काठमाडौं : वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले बजेट एयरलाइन्सले अनावश्यकरूपमा भाडा बढाएका कारणले वैदेशिक रोजगारीमा जाने विपन्न अवस्थाका कामदारहरूलाई चर्को आर्थिकभार पारेको भन्दै सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितमान तामाङको ध्यानाकर्षण गराएको छ ।
मञ्चका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर तामाङको नेतृत्वमा बुधबार मन्त्रालय पुगेको मञ्च प्रतिनिधिमण्डलले मन्त्री तामाङलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको समस्याप्रति ध्यानाकर्षण गराएको हो ।
त्यसअवसरमा मञ्चका महासचिव तथा नेकपा माओवादी केन्द्रको उद्यमी व्यवसायी महाशाखा उपाध्यक्ष कुन्छा दोर्जे डिम्दोङ्गले बजेट एयरलाइन्सहरूले दोब्बर हुनेगरी हवाई भाडा बढाएर ४–५ घण्टाको उडानमा खाना र पानीसमेत नदिएर कामदारहरूमाथि ज्यादती गरेको भन्दै वार्षिक १२ खर्ब रिमिट्यान्स पठाउने कामदारमाथि तल्लो दर्जाको अपमानित व्यवहार हुनु दुखद् भएको बताए ।
उनले एयरलाइन्सहरूको हेपाहा व्यवहार रहेको तर दोष जति वैदेशिक रोजगार व्यवसायीलाई दिने प्रवृत्तिले व्यवसायीहरू अनाहकमा बदनाम हुनुपर्ने अवस्था रहेको भन्दै व्यवसायी बदनाम हुने अवस्थाको अन्त्य गर्न पनि मन्त्री तामाङको ध्यानाकर्षण गराए ।
जवाफमा मन्त्री तामाङले मञ्च प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गर्दै वैदेशिक रोजगारमा जाने कामदार सम्मानित हुनुपर्नेमा अपमानित भएको घटनाप्रति आफ्नो र मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए । मन्त्री तामाङले मञ्चले उठाएको विषयमा मन्त्रालयले सत्यतथ्य खोजी गरि एयरलाइन्सहरूलाई सचेत र कारबाहीको तहसम्म पुर्याउने आश्वासन दिए ।
मन्त्री तामाङले हवाई भाडा मन्त्रालयको कार्यक्षेत्रभित्रको परेकाले त्यसमा मन्त्रालय गम्भीर रहेको भन्दै सुधारका लागि आवश्यक परे व्यवसायीसँग थप छलफल गर्ने पनि प्रतिबद्धता जनाएको मञ्चले बताएको छ ।
बजेट एयरलाइन्सले वैदेशिक रोजगारीमा जाने कामदारलाई टिकटभित्रबाट खाना, पानी नदिएर एक बोतल पानीलाई एक सय रूपैयाँमा बेच्ने गरेको गुनासो पटक–पटक सार्वजनिक भएको थियो । यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले पनि कामदारको उडानमा खानाको व्यवस्था अनिवार्यरूपमा गर्न आग्रह गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies