काठमाडौं : एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा हुँदैछ । प्रतियोगिताअन्तर्गत आजै नेपालले मलेसियाको सामना गर्नेछ ।
ओमानको राजधानी मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा दुई देशबीच हुने यो टी–२० अन्तर्राष्ट्रिय खेल दशौं पटकको हो । यसअघि नेपालले आठ खेल जित्दा मलेसियाले एकमा मात्र विजय हासिल गरेको छ ।
टी–२० ढाँचामा हुने एसीसी प्रिमियर कपमा १० टोलीको सहभागी हुनेछन् । तिनलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा परेको छ । यो समूहमा नेपाल, हङकङ, मलेसिया, कतार र साउदी अरब छन् ।
समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । उक्त प्रतियोगताको उपाधि जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।
खेल तालिकाअनुसार आजै अपराह्न हुने समूह ‘ए’अन्तर्गतको अर्को खेल हङकङ र कतारबीच हुनेछ । नेपाल भोलि कतारसँग र वैशाख ३ गते हङकङसँग भिड्नेछ । समूह चरणको अन्तिम खेल वैशाख ४ गते साउदी अरबसँग हुनेछ । प्रतियोगितामा वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित गुल्सन झा, करण केसी, प्रतिश जिसी, कुशल भूर्तेल, सन्दीप जोरा, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह छन् ।
काठमाडौं : ओमानमा हुने एसीसी प्रिमियर कपका लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले नेपालको अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको हो । नेपाली टिममा सबै भारतमा एसएमएस फ्रेन्डसिप कप खेलेका खेलाडी छन् । तर भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द भने अन्तिम १४ मा पर्न सकेनन् ।
प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ । प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् ।
नेपालले पहिलो खेल मलेसियासँग चैत ३० गते खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल कतारसँग वैशाख १ गते, तेस्रो खेल हङकङसँग वैशाख ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ । समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल खेल वैशाख ७ गते हुनेछ भने फाइनल खेल वैशाख ९ गते हुनेछ ।
यस प्रतियोगितामा विजेता हुने टिमले सन् २०२५ मा हुने एसिया कप खेल्ने पाउनेछ । यसपटकको एसिया कप टी-२० फर्म्याटमा हुने भएकाले प्रिमियर कप पनि टी-२० फर्म्याटमा नै हुनेछ । यस्तै यस प्रतियोगिताको शीर्ष ३ टिमले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन् ।
नेपालको टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी र अभिनाश बोहरा रहेका छन् ।
काठमाडौं : आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपालले टेस्ट टोली वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पाँच खेलको टी–२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले वेस्टइन्डिज ‘ए’ पाँच टी–२० खेल खेल्न नेपाल आउने जानकारी दिएको छ ।
एसीसी मेन्स प्रिमियर कप खेलेर फर्केपछि नेपालले टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिरिज आयोजना हुनेछ । नेपाल र वेस्टइन्डिज ‘ए’बीचको खेल अप्रिल २५ देखि मे ५ सम्म हुनेछ । वेस्टइन्डिज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो । नेपालले टी२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो ।
आईसीसी टी–२० विश्वकप र एसीसी प्रिमियर कपको तयारीका लागि हाल नेपाली क्रिकेट टोली भारतमा रहेको छ । भारतमा नेपालले गुजरात र बरोडासँग फ्रेन्डसिप कप खेलेको थियो । नेपाल उतैबाट ओमान प्रस्थान गर्ने छ । ओमानमा नेपालले प्रिमियर कप खेल्ने छ ।
काठमाडौं : आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकप २०२४ मा नेपाली क्रिकेट टिमले लगाउने जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नेपाली टिमले लगाउने जर्सी सार्वजनिक गरेको हो ।
सार्वजनिक जर्सी रातो, निलो, हलुका सेतो र पहेँलो रंगको रहेको छ । जर्सीको सबैभन्दा माथि चन्द्र र सूर्य रहेको छ । सबैभन्दा तल एक सिङे गैँडा र सगरमाथा रहेको छ । बीचको भाग निलो रंगको रहेको छ । सोही भागमा पहेँलो रङले नेपाल लेखिएको छ । बाहुलाको तल, गलाको माथि, सगरमाथा र गैँडाको रंङ रातो रहेको छ । छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो छ । पछाडिको अधिकांश भाग निलो रंगमा छ । जर्सी नम्बरमाथि खेलाडीको नाम छ । तल्लोभागमा सगरमाथा नै छ ।
क्यान सचिव पारस खड्काका अनुसार जर्सी विश्वकपअघि नेपालमा हुने शृंखलामै प्रयोगमा आउने छ । आगामी जेठमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपमा नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छन् ।
नेपाल रहेको समूह ‘डी’मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ । बाँकी खेलहरु नेपालले वेस्ट इन्डिजमा खेल्नेछ । जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ ।
विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन् । त्यसपछि १९ देखि २४ जुनसम्म सुपर–८ हुनेछ । सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ ।
धनकृष्ण बिक/मध्यान्ह
बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा २ करोड बढी लगानीमा बहुउदेश्यीय कभर्डहल निर्माण भएकाे छ । बढीमालिका नगरपालिकाले ८ वर्ष अगाडि निर्माण कार्यकाे थालनी भएकाे हलकाे निर्माण कार्य सम्पन्न भएको जानकारी दिएको छ ।
२०७३ सालमा निर्माण कार्य शुरु गरिएको बहुउदेश्यीय कभर्डहल अलपत्र परेपछि बडीमालिका नगरपालिकाको लगानीमा निर्माण सम्पन्न गरिएको हो । कभर्डहल निर्माण अलपत्र परेपछि बडीमालिका नगरपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरी निर्माण सम्पन्न गरिएको नगर प्रमुख अमर बहादुर खड्काले बताए ।
२०७३ वैशाख ११ गते तत्कालीन उपप्रधान तथा रक्षामन्त्री भीम रावलले कभर्डहलको शिलान्यास गरेका थिए । संविधानसभा सदस्य तथा तत्कालीन उद्योग मन्त्री कर्ण बहादुर थापाको संसद विकास कोषबाट बजेट विनियोजन गरी निर्माण कार्य थालनी गरिएको थियो । थापाको संसद विकास कोषबाट ५० लाख विनियोजन भएपनि निर्माण कम्पनीले सम्झौताअनुसारको काम नगरेको जिल्ला खेलकुद समितिको तथ्याकंमा उल्लेख छ ।
२०७४ सालमा खेलकुद परिषदबाट ४० लाख, २०७५ सालमा खेलकुद परिषदबाट पुनः ४० लाख गरी ८० लाख र २०७५ सालमा सांसद लालबहादुर थापाको संसद विकास कोषबाट ४५ लाख विनियोजन भएको भए पनि ठेकदारको लापरबाहीका कारण काम हुन नसकेको खेलकुद विकास समितिले जनाएको छ ।
त्यसैगरी २०७६ सालमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदबाट ५० लाख रुपैयाँ विनियोजन भएपछि निर्माण व्यवसायी रामप्रसाद रेग्मीले निर्माण कार्यको जिम्मा लिएका थिए । त्यतिबेला सबै रकम निकासा भएपनि काम भने पूरा नभएको खेलकुद विकास समिति बाजुराका अध्यक्ष राकेश थापाले बताए ।
कभर्डहल निर्माणमा तीनै तहका सरकारले बेवास्ताका कारण निर्माण पूरा नहुँदै अलपत्र परेपछि बडीमालिका नगरपालिकाले २५ लाख बजेट विनियोजन गरेर हाल निर्माण कार्य सम्पन्न गरेको हो । बाजुराको खेल क्षेत्रको विकास र यहाँका युवाहरुलाई खेल क्षेत्रतर्फ आकर्षित गराउने उद्देश्यका साथ उक्त कभर्डहल निर्माणको थालनी गरिएको थियो ।
सदरमुकाममा सामान्य खालको खेल मैदानसमेत नहुँदा यहाँका खेलाडीहरुले सरकारी विद्यालयसँग मैदानका लागि गुहार गर्नुपर्ने बाध्यता रहेको छ ।
काठमाडौं : नेपालको राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सलट्यान्टमा रोडरिक इस्टविक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार सामाजिक सञ्जालमार्फत इस्टविकलाई बलिङ कन्सलट्यान्ट नियुक्त गरिएको जानकारी दिएको हो ।
क्यानले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकपलाई लक्षित गरेर इस्टविकलाई बलिङ कन्सलट्यान्टमा नियुक्त गरेको हो ।
६३ वर्षीय इस्टविक पछिल्लो समय वेष्ट इण्डिजको बी टीमको प्रशिक्षक थिए । बार्बाडोसका तीव्र गतिका बलरले वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेपनि घरेलु क्रिकेट भने खेलेका छन् । उनले ३७ प्रथम श्रेणी र ४२ लिस्ट ए क्रिकेट प्रतियोगिता खेलेका छन् ।
प्रथम श्रेणीका ४९ खेलमा उनले ३७६ रन बनाएका छन् भने १४१ विकेट लिएका छन् । लिस्ट ए का ४२ खेलमा उनले १०० रन बनाउँदा ४३ विकेट लिएका छन् ।
इस्टविकले वेस्ट इन्डिजको सिनियर टोलीको बलिङ प्रशिक्षकको रुपमा पनि काम गरेका छन् । उनले सन् २०१६ देखि २०२२ मा पटक पटक वेस्ट इन्डिजको जिम्मेवारी सम्हालेका थिए ।
इस्टविकले नेपाली क्रिकेटसँग जोडिन पाउँदा गर्वको अनुभव गरेको बताए । नेपाली क्रिकेटको प्रगतिलाई आफूले हेरिरहेको भन्दै उनले आफूले सक्दो सहयोग गर्ने बताए ।
काठमाडौं : गुजरातलाई पराजित गर्दै नेपालले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
आइतबार सम्पन्न फाइनल खेलमा नेपाल १८ रनले विजयी भएको हो । नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो ।
गुजरातका कप्तान उमांग रोहितकुमारले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए । आर्य देशाई २४ बलमा ४ चौका र २ छक्कासहित ३६, रुद्र पटेल १७, जयमित पटेल र हर्ष देशाईले १५/१५ रन बनाए ।
नेपालका अभिनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । करण केसी र कुशल मल्लले १/१ विकेट लिए ।
त्यसअघि साई मेघपन स्पोर्ट्स लाइस वापीमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७४ रन बनाए। ४७ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । आशिफ शेखले ३४ बलमा २ चौका र १ छक्कासहित ३४ रन बनाए ।
कुशल भुर्तेल १९ र र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट हुँदा कुशल मल्ल ३१ र सन्दीप जोरा ७ रनमा अविजित रहे । गुजरातका शेन पटेल, तेजस पटेल र जाला युवराज सिंहले १-१ विकेट लिए ।
काठमाडौं : नेपाल लोकतान्त्रिक खेलकुद संघले राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई नयाँ आर्थिक वर्ष ०८१।८२ को बजेटमा समावेश गर्नका लागि ज्ञापन पत्र बुझाएको छ ।
संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन नेतृत्वको टोलीले सदस्यसचिव घिसिङलाई नेपाली राजनीतिमा योगदान गर्ने विभिन्न नेताहरुको सम्झनामा आयोजना गरिने खेलकुद प्रतियोगिताहरुका लागि बजेट विनियोजन गराइदिन माग गरेका हुन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघले गणेशमान सिंह बक्सिङ, कृष्ण प्रसाद भट्टराई कराते, किसुनजी हाफ म्याराथन, सुवर्ण शमसेर क्रिकेट, मैयादेवी क्रिकेट, बिपी कोइराला भलिबल, भीमबहादुर तामाङ उसु, शैलजा आचार्य चेस, महेन्द्र नारायण निधि क्रिकेट र योगेन्द्रमान शेरचन साइकल प्रतियोगिताका लागि बजेट माग गरेको छ ।
ज्ञापनपत्र बुझेपछि सदस्य सचिव घिसिङले अहिले पनि विभिन्न प्रतियोगितामा सहकार्य भइरहेको बताउँदै नयाँ कार्यक्रमका लागि बजेट थप गर्ने पहल गर्ने प्रतिबद्धता जनाए ।
काठमाडौं : भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा आज बरोडाले नेपाललाई ३७ रनले पराजित गरेको छ । जितका लागि बरोडाले प्रस्तुत गरेको एक सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव पाँच ओभरमा अलआउट हुँदै एक सय १९ रनमा समेटियो ।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५६ रन बनाए । उनले ४३ बल खेल्ने क्रममा चार छक्का र तीन चौका प्रहार गरे । साथै विवेक यादवले १७, कुशल भुर्तेलले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् । कुशल मल्लले तीन, दीपेन्द्र सिंह ऐरी र आकाश जिसीले समान दुई/दुई रन बनाए भने अनिल साह र गुलशन झाले समान एक-एक रन बनाए ।
बरोडाको जितमा ध्रुव पटेलले चार विकेट लिए भने लक्षित टोक्सियाले तीन र जय आभालेले दुई विकेट लिए । साथै हेमन्त पुण्डेले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा आठ विकेटका क्षतिमा एक सय ५६ रन बनाएको थियो । उसका लागि शाश्वत रावतले ३१ रनको योगदान दिए भने ध्रुव पटेलले २९ रन बनाए । साथै अमित पासीले २६, मोहित मोङ्गियाले २० र अभिमन्यु सिंह राजपुतले ११ रन बनाए । नेपालका लागि करन केसी र गुलशन झाले दुई/दुई विकेट लिए भने आकाश चन्द, प्रतीश जिसी, ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए ।
जारी प्रतियोगितामा नेपाल र गुजरात यसअघि फाइनलमा पुगिसकेका छन् । नेपाले गुजरातसँग भएका दुवै खेल र बरोडासँग भएको एक खेलमा विजयी हुँदै फाइनलमा पुगेको थियो । नेपाल र गुजरातबीचको फाइनल खेल आइतबार हुनेछ ।
काठमाडौं : आयरल्याण्ड वुल्भ्सले एक खेल अगावै एकदिवसीय क्रिकेट सिरिजमाथि कब्जा जमाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो एकदिवसीय खेलमा आयरल्याण्ड वुल्भ्सले नेपाल ‘ए’लाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै सिरिजमा कब्जा जमाएको हो । आयरल्याण्ड वुल्भ्स पहिलो खेलमा २१ रनले विजयी भएको थियो ।
आयरल्याण्ड वुल्भ्सले जितका लागि प्रस्तुत गरेको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १६ दशमलव पाँच ओभरमा ६० रनमा समेटियो । नेपाल ‘ए’ टोलीका कुनै पनि ब्याटरहरुले उल्लेख्य रन बनाउन सकेनन् । नेपाल ‘ए’का लागि भीम सार्कीले १७ र कप्तान विनोद भण्डारीले १६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पाँच ब्याटरहरु देव खनाल, आरिफ शेख, रिजन ढकाल, कमल ऐरी र मौसम ढकाल शून्य रनमा आउट भए । नरेन भट्टले छ, अर्जुन साउदले पाँच, बसिर अहमदले छ र सहाब आलमले एक रन बनाए । आयरल्याण्ड वुल्भ्सका लागि म्याथ्यु हम्फ्रिज एक्लैले छ विकेट लिए । साथै फिओन ह्याड र थोमस माएजले दुई-दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्ड वुल्भ्सले ३८ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनाएको थियो । उसका लागि गानिभ होयले अर्धशतकीय पारी खेले । उनले ५९ बल खेल्ने क्रममा दुई छक्का र पाँच चौको सहयोगमा ५० रन बनाए । कप्तान निल रकले ३८ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए । साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।
नेपाल ‘ए’का लागि रिजन ढकाल र सहाब आलमले तीन÷तीन विकेट लिए भने मौसम ढकालले दुई र कमल ऐरीले एक विकेट लिए । प्रतियोगिताको अन्तिम खेल आइतबार हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies