एजेन्सी : भारतको मणिपुरमा अखिल आदिवासी विद्यार्थी संघ मणिपुरले आयोजना गरेको सार्वजनिक जुलुस हिंसात्मक भएपछि प्रशासनले सुरक्षाकर्मीलाई घटनास्थलमा गोली चलाउने आदेश दिएको छ ।
राज्यका अधिकांश जिल्लामा कर्फ्यू लगाइएको छ । स्थिति नियन्त्रणमा लिन सेना र असम राइफल्सका जवानहरूलाई तैनाथ गरिएको छ ।
यसअघि सेनाले राज्य प्रहरीसँग मिलेर धेरै ठाउँमा हिंसा नियन्त्रण गरेको र फ्ल्याग मार्च पनि गरेको बताएको थियो ।
बुधबारदेखि तत्काल लागू हुने गरी पाँच दिनका लागि राज्यभर मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ ।
तर यो व्यापक हिंसाका सम्बन्धमा सामाजिक सञ्जालमा शेयर भएका तस्विर र भिडियोमा धेरै ठाउँमा घर जलेको देख्न सकिन्छ । भिडियोमा केही व्यक्तिहरू चुराचन्दपुरको हतियार पसलमा घुसेर बन्दुक लुट्दै गरेको देख्न सकिन्छ ।
केन्द्रीय गृहमन्त्री अमित शाहले बिहीबार मुख्यमन्त्री एन. वीरेन सिंहसँग कुरा गरी राज्यको वर्तमान अवस्थाबारे जानकारी लिएका थिए ।
यसैबीच, मणिपुरका मुख्यमन्त्रीले भिडियो विज्ञप्ति जारी गर्दै राज्यका सबै समुदायलाई शान्ति कायम राख्न अपिल गरेका छन् ।
अप्रिल १९ मा मणिपुर उच्च अदालतले राज्य सरकारलाई चार हप्ताभित्र मेइती समुदायलाई अनुसूचित जनजाति (एसटी) श्रेणीमा समावेश गर्ने अनुरोधलाई विचार गर्न भनेको थियो । आफ्नो आदेशमा, अदालतले केन्द्र सरकारलाई यसको विचारको लागि सिफारिस पठाउन पनि भनेको थियो ।
यसको विरोधमा अल ट्राइबल स्टुडेन्ट्स युनियन मणिपुरले राजधानी इम्फालबाट करिब ६५ किलोमिटर टाढा रहेको चुराचांदपुर जिल्लाको तोरबंग इलाकामा बुधबार ‘आदिवासी एकता मार्च’ र्याली निकालेको थियो । यो र्यालीमा हजारौँ मानिसको सहभागिता रहेको थियो । सो क्रममा हिंसा भड्किएको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies