ताप्लेजुङः फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेम्बा शेर्पा विगत नौ वर्षअगाडि योजना सम्झांता गर्न चार दिन हिँडेर सदरमुकाम पुग्थे । उनलाई योजना सम्झौता गरेर गाउँ पुग्न करिब ११ दिन समय खर्च गर्नुपर्थ्यो । अहिले शेर्पाले कुनै योजना सम्झौता गर्न तीन दिनमा काम सकेर घर पुग्छन् ।
सङ्घीय संरचनामा गएसँगै फक्ताङलुङ गाउँपालिकाको केन्द्र शेर्पाको गाउँ नजिकै स्थापना भएपछि प्रायःजसो उनलाई अहिले सदरमुकाम फुङ्लिङ थाउनु परेको छैन । अहिले पनि घुन्सा गाउँदेखि वडा कार्यालय पुग्न एक दिन पूरै लाग्छ । शेर्पाले भने, ‘गाउँपालिका आएपछि केही सहज भएको छ, अगाडि योजना सम्झौता गर्न दुई साता लाग्थ्यो, अहिले तिनमा दिन हुन्छ, तर कहिले काही कर्मचारीहरुले काम गरि दिँदैनन् अलिक दिन बस्नुपर्ने हुन्छ ।’
शेर्पाका अनुसार घुन्सा गाउँमा ५० घरपरिवार, फले टारमा ४० घर, ग्याप्लामा १२ घर र थाङकेम छ घरपरिवारका लागि छुट्टै वडा बनाएमा अझ सङ्घीयताको अनुभूति हुने शेर्पाले बताए । फक्ताङलुङ–१ का वडाध्यक्ष यज्ञप्रसाद लिम्बूका अनुसार सात वडा मिलेर फक्ताङलुङ गाउँपालिका बनेको छ । घुन्सा क्षेत्रका गाउँहरु समेटेर छुट्टै वडा बनाउनका लागि कार्यपालिकामा पहिलो कार्यकालमै प्रस्ताव आएको थियो । अहिलेसम्म त्यो प्रस्ताव विचाराधीन छ ।
मेरिङदेन गाउँपालिकाकी विपना लिम्बू सदरमुकाम नआएको वर्षदिन भयो । उनको घर नजिकै गाउँपालिका केन्द्र स्थापना भएको छ । आर्थिक कारोबार गर्नका लागि पनि गाउँपालिकामै बैंक खुलेपछि अझ सदरमुकाम जानुपर्ने खासै काम नभएको लिम्बूले बताइन् । सिदिङवा गाउँपालिका–४ की फुलमाया लिम्बूले पढाइ सकेसँगै आफ्नै गाउँ नजिकै रहेको गाउँपालिकामा रोजगारीको अवसर पाइन् । आफ्नो पढाइअनुसारको गाउँमा नै रोजगारी पाउँदा निकै खुसी लागेको लिम्बूले बताइन् ।
गाउँमा पालिका केन्द्र स्थापना भएसँगै अहिले पालिका नजिक बजार विस्तार हुँदै गएका छन् । ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि प्रत्येक पालिका केन्द्रसम्म यातायातका साधन (गाडी) चल्दै आएका छन् । गाउँपालिका स्थापना भएसँगै गाउँगाउँमा विकासले गति लिन थालेको सिरिजङ्घा गाउँपालिका–६ का हर्क लिम्बूले बताए ।
ताप्लेजुङमा एक नगरपालिकासहित नौ स्थानीय तह रहेका छन् । जिल्लामा अहिले ६१ वडा कार्यालय रहेका छन् । सदरमुकामदेखि सबै वडासम्म यातायात सहजै पुगेकाले पनि नागरिकहरुलाई सङ्घीयताको अनुभूति गर्न पाएको लिम्बूले बताए ।
विगतका वर्षहरुमा दुर्गम बस्तीहरुमा उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने हुन्थ्यो । धेरैको उपचार गर्न अस्पतालसम्म बोकेर लैजानुपर्ने हुन्थ्यो । अस्पताल लैजाँदा लैजाँदै धेरैले अस्पताल नपुगी बीच बाटो ज्यान गुमाउनुपर्ने बाध्यता थियो । स्थानीय सरकार आएसँगै प्रत्येक टोलमा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना भई नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।
स्वास्थ्य चौकीबाट अन्य अस्पतालसम्म बिरामी लैजानका लागि प्रत्येक गाउँपालिकाहरुले आफ्नै स्वामित्वमा एम्बुलेन्स सञ्चालन गर्दै आएका छन् । फक्ताङलुङ गाउँपालिकाले नागरिकहरुलाई जिल्लाभित्र निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताए । अन्य गाउँपालिकाहरुले पनि महिला, विपन्न परिवार, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएका छन् ।
स्थानीय सरकार आएसँगै गाउँ–गाउँमा सञ्चालनमा रहेका समुदायिक विद्यालयहरुको शिक्षण सिकाइको गुणस्तरमा समेत सुधार हुँदै गएको मिक्वाखोला गाउँपालिका–५ का सुखबहादुर लिम्बूले बताए । शिक्षाको गुणस्तरमा सुधार आएसँगै गाउँका विद्यालयहरुमा विद्यार्थीहरुको चाप बढ्दै गएको लिम्बूले बताए । प्रत्येक पालिकाहरुले आफ्नै शिक्षा ऐन बनाएर कार्यान्वयनको चरणमा रहेको छ ।
संविधानले परिकल्पना गरेअनरुप तीन सरकार सञ्चालनमा रहेका छन् । नागरिकहरुको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । हरेक नागरिकहरुका समस्यामा स्थानीय सरकार उपस्थित रहेको हुन्छ ।
सञ्चारकर्मी सीताराम गरागाइँका अनुसार संविधान बनेपछि खासगरी समावेशीकरणको मुद्दामा धेरै प्रगति भएको छ । राज्यको मूलधारमा आउन नसकेका वर्ग र समुदायलाई मूलधारमा ल्याउन हाम्रो संविधानमा प्रशस्त व्यवस्था गरेको उनको बुझाइ छ । यसबाट शासन प्रणालीका विभिन्न अङ्गमा महिला, आदिवासी, जनजाति, दलित, मधेसीलगायत पछाडि पारिएका समुदायका व्यक्तिको प्रतिनिधित्व बढेको गुरागाइँले बताए ।
‘संविधान नेपाली जनताले आफ्ना अधिकारका लागि आजसम्म गरेका सबै सङ्घर्षहरुको निष्कर्ष र एकमुष्ट उपलब्धि हो, यसमा उल्लिखित सबै धारा र उपधाराहरु बलिदानका स्वर्णिम अक्षरहरुले लेखिएका छन्, यसले नयाँ नेपालको मार्गचित्र तयार गरेको छ’, मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले भने, ‘गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, शासन सञ्चालनमा समानुपातिक सहभागिता, स्वतन्त्र परराष्ट्र नीति तथा लोककल्याणकारी राज्यको चरित्र, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त, विधिको शासन र मौलिक हकहरुको सुनिश्चिततालाई आधार मान्दै वर्तमान राज्य चरित्रलाई समाजवाद उन्मुख व्यवस्थामा रुपान्तरण गर्ने स्पष्ट रोडम्याप यो संविधानको मूलभूत विशेषता हुन् ।’
संविधान निर्माणका हिसाबले आठ वर्ष बिते पनि व्यवस्थित र पूर्ण कार्यान्वयनका हिसाबले यो संविधान अझै पनि प्रारम्भिक अवस्थामै रहेको वनेमले बताए । उनका अनुसार संविधान देशको मूल कानुन भएकाले यसले परिकल्पना गरेअनुसार अन्य कानुन बनाउने, पुराना कानुनलाई संशोधन गर्ने, विस्थापन गरी नयाँ ऐनहरु जतिसक्दो चाँडो बनाएर लागू गर्नुपर्दछ ।
‘संविधानले संस्थागत गरेको सङ्घीयताको मर्मअनुसार देश सञ्चालन गर्नुपर्दछ, सङ्घ, प्रदेश र स्थानीय सरकारहरुको बीचमा असन्तुलन आउने गरी कुनै पनि कानुन निर्माण गरिनुहुन्न, संविधानको कार्यान्वयनमा ठूलाठूला चुनौती देखापर्न थाल्छन्, जसको सङ्केत देखिन थालेका छन्, यो संविधानको रक्षाका लागि यसका निम्ति लड्ने सबै नागरिकहरु स्वयं लाग्नुपर्ने अवस्था आएको छ’, उनले भने । रासस
स्याङ्जाः स्याङ्जाको फेदीखोला गाउँपालिका–१ सर्केटारीमा साप्ताहिक कृषि हाटबजार सञ्चालनमा आएको छ ।
फेदीखोला साना किसान कृषि सहकारी संस्थाले फेखीखोलाका साना किसान तथा लघु उद्यमीको उत्पादन प्रवर्द्धनका लागि प्रत्येक शनिबार हाटबजार सञ्चालन गरेको हो । किसानले उत्पादन गरेका विभिन्न प्रकारका तरकारी, फलफूल, माछामासु लगायतका उत्पादन कृषि हाटबजारमा ल्याएर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष नेत्र कार्कीले बताए ।
‘किसानले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले हाटबजार सञ्चालन गरेका हौँ, हिजोबाट हाटबजार सञ्चालनमा आएसँगै स्थानीय किसान उत्साहित हुनुहुन्छ’ उनले भने । सिद्धार्थ राजमार्गको छेउमै सञ्चालन भएको हाटबजारबाट स्याङ्जा, पोखरा आवतजावत गर्ने यात्रुले बढी मात्रामा सामग्री खरिद गर्ने गरेका छन् ।
‘बाटोमा हिँड्ने यात्रुले सवारीसाधन रोकेर हाटबजारमा रहेका आफूलाई आवश्यकपर्ने कृषि तथा पशुजन्य सामग्री लैजानुभयो, जसले गर्दा किसानले बजार खोज्दै हिँड्नुपर्ने अवस्था नभइ सहजरुपमा बिक्री भयो, आशा छ आगामी दिनमा किसानले अझै उत्पादन बढाउँदै लैजानु हुनेछ’, उनले भने ।
प्रत्येक शनिबार सञ्चालन हुने कृषि हाटबजारलाई व्यवस्थित र नियमितरुपमा अगाडि बढाउने उनी बताउँछन् । प्रत्येक शनिबार बिहान ८ देखि बेलुका ६ बजेसम्म किसानले उत्पादन गरेका वस्तु तथा उत्पादित सामग्रीको खरिदबिक्री हुन्छ ।
स्थानीय उत्पादनलाई एकै ठाउँबाट खरिदबिक्री गर्नका लागि हाटबजार सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । ‘यहाँका किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले उत्पादनमा आधारित वस्तुमा १५ प्रतिशत नगद अनुदान दिन्छौँ, जसले गर्दा किसानले उत्पादनमा जोड दिनुभएको छ, उत्पादित वस्तुको सहज बजारीकरणमा ध्यान दिँदै साप्ताहिक हाटबजार सञ्चालनमा आएको हो’, उनले भने ।
गाउँपालिकाले २६ वटा तरकारी बालीको समर्थन मूल्य निर्धारण गरिदिएको छ । गाउँ–गाउँमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणका लागि ढुवानीमा समेत सहयोग गर्दै आएको उनले बताए । ‘सडककै छेउमा रहेकाले पनि पहिलो दिन नै राम्रो बिक्री भएको छ’, उनले भने, ‘यो राम्रो शुरुवात हो, यसको व्यवस्थापन र निरन्तरताका विषयमा थप जोड दिन्छौँ ।’
हाटबजारमा किसानले उत्पादन गरेका कृषिजन्य तथा पशुजन्य उत्पादन बिक्री गर्न पाउने र आफूलाई आवश्यक परेका औजार, उपकरण खरिद गर्न पाउने गरी व्यवस्थापन गरिएको छ । रासस
बाँकेः बाँकेका थारू समुदायमा धार्मिक एवं सांस्कृतिक महत्वको अटवारी पर्वको रौनक छाएको छ । भदौ महिनाको कृष्णअष्टमीपछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारू समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै आज अटवारी पर्व मनाउँदै छन् ।
यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने प्रचलन रहेको बाँकेका थारू अगुवा चन्द्र थारूले बताए ।
उनका अनुसार व्रतपछि गहुँको पीठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई एक भाग छुट्याई बाँकी भाग बर्तालुले खाने चलन रहेको छ ।
अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गर्छन् । अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायत पकवान र माछाको सिद्रा बर्तालुले ग्रहण गर्छन् । यो पर्व थारू समुदायको दशैँपछिको ठूलो पर्वका रूपमा रहेको थारूको भनाइ छ ।
थारू समुदायको बसोबास रहेका बाँकेसहित बर्दिया, दाङ, कैलाली, कन्चनपुरलगायत क्षेत्रमा अटवारी पर्वलाई विशेष महत्वका साथ मनाइन्छ । यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । व्रतपछि गहुँको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन रहेको थारू अगुवा कृष्ण चौधरीले बताए ।
अटवारी पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके र बर्दिया जिल्लाका थारू समुदायलाई आइतबार (आज) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विगतमा थारू बाहुल्यता रहेका स्थानीय तहले स्थानीय बिदा दिने गरे पनि अहिले प्रदेश सरकारले नै पर्व मनाउन बिदा दिनु सकरात्मक रहेको बाँकेका थारू अगुवा एवं राप्ती सोनारी गाउँपालिका पूर्वअध्यक्ष लाहुराम थारूले बताए ।
गोरखाः गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावाका मिठु विश्वकर्माले आरन पेसा शुरु गरेको ३५ वर्षभन्दा बढी भइसक्यो । घरसँगै जोडिएको जस्ताको छाना भएको साँघुरो कोठामा आरन व्यवसाय सञ्चालन गरेका विश्वकर्माको समय दैनिक १२ घण्टा त्यहीँ आरनमा बित्छ ।
हरेक बिहान ग्राहकको माग अनुसारका कृषि सामग्री निर्माण गर्नु उनको दिनचर्या बनेको छ । कुटो, कोदालो, हसिँया, खुर्पा मात्र नभएर ग्रामिण क्षेत्रमा आवश्यक पर्ने धेरैजसो फलामका सामानहरु विश्वकर्मा आफैँले तयार पार्छन् । फलाम तथा तामाका भाँडाकुँडा बनाउन परे वरपरका छरछिमेक तथा स्थानीयवासी उनको आरनमा पुग्छन् ।
‘आरन चलाएर दुई छोरा र एक छोरीलाई पढाइ उतारेँ’, विश्वकर्माले भने, ‘यहीँ पेसाबाट जीविकोपार्जन भइरहेको छ, पेसाबाट सन्तुष्ट नै छु ।’ श्रीमती र छोराछोरीसहित परिवारका पाँचै सदस्यको पालनपोषण र शिक्षादीक्षा आरन व्यवसायले नै धानेको उनले बताए । ‘मासिक कति आम्दानी हुन्छ भन्ने यकिन हुँदैन तर यहीँ पेसाबाट घरगृहस्थी चलेको छ’, उनले भने ।
पछिल्लो समय प्रविधि भित्रिँदै गएकाले आरन व्यवसाय गर्न पनि सजिलो भएको विश्वकर्माले बताए । ‘आरनमा आगो फुक्नका लागि वडा कार्यालयले अनुदानमा उपकरण दिएकाले पहिलेभन्दा हिजोआज काम गर्न धेरै सजिलो भएको छ’, उनले भने, ‘आरनमा आगो फुक्न बाख्राको छाला काढेर खलात बनाएर आगो फुक्ने गर्नुपर्ने बाध्यता थियो । अहिले त्यो बाध्यता हटेको छ ।’
विश्वकर्माका अनुसार पुरानो आरनलाई सुधारिएको आरनका रुपमा विकसित गरेर लैजानका लागि स्थानीय सरकारले पुराना आरन व्यवसायीलाई अनुदान सहयोग गर्दै आएको छ । गाउँपालिकामार्फत वडा कार्यालयले आरनका लागि आगो पुक्ने मेसिन, वेल्डिङ्ग मेसिन लगायतका उपकरण अनुदानमा उपलब्ध गराएपछि सजिलो भएको उनको भनाइ थियो । ‘वडा कार्यालयले नयाँ प्रविधि तथा उपकरण सहयोग नगर्दासम्म दर्शन ढुङ्गा ल्याएर रसायन लगाउनु पर्दथ्यो’, विश्वकर्माले भने, ‘वडाले सहयोगपछि आरन सञ्चालनमा धेरै सुविधा पुगेको छ ।’
गाउँपालिकाले पालिकाभित्र रहेका आरनलाई आधुनिकीकरण गर्दै लैजाने योजनाअनुरुप आर्थिक सहयोग प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । ‘स्थानीय स्तरमा आरन व्यवसाय गर्दै आएका व्यवसायीलाई पालिकाले आवश्यक सहयोग गर्दै आएको छ’, उनले भने, ‘यस व्यवसायलाई घरेलु उद्योगसँगै आर्थिक आयआर्जन गर्ने माध्यमका रुपमा विकास गर्दै जाने गाउँपालिकाको योजना छ ।’ रासस
खोटाङः खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दैनिक ३० महिला भेला हुन्छन् । बिहान १० बजे भेला हुने महिला दिउँसोको समयमा कसैले बाँसका चोया खिपिरहेका हुन्छन् भने कोही विभिन्न सामग्री बुनिरहेका हुन्छन् ।
बाम्राङस्थित वडा कार्यालयमा भेला हुने महिलाले छोटो समयमै बाँसका चोयाबाट घरायसी काममा प्रयोग हुने रहरलाग्दा विभिन्न सामग्री बनाइरहेका छन् । गाउँमा बेरोजगार रहेका महिलालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउन अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आर्थिक सहयोगमा महिला उद्यमी सङ्घले बाँसका सामग्री निर्माणसम्बन्धी एकमहिने तालिमको आयोजना गरेको हो ।
यही भदौ १० गतेदेखि शुरु भएको बाँसका सामग्री निर्माणसम्बन्धी तालिममा सहभागी महिलालाई बाँसका चोयाबाट पेनकेस, र्याक, फूलदानी, डुङ्गाबास्केट र डस्बिन बुन्ने सीप सिकाउने गरिएको छ । तालिममा सहभागी महिला आफैँ बाँस ढाल्छन् र सोही बाँस फुटाएर आफैँ चोया काढ्ने गर्छन् ।
बाँसका चोयाबाट बन्ने घरायसी सामग्री निर्माण गर्न १५ दिन सिकेकी स्थानीय प्रेलिना राई अहिले आफैँ सहप्रशिक्षक बनेकी छिन् । केन्द्रबाट आएकी शर्मिला लामाले १५ दिन प्रशिक्षण दिएर गएपछि अहिले प्रेलिनाले सिकाउँदै छिन् । तालिममा सहभागीमध्ये उत्कृष्ट बनेर सामग्री बुन्दै अरुलाई पनि सिकाउँदै आफू पनि सिक्दै आएकी प्रेलिना यही पेसाबाट जीविकोपार्जन गर्न सकिने बताउँछिन् ।
“पुरुषले गर्दै आएको बाँसका सामग्री निर्माण गर्ने काम गरेर व्यावसायिक बन्ने योजना छ”, उनले भनिन्, “गाउँघरमा प्रायः पुरुषले गरिरहेका यस्ता काम महिलाबाट पनि सम्भव हुन्छ भन्ने यसअघिसम्म लाग्दैन थियो । तर अहिले सिक्दै जाँदा सम्भव हुनेरहेछ भन्ने लागेको छ । गाउँमा बाँस टन्न पाइन्छ, तालिमपश्चात यही व्यवसाय गर्ने सोच बनाएकी छु ।”
तालिममा सहभागी ३० महिलामध्ये २५ जना बाम्राङका छन् भने चारजना वडा नं १ दिक्तेल र एकजना दिप्रुङ चुइचुम्मा गाउँपालिकाका छन् । तालिममा सहभागी अधिकांश महिलाले तालिमपश्चात आ–आफ्नो गाउँ फर्किएर यही पेसालाई निरन्तरता दिने बताएका छन् । गाउँमा बेरोजगार रहेका महिलालाई बाँसका सामग्री बनाएर आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको महिला उद्यमी सङ्घकी कोषाध्यक्ष सञ्जु खत्री (बस्नेत)ले बताइन् ।
“सामग्रीको बजारीकरण सङ्घले गर्ने योजना बनाएका छौँ”, उनले भनिन्, “१५ जना उत्कृष्ट छानेर माद्रो, नाङ्लो, डालोलगायत सामग्री बुन्न सिकाउने तयारी छ । तालिममा सभागी महिलालाई खाना, खाजा तथा यातायात खर्चवापत रु. १५ हजारका दरले भत्तासमेत उपलब्ध गराइएको छ ।”
दिक्तेल बजारस्थित रत्नपार्कमा सञ्चालित सपिङ कम्प्लेक्समा कोसेली घर खोल्ने तयारी छ । यसका लागि नगरपालिकासँग सम्झौता भइसकेको छ । यसअघि महिला उद्यमी सङ्घले महिलालाई अचार बनाउने र खोसेलाबाट सजावटका सामग्री निर्माणसम्बन्धी तालिम दिएको थियो । रासस
बागलुङः महिलाको महान चाड तीजको मौलिकतामा हिजोआज विकृति बढ्न थालेको पाइन्छ । विगतमा यस पर्वका अवसरमा चेलिबेटी माइत आउने मिठोमसिनो परिकार खाने, व्रत बस्ने, रातो, हरियो, पहेँलो रङ्गका कपडा तथा चुरा, पोते लगाउने, नाचगान गर्ने र गीतको माध्यमबाट मनको बह पोख्ने गरिन्थ्यो तर अहिले तीजको मौलिकता हराउँदै गएको छ ।
तीज नजिकिएसँगै बागलुङका बजारदेखि गाउँसम्ममा यसको रौनक बढेको छ । तीज आउन १५ दिन बाँकी छँदै यहाँ दर खाने र नाचगानका कार्यक्रम दिनदिनै भइरहेका छन् । हिजोआज तीज भड्किलो हुनाका साथै पश्चिमेलीशैली पनि मिसिन थालेको बुढापाकाको गुनासो छ । बागलुङकी ७३ वर्षीया तेजदेवी सापकोटालाई अहिलेको तीज मनै पर्दैन ।
तीजलाई परम्परागत र मौलिक रुपमा मनाउन छोडेर विदेशी संस्कारलाई अँगाल्दा स्थानीय संस्कार, संस्कृति र परम्परा मेटिन थालेकामा उनमा चिन्ता छाएको छ । पहिले तीज आउनुभन्दा एक साता अगाडिदेखि गाउँमा नाचगान गरिन्थ्यो तर अहिले एक महिना अगाडिदेखि दर खाने र त्यसमा पनि मदिराका साथै महँगा परिकार खाने गरिएको सापकोटाको गुनासो छ ।
‘उतिबेला तीजमा टाढाटाढा भएका दिदीबिहिनीसँग भेट हुन्थ्यो, माइतीमा आएका दिदीबहिनीसँग चौतारामा, गाउँको डाँडामा बसेर गीत आउने गर्थ्यौँ, घरमा पाएको दुःखसुखका कुरा तीजका गीतमा समेटर गाइन्थ्यो, नाचिन्थ्यो, गीत पनि जीवनमा भएका घटनाका आधारित हुन्थ्यो’, उनी भन्छिन्, ‘अहिले त त्यस्ता गीत गाउनै छोडे, मादल, डम्फु र मुजुरा बज्नै छोडे, न दुःखका कुरा छन्, न भोगाइका, अहिले त उही माया प्रेमका बाहेक अरु छैनन्, हामीले त दर भनेर केरा, दही मिसाएर खान्थ्यौँ, अहिले ठूलो–ठूलो होटलमा बसेर रक्सी खान्छन्, यस्तो चलनले हाम्रो संस्कृति नै मास्यो ।’
स्थानीयवासी तिलकुमारी खत्री परम्परादेखि धार्मिक शास्त्रअनुसार पतिको सु–स्वास्थ्य, दीर्घायुको कामना गर्दै निराहार व्रत बस्ने गरिएकामा अहिले त्यो चलन हराउँदै गएको बताउँछिन् ।
संस्कृतिका नाममा हुने छाडा गतिविधिले चाडपर्वको महत्वलाई नै विकृत बनाइदिएको उनको भनाइ छ । महिलाको मनमा गुम्सिएका दुःख, वेदना पोख्ने मात्र नभइ, वर्षभरको दुःख भुलेर नयाँ ढङ्गले जीवन बाँच्न प्रेरित गर्ने गरी मनाउनुपर्नेमा खत्री जोड दिन्छिन् । ‘हाम्रा चाडपर्वलाई मौलिक रुपमै मनाउनुपर्छ, हामीहरुले विदेशीको नक्कल गर्ने होइन तर विदेशीलाई हाम्रो संस्कार संस्कृतिको नक्कल गर्न सिकाउनुपर्छ, पहिले–पहिले पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन थियो, अहिले यो हराउँदै गएको छ, दरका नाममा दारु खाने, खर्चिलो र भड्किलो रुपमा मनाउने कुराले संस्कृतिलाई बदनाम गराउँदै गएको छ’, उनी भन्छिन्, ‘अहिले त दिनदिनै दर खाने कार्यक्रम हुन्छ, दिनदिनै नयाँ कपडा लगाउनु पर्नेहुँदा हुने खानेले त लगाउलान्, खालान्, तर हुँदा खानेलाई कस्तो असर परेको होला ?’
बडीगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी गाउँमाभन्दा सहरी क्षेत्रमा तीज भड्किलो बन्दै गएको छ भन्छिन् । बुढापाकाले अहिले पनि पुरानै शैलीमा चाडपर्व मनाउने गरे पनि युवा पुस्ताले आधुनिकता अँगाल्दा तीज पर्वको मौलिकता हराउँदै गएको बताउँछिन् । प्रविधिको बढ्दो प्रयोग र पश्चिमा संस्कृतिको अनुकरणले तीजलगायत चाडपर्व भड्किलो बनेको र अहिले बजारमा आएका गीत पनि परिवारसँग बसेर सुन्न र हेर्न नमिल्ने खालका हुन थालेको उनको भनाइ छ ।
‘चाडपर्व आफूसँग जे छ, त्यसैमा रमाउन जान्नुपर्छ, अरुको देखासिकीले क्षणिक रमाइलो त होला तर त्यसको असर धेरै लामो समय पर्नसक्छ, तीजको रमझम त जताततै छ, तर सहरमा बढी विकृति भयो भन्ने गुनासो आउँछ, यो साँचो हो, तर गाउँमा अहिले पनि दिदीबहिनी मादल बजार मौलिक गीत गाउनुहुन्छ’, अध्यक्ष अधिकारी भन्छिन्, ‘हाम्रा पुराना संस्कार, संस्कृतिलाई युवापुस्ताले ग्रहण गरेर पुरानै शैलीमा मनाउने हो भने युगौँसम्म संस्कृति जीवित रहन्छ, यही हिसाले गयो भने त भावी पुस्ताले तीज वर्षको महत्व र इतिहास नै थाहा पाउने छैनन् ।’ रासस
रुकुमः रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणी श्रम सहकारी संस्थाले रुकुम पश्चिममा उत्पादित बेसार जर्मन पठाउने तयारी गरेको छ ।
पालिकामा प्रशोधन केन्द्र स्थापना गरेको सहकारीले जिल्लामा उत्पादित बेसार विदेश पठाउने योजना बनाएको हो । ‘हामीले उत्पादन गरेको बेसारको चाना परीक्षणका लागि जर्मन पठाएको थियौँ । गुणस्तर राम्रो भएको भन्ने रिपोर्ट आएको छ । अब बेसारको चाना प्रशोधनको तयारीमा छौँ । यो मङ्सिरदेखि बेसार जर्मन पठाउन शुरु गर्दैछौँ’, सहकारीका अध्यक्ष शेरबहादुर मल्लले भने ।
‘सहकारीका सदस्यलाई बेसार खेती गर्न भनेका छौँ । दुई सय सदस्यले यो पटक बेसारखेती गर्नुभएको छ । उहाँहरुले राम्रो बेसार उत्पादन गर्ने योजना पनि बनाउनुभएको छ । त्यही बेसारको चाना पहिलो चरणमा जर्मन पठाउने छौँ’, अध्यक्ष मल्लले भने ।
गाउँपालिकामा उत्पादन भएको बेसारले मात्र माग धान्न नसक्ने उनको भनाइ । जिल्लाको अन्य क्षेत्रमा पनि बेसार उत्पादनका लागि किसानलाई पहिलै भनेको सहकारीले जनाएको छ । सहकारीले अदुवा र बेसार प्रशोधनको लागि उद्योग स्थापना गरेको जनाएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका, चौरजहारी नगरपालिकाका विभिन्न ठाउँमा राम्रो अदुवा र बेसार उत्पादन हुनेगर्छ । व्यापारीले जिल्लाबाटै अदुवा र बेसार खरिद गर्ने गर्दै आएकोमा अब भने जिल्लामा उत्पादित अदुवा र बेसार त्रिवेणी गाउँपालिकामा रहेको अदुवा, बेसार प्रशोधन केन्द्रले खरिद गरिदिने छ ।
प्रशोधन केन्द्रमा चाहिने भौतिक संरचना र मेसिनका लागि कर्णाली प्रदेश सरकारले सहकारी संस्थालाई एक करोड ५० लाख दिएको थियो । सहकारीले पनि उद्योग सञ्चालनका लागि रु ४८ हजार रकम खर्च गरेको सहकारीका अध्यक्ष मल्लले जानकारी दिए । जिल्लामा उत्पादन भएको बेसार र अदुवा विदेश पठाइने भएपछि अदुवा र बेसारले पनि राम्रो मूल्य पाउने किसानको विश्वास छ । रासस
धादिङः धादिङको गजुरी गाउँपालिका–४ चौकीभञ्ज्याङका साइला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ । चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि उस्तै छ । उनको घरको छानो भने अहिलेसम्म पनि फेरिएको छैन ।
आँगनको ढिलबाटै कच्ची सडक विस्तार भएर गाडी गुड्न थालेका छन् । गाउँमा खानेपानी र विद्युत्का क्षेत्रमा विकास हुँदैछ । डोको बेचेरै जीविकोपार्जन गरिरहेका चेपाङको खिया लागेका जस्ताको छानो फर्ने सपना भने अझै अधुरै छ ।
‘पहिला डोको, भकारी जतिपनि बिक्थ्यो । बोकेरै बजार लगेर रु. १० मा बेच्दा पनि छोराछोरी पाल्न पुग्थ्यो, अहिले बजारमा डोको बिक्न छोड्यो’, चेपाङले भने । चौकीभञ्ज्याङ र आसपासका सबैको पुर्ख्यौली पेसा डोको, डालो र भकारी बुन्ने भए पनि प्लास्टिकका सामग्रीले बजार भरिएसँगै निगालो र बाँसबाट बुनेका डोको घरमै थन्किएर बसेका उनले बताए ।
चेपाङ कतिले पुर्ख्यौली पेसा छाडेर विकल्प पनि खोजिसकेका भन्दै उमेरले ७० वर्ष नाघिसकेकाले पुर्ख्यौली पेसा छाडेर कहीँ जान सक्ने अवस्था नरहेको बताए । उनका अनुसार डोको बिक्न छोडेपछि आम्दानीको स्रोत टुटेको छ ।
डोको बुन्ने पेसाबाटै बालबच्चा हुर्काउनुभएका चेपाङलाई अहिले जीवन धान्नै मुस्किल भएको छ । ‘हाम्रो मात्र होइन गाउँमा सबैको मुख्य काम भनेकै डोको बुन्ने र बजारमा लगेर बिक्री गर्ने थियो । अहिले डोको, डालो र भकारी बुनेर घरखर्च चल्न छोड्यो, अरु पेसा गर्न उमेरले दिँदैन’, उनले भने, ‘अहिले डोको नै बिक्दैन । म बुढो मान्छे बजारसम्म पुर्याउन पनि सक्दिन । किन्न व्यापारी गाउँ आउदैनन् । पुर्ख्यौली पेसा भनेर मात्रै गरिरहेका हौँं । डोको बुनेर दुई छाकको जोहो गर्नै मुस्किल छ ।’
विसं २०३५ तिर डोको बुनेर बिक्री गर्दा दशसम्म आम्दानी हुने गरेको अनुभव चेपाङले सुनाए । ‘त्यस समयमा दुई रुपैयाँमा एक पाथी नून, रु. छ मा एक लिटर खाने तेल पाइन्थ्यो । दैनिक १०र१२ वटा बेच्दा मनग्य आम्दानी हुन्थ्यो’, उनले भने, ‘अहिले बजारमा डोको बिक्री हुदैन । डोको बुन्ने, थुपार्ने र व्यापारी कुर्ने काम मात्र भइरहेको छ ।’ उनका अनुसार पहिला बजारको पनि कुनै समस्या थिएन ।
उनकी श्रीमती तिलकुमारी चेपाङले पनि डोको र भकारी बोकेर अन्नपात साटेको अनुभव सुनाइन् । ‘त्यतिबेला एउटा डोको साट्दा एक पाथी अन्न आउँथ्यो । पछि डेढ दुई सयमा बिक्न थाल्यो । त्यति हुँदा घरखर्च चलाउन सजिलो थियो’, तिलकुमारीले भनिन्, ‘अचेल त किन्ने मान्छे नै आउँदैनन् । भोलिपर्सी कतै माग भइहाल्यो भने बेचौला भन्ने झिनो आशा छ ।’
डोकोको आकार हेरेर तीन सयदेखि पाँच सयसम्म र खाङ्ग्रेको एक हजारसम्म बिक्री हुनुपर्ने नेवारबाँसका ४० वर्षीय रामबहादुर प्रजाले बताए । निकै सस्तो मूल्यमा दिँदा पनि डोको बिक्री हुन छाडेको उनको भनाइ थियो । ‘गाउँदेखि पृथ्वी राजमार्ग पुग्न चार घण्टा पैदल हिँड्नुपर्छ । छदेखि बढीमा १० वटासम्म बोकेर लान सकिन्छ । बिक्री गर्न गजुरी, घाटबेँशी, मलेखु, आदमघाटसम्म लैजाने गरेका छौँ’, उनले भने ।
प्रविधिको विकाससँगै डोको बुन्नेको पेसा नै सङ्कटमा परेको जीतबहादुर चेपाङले बताए । पछिल्लो समय डोकोको प्रयोगमा नै कमी आएको उनको भनाइ थियो । ‘गाउँमा बाँस र निगालो प्रशस्त पाइन्छ । सबैले डोको बुन्न पनि जानेका छन्’, उनले भने, ‘अहिले गाउँमा सडक आइपुगेका छन् । मानिसले बोक्ने भारी सवारीले बोक्छन् । डोकोको प्रयोगको सट्टा अन्य प्लाष्टिकका सामग्रीको प्रयोग गर्ने धेरै छन् । यसले हाम्रो पुर्ख्यौली पेसा सङ्कटमा पर्दै गएको हो ।’
चौकी भञ्ज्याङ नेवारबासमा ९२ घर परिवार छन् । उनीहरुको मूख्य पुर्ख्यौली पेसा डोको बुनाइ हो । तर पछिल्लो समय डोको बिक्न छाडेपछि उनीहरुले विकल्प खोज्न थालेका छन् । रासस
धनुषाः धनुषासहित मिथिलाञ्चलका कुम्भकार (कुमाले) चौठचन्द्र पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउन व्यस्त छन् ।
माटोका भाँडामा खिर, दही, फलफूलसहितका प्रसाद सामग्री राखी चन्द्रमालाई अर्घ दिएर मनाइने ‘चौठचन्द्र’ पर्वका लागि व्रत बस्नेलाई माटाको भाँडो पुर्याउन कुम्भकारलाई भ्याइनभ्याइ छ । तराई–मधेसमा भदौ चतुर्थी तिथिका दिन चौठचन्द्र पर्व मनाउने गरिन्छ ।
दुई साताअघिदेखि क्षीरेश्वरनाथ नगरपालिका–४ हरैया टोलका अधिकांश कुम्भकारको दैनिक बिहानैदेखि माटो मुछ्ने र भाँडा बनाउनेमा व्यस्त देखिन्छन् । हरैयामा कुम्भकारको एउटै छुट्टै टोल छ । उनीहरुको पुर्ख्याैली पेसा माटाका भाँडा बनाएर बेच्ने हो । यतिखेर यहाँका सबैजसो घरपरिवारका सदस्य माटोको भाँडा बनाउन व्यस्त रहेका स्थानीय विष्णुलाल पण्डितले बताए ।
पर्वमा आवश्यकपर्ने छाछ छाछी, मटकुडी, घैला, दियो, दियो राख्ने बाला (लावैन)लगायत विभिन्न किसिमका भाँडाकुँडा बनाउन व्यस्त रहेको रामभरोस पण्डितले बताए । भाँडा बनाउने माटो समयमा उपलब्ध नहुँदा समस्या हुने गरेकाले अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको उनले बताए । चौठचन्द्र पर्वमा एक थान भाँडालाई दुई सयदेखि पाँच सयसम्ममा बिक्री गर्ने गरेको उनले जानकारी दिए ।
बजारमा पाइने प्लास्टिक, स्टिल, पित्तलका सामग्रीले माटोका भाँडालाई विस्थापित गरे पनि चाडपर्वमा भने अनिवार्य माग हुने गरेकाले कुम्भकारलाई यतिबेला भाँडा बनाउन भ्याइनभ्याइ भएको धनुषा जिल्ला समन्वय समितिका पूर्वसभापति रामदेव यादवले जानकारी दिए ।
चौठचन्द्र मात्रै नभई दीपावली तथा छठमा पनि माटोको दियो, चौमुखे दियो, घैला (कलश)लगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले सिजनअनुसारका समान बनाउन थालिएको रामचरित्र पण्डितले बताए । उनका अनुसार पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांशको जीविकोपार्जन माटोका भाँडाकुँडा बनाउने रहेकाले अरू समयभन्दा पर्वका बेला काममा बढी व्यस्त हुने गरेका छन् ।
यसपाली मिथिलाञ्चलमा असोज २ गते चौठचन्द्र पर्व परेको छ । उक्त दिन साँझ चन्द्रमालाई माटोको भाँडामा बनाइएको दही, खिर, पुरी, फलफूलसहित पूजा गरी पर्व मनाउने गरिन्छ । रासस
मकवानपुरः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा बसोबास गर्ने चेपाङ समुदायले न्वाँगी पर्व मनाइरहँदा यसले विशिष्टिकृत सांस्कृतिक पहिचान स्थापित गरेको बताएका छन् ।
शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उनले चेपाङ समुदायले मनाउँदै आएको न्वाँगी (छोनाम) पर्वले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गरी समाजवादको लक्ष्य हासिल गर्न सबै एकताबद्ध भई अगाडि बढ्न प्रेरणा प्रदान गर्ने जनाएका छन् ।
परम्परागत मूल्य मान्यता प्राप्त गरेको आफूलाई महसुस भएको उल्लेख गर्दै सन्देशमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकार प्रदेशभित्र बसोबास गर्ने जातजातिका संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै तिनको विकासका लागि आवश्यक सहयोग गर्न सदैव तयार रहेकोसमेत जनाएका छन् ।
प्रकृति पूजक अतिसिमान्तकृत चेपाङ जातिले हरेक वर्ष भदौ २२ गते मनाउने यो पर्वले अनेकतामा एकता कायम गर्ने भन्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश यही भएर भएको बताएका छन् ।
‘अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन, यहाँका प्रत्येक जातजाति र समुदायको आआफ्नै सांस्कृतिक महत्व बोकेको मौलिक परम्परा रहेका छन्’, मुख्यमन्त्री जम्कट्टेलले भनेका छन्, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रका रुपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको एक महत्वपूर्ण अङ्गका रुपमा चेपाङ संस्कृति रहेको छ ।’
उनले चेपाङ जातिको यो पर्वमा यस वर्ष पनि प्रदेश सरकारले सार्वजनिक बिदा दिएर सम्मान प्रकट गरेको शुभकामना सन्देशमा भनिएको छ । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies