एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन् । राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिकरूपमा आफ्नो अभियान शुरु गर्नको लागि एउटा भिडियो जारी गर्ने योजनालाई अन्तिम रूप दिइरहेको वाशिङ्गटन पोस्टले उल्लेख गरेको छ ।
द वाशिङ्गटन पोस्टका अनुसार राष्ट्रपति बाइडेन र उनका सहयोगीहरूले मंगलबार बाइडेनको सन् २०२० अभियान शुरुवातको चार वर्षे वार्षिकोत्सवको अवसरमा भिडियो जारी गर्ने निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले महिनौंदेखि आफू दोस्रो कार्यकालको लागि उम्मेदवार हुने योजनाको संकेत गरेका छन्, तर आधिकारिक घोषणा भने गरेका छैनन् ।
राष्ट्रपतिका शीर्ष सहयोगीहरूले चुपचाप चुनावी दौडको लागि व्यापक तयारी गरेका छन् । त्यसका निम्ति उनीहरूले राष्ट्रपति र प्रथम महिलासँग गत वर्षदेखि ह्वाइट हाउस निवासमा नियमित भेटघाटहरू गर्दैछन् ।
बाइडेनका दुई शीर्ष सल्लाहकारहरू, अनिता डन र जेन ओ'माली डिलनले पुन: निर्वाचन प्रयासहरूको निरीक्षण गर्दै आएका छन् । शीर्ष भूमिकाका लागि कर्मचारीहरूको अन्तर्वार्ता सहित उनीहरू आन्तरिक तयारीमा होमिएका छन् । उता डेमोक्र्याटिक राष्ट्रिय समितिले चुनावी परिदृश्य अध्ययन गर्न अनुसन्धान परियोजनाहरूलाई आर्थिक सहयोग गरिरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies