शहबाज खान/मध्यान्ह
कपिलवस्तु : साउदी अरेबियाले सुडानबाट विभिन्न देशका अलपत्र परेका थप १ सय ९९ जनालाई स्वदेश फर्काएको छ । साउदी परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार १० जना साउदी नागरिक र १ सय ८९ अन्य देशका नागरिक बोकेको साउदी जहाज जेद्दास्थित किंग फैसल नौसेना बेसमा पुगेको छ ।
'साउदी अरेबियाको नेतृत्वको निर्देशनमा सुडानबाट आफ्ना नागरिक र मित्र राष्ट्रका नागरिकहरूलाई सुडानबाट उद्धार गर्ने प्रयासको निरन्तरतामा १० साउदी नागरिक र मित्र राष्ट्रका १ सय ८९ नागरिकहरू जेद्दा आइपुगेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
सुडानबाट उद्धार कार्य शुरु भएदेखि हालसम्म एक सय एक जना साउदी नागरिक र २६ राष्ट्रका २५५ जना गरी ३ सय ५६ जनालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।
उद्धार गरिएकामा अमेरिका, बेलायत, स्वीडेन, इटाली, कतार, सिरिया, नेदरल्याण्ड, इराक, टर्की, तान्जानिया, लेबनान र लिबियाका नागरिकहरु रहेका छन् ।
जेद्दाहमा आफ्ना देशको प्रतिनिधित्व गर्ने एक दर्जनभन्दा बढी कूटनीतिज्ञहरू उद्धार गरिएका नागरिकलाई स्वागत गर्न उपस्थित थिए । साउदीले विदेशी नागरिकहरूलाई उनीहरूको देशमा प्रस्थान गर्नका लागि सहजीकरणसमेत गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies