एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले एक भिडियो सन्देश जारी गर्दै राष्ट्रपतीय निर्वाचनमा पुनः उममेदवारी दिने घोषणा गरेका हुन् ।
अमेरिकाका ४६ औँ राष्ट्रपति बाइडेनले भिडियोमा गर्भपतनको अधिकार, लोकतन्त्रको संरक्षण, मतदानको अधिकार र सामाजिक सुरक्षालाई सन् २०२४ मा हुने चुनावमा सबैभन्दा महत्वपूर्ण विषय हुने बताएका छन् ।
उनले आगामी पुस्तालाई ‘अधिक वा कम स्वतन्त्रता’ र ‘अधिक वा कम अधिकार’ दिने विकल्प मतदातासँग हुने बताए ।
भिडियोको साथमा जारी गरिएको एक प्रेस विज्ञप्तिमा बाइडेनले ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार जुली चाभेज रोड्रिग्वेज उनको अभियान प्रबन्धक हुने उल्लेख गरेका छन् ।
८० वर्षीय बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन् । सन् २०२४ मा हुने चुनाव जितेमा २०२९ मा दोस्रो पूर्ण कार्यकालपछि उनी ८६ वर्षका हुनेछन् ।
‘अमेरिकी भावनाको पुनर्स्थापन’ गर्ने वाचा गरेका उनले सन् २०२० को चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएका थिए ।
यसैबीच उपराष्ट्रपति कमला ह्यारिसले पनि आफू पनि उपराष्ट्रपति पदको दौडमा रहने बताएकी छन् । सन् २०२० मा ५८ वर्षीया ह्यारिस देशको पहिलो महिला उपराष्ट्रपति भएकी थिइन् ।
उनले ट्विट गर्दै फेरि चुनाव लड्ने घोषणा गरेकी हुन् । उनले ट्विटमा लेखेकी छन्, ‘अमेरिकी भएको नाताले हामी स्वतन्त्रता र अधिकारमा विश्वास गर्छौं । हामी विश्वास गर्छौं कि हाम्रो लोकतन्त्र त्यति बलियो हुनेछ जब हामी यसका लागि लड्न तयार छौं । यस कारणले, जो बाइडेन र म फेरि प्रतिस्पर्धा गर्न जाँदैछौं ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies