु हुने निर्माण कम्पनीका इन्जिनियर प्रदीप शर्माले बताए ।
काठमाडौं : ललितपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण (स्क्रिनिव) सेवा शुरु गरेको छ । गत वर्षदेखि नै आफ्नै साधन स्रोत परिचालन गरी ३० देखि ६० वर्ष उमेर समूहका १३०० महिलाहरुको एचभीपी डिएनए विधिबाट ८ वटा वडाहरुमा प्रारम्भिक परीक्षण तथा उपचारको पहल गर्दै आएको ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ मा थप २९ वटै वडाहरुमा यो सेवा प्रदान गर्न शुरु गरेको हो ।
जनचेतना र स्क्रिनिवका साथसाथै उपचार गर्नुपर्ने अवस्थाका महिलाहरुलाई नेपाल क्यान्सर केयर फाउण्डेशनको प्राविधिक सहयोगमा महानगरपालिकाले निःशुल्क उपचार सेवा समेत प्रदान गर्ने भएको छ । पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण तथा उपचार सबैको पहुँचमा पुर्याइ जनचेतना बढाउने उद्देश्यले यो योजनाको शुरुवात गरिएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए ।
ललितपुर महानगरपालिकामा गरिने पाठेघर मुखको क्यान्सरको प्रारम्भिक परीक्षण एचपीभी डिएनए प्रविधिबाट हुनेछ । नेपाल क्यान्सर केयर फाउण्डेशनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा.सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण (स्क्रिनिव) गर्नका लागि संसार भरिमै हाल उपलब्ध विभिन्न विधिहरु जस्तै प्याप स्मियर, भिआइए भन्दा एचपिभी डिएनए विधि सबैभन्दा प्रभावकारी विधि हो । नेपाल क्यान्सर केयर फाउण्डेशनको आकँडा अनुसार महिलाहरुमा हुने क्यान्सरमध्ये स्तन र पाठेघरको क्यान्सर सबैभन्दा बढी मात्रामा देखिएको र पाठेघरको क्यान्सरबाट पूर्ण रुपले बच्न सकिने तथा स्तन क्यान्सरको प्रारम्भिक चरणमै थाहा पाउन सकिने भएको हुनाले यी जाँचहरु नियमित रुपमा गर्नुपर्ने आवश्यकता रहेको डा.घिमिरेले बताए ।
सन् २०३० सम्म ३० वर्षमाथिका महिलाहरुमध्ये ९० प्रतिशतको पाठेघरको मुखको क्यान्सरको ‘स्क्रिनिव’ गर्ने दिगो विकाश लक्ष्य प्राप्तिका लागि र विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार नेपाल सरकारले आ.व २०८०/२०८१ मा कोशी, मधेश, बागमती र लुम्बिनीका ८ वटा जिल्लाका १४ स्थानीय तहबाट एचपीभी डिएनए विधिबाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिव सेवा पाइलट प्राजेक्टको रुपमा शुरुवात गरिसकेको छ । नेपाल सरकारले आगामी आर्थिक वर्षमा सातै प्रदेशमा यो सेवा विस्तार गर्ने योजना बनाएको छ ।
यद्यपी, एसपीभी डिएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिव सेवा लागू नभएका स्थानीय तहहरुमा भिआइए विधिबाट नै नियमित रुपमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिव गरिने जनाएको छ । सरकारले यसै वर्षको अन्त्यसम्ममा ४५ हजार भन्दा बढी महिलाहरुको एचपीभी डिएनए विधिबाट स्क्रिनिव गर्ने लक्ष्य लिएको छ भने आगामी वर्षमा स्क्रिनिव सेवालाई बढाउँदै लैजाने योजना बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक कुमार लालले बताए ।
लालबाबु बानिया/मध्यान्ह
पर्सा : पर्साको धोबिनी गाउँपालिका वडा नं ३ हरिहरपुरमा बुधबार आगलगी हुँदा पाँच वटा फुसको घर जलेर नष्ट भएको छ । स्थानीय योगेन्द्र साह कानुको घरबाट सल्केको आगोले उनको सहित पाँच घर जलेर नष्ट भएको हो ।
आगलागीबाट लक्ष्मी साह कानु, भरत साह कानु, हरिन्द्र साह कानु र सेठ साह कानुको घर पनि जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरीक्षक तोजेन्द्र बिसीले जानकारी दिए ।
आगलागीबाट स्थानीय सेठ साह बेहोस भएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलगीबाट घरमा रहेका फर्निचर, अन्नबाली, लत्ताकपडा, गरगहना तथा घरमा राखिएको सखुवाका काठ जलेर नष्ट हुँदा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
हवाहुरीका कारण आगलागी नियन्त्रणमा लिन समस्या भएको थियो । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र पोखरिया नगपालिकबाट आएको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
रुपन्देही : रुपन्देहीमा डढेलो निभाउन गएको दमकल नै डढेलोमा परी जलेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल आगो निभाउने क्रममा जलेर क्षतिग्रस्त भएको हो । नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकलमा आगलागी भएको हो ।
आगलागीबाट दमकलको इन्जिनसहितका भाग जलेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
महोत्तरी : महोत्तरीको मटिहानी नगरपालिका-६ मा भीषण आगलागी भएको छ ।
मटिहानी नगरपालिका-६ स्थित जर्लाहावा गाछी टोलमा बुधबार बिहान ११ बजेदेखि लागेको आगो अझै पूर्णरुपमा निण्न्त्रणमा आएको छैन ।
गाउँको करिब १ सय घरमा आगो सल्किएको र अहिले पनि झन्डै ५० घरमा आगलागी भइरहेको बताइएको छ ।
आगलागी नियन्त्रणमा लिनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारीलगायतले प्रयास गरिरहेको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताए ।
आगलागीबाट ५१ वटा घर पुर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी नकुल पोखरेलले बताए । अन्य घरमा समेत आंशिक क्षति भएको उनको भनाइ छ ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : बालयौन दुर्व्यवहारको आरोप लागेका नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाही प्रहरीमा हाजिर भएका छन् । शाहीले पटक–पटक यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै १७ वर्षीया एक बालिकाले उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी परेपछि शाहीविरुद्ध गत आसोज २४ गते जिल्ला अदालत जुम्लाले पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएपछि फरार रहेका शाही एक साताअघि नै जुम्ला आएर लुकीछिपी बसेको बुझिएको छ । आगामी वैशाख १५ र १६ गते हुन लागेको ऐमालेको जिल्ला अधिवेशनका लागि शाही जुम्ला आएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी छेदीलाल कामतीका अनुसार शही आफैं प्रहरीमा हाजिर हुन आएका हुन् । उनले भने, ‘हामी खोज्दै थियौँ, उनी प्रहरीको कार्यालयमा आफैं हाजिर गर्न भन्दै आएका हुन् ।' उनका अनुसार शाहीलाई अहिले हिरासतमा राखेर अनुसन्धान कार्य अगाडि बढाइएको छ ।
शाहीले तातोपानीकी एक आफन्त भतिजी नाता पर्ने किशोरीलाई यौन क्रियाकलापका लागि प्रस्ताव गरेको, फकाएको र प्रलोभनमा पार्ने गरी फोन गरेको अडियो सार्वजनिक भएको थियो ।
पीडित किशोरीका बुबाले बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दर्ता गराएका थिए । शाहीले किशोरीलाई प्रवेश परीक्षामा नाम निकालिदिने, पढाइदिने, ट्युसन खर्च आफैं व्यहोर्ने र बदलामा संवेदनशील अंगको फोटो पठाउनुपर्ने र यौनसम्बन्ध राख्न दिनुपर्ने प्रस्ताव गरेको अडियो रेकर्ड सार्वजनिक भएको थियो ।
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो । ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले गर्मी बढेसँगै तराईमा तातो हावा चलेर ‘लू’ लाग्ने गरेको बताए । उनले धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका बेला दिउँसो घर बाहिर ननिस्कन आग्रह गरे । “धेरै तातो हावा चल्यो भने मस्तिष्कलाई असर गर्दछ, मानिसलाई बेचैन बनाउने गर्दछ”, उनले भने, “शरीरमा पानीको मात्रा कम हुँदा मिर्गौला र मुटमासमेत असर गर्दछ ।”
बच्न के गर्ने
लूबाट बच्न धेरै पानी पिउने, चिसो पानीले नुहाउने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको छोप्ने, हल्का खालको शीतल हुने कपडा लगाउनु पर्दछ । घर बाहिरको काम बिहान वा बेलुका मात्र गर्ने, कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउने, फलफूल, काँक्रोजस्ता ताजा खानेकुरा खाने गर्नुपर्दछ ।
गर्नु नहुने कार्य
दिउँसो सकभर घर बाहिर ननिस्कने, भान्सामा धेरै समय नबस्ने, बस्नै परेमा प्रशस्त्र मात्रामा पानी पिउने, धुम्रपान तथा मदिरा सेवन नगर्ने, क्याफिनले धेरै पिसाब आउने हुँदा चिया, कफी, सोडा जस्तो पेयपदार्थ नपिउन आग्रह गरिएको छ ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँची ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले धारापानीका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ साविक ढाकावाङ्ग गाविसबाट विभिन्न सिलसिलामा रुपन्देहीमा बसोबास गर्दै आएकाहरु आबद्ध उक्त समाजले धारापानीका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको हो ।
बुधबार संस्थाका सहसचिव टेकराज भुसालले वडा समिति र सर्वपक्षीय बैठकबाट गठन भएको विपद् आर्थिक कार्यसमितिको नाममा रहेको खातामा जम्मा गर्ने गरी १० हजार रुपैयाँको चेक भूमिकास्थान नगरपालिका वडा नम्बर ३ काे वडा कार्यालयमै पुगेर वडाध्यक्ष कृष्णप्रसाद बन्जाडेलाई हस्तान्तरण गरेका छन् ।
चेक हस्तान्तरण गर्दै संस्थाका सहसचिव भुसालले संस्था भर्खरै स्थापना भएकाले थोरै भएपनि पीडितलाई राहत हाेस् भनि आर्थिक सहयोग उपलब्ध गराएको बताए ।
त्यस्तै वडाध्यक्ष बन्जाडेले विभिन्न सरकारी, गैरसरकारी संघसंस्था तथा व्यक्तिहरुबाट संकलित राहत एकद्वार प्रणालीमार्फत सबैपक्षको समन्वयमा वडा समितिमार्फत न्यायाेचितरुपमा पीडितहरुलाई हस्तान्तरण गरिने जानकारी दिए ।
वैशाख ८ गते भूमिकास्थान-३ काे रातमाटा जंगलबाट लागेकाे आगाे रातमाटा, जाबुनडाँडा, बाजाखर्क र भूमिकास्थान -४ काे फलामखिल्लीलगायतका बस्तीमा सल्किँदा ३० घर/ गाेठ जलेर नष्ट भएका थिए । तीमध्ये १२ घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् ।
काठमाडौं : कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी आज दिउँसो स्वदेश फर्किएका हुन् ।
उनलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि विमानस्थल पुगेका थिए ।
राष्ट्रपति पौडेलको औपचारिक निमन्त्रणामा थानी राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आएका थिए ।
गोरखा : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ ।
विसं २०७२ वैशाख १२ गते गएको सात दशमलव आठ रेक्टरस्केलको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । मंगलबार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको उनले बताए ।
त्यसअवसरमा बारपाकस्थित हिमालय माध्यामिक विद्यालयको खेल मैदानमा आज विशेष श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो । गोरखा भूकम्पमा परी देशभर आठ हजार नौ ७९ जनाको ज्यान गएको थियो भने गोरखा जिल्लामा मात्रै चार सय ७१ जनाको मृत्यु भएको थियो ।
त्यसमध्ये बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा २२ हजार तीन सय नौ जना घाइते भएका थिए । भूकम्पले गोरखासहित १४ जिल्ला अतिप्रभावित र ३१ जिल्लामा क्षति पुर्याएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies