१५३ जनाको ज्यान लिएको जाजरकोट भूकम्पबाट ३५ हजार घरपरिवार खुला आकाश मुनि पुगेका छन् । गएको १७ असोजमा गएको भूकम्पबाट घर भत्किएपछि त्रिपाल टाँगेर बसिरहेका ती परिवारलाई चिसोबाट बच्नुपर्ने अर्को समस्या थपिएको छ । चिसोबाट बिरामी पर्नेहरुको संख्या बढ्दो छ । स्थानीयका अनुसार, चिसोबाट सात जनाको मृत्यु भइसकेको छ । यस्तो बेला पीडित परिवारको अभिभावक बन्नुपर्ने सरकारको दायित्व हो । तर सरकार अहिले राहत संकलनको हिसाब गरेर बसिरहेको छ । संकलित सहयोग सामग्री एकद्वार प्रणालीकै नाममा प्रभावकारी वितरण हुन सकेको छैन । सरकारले नै दिएको जानकारी अनुसार पनि सरकारी कोषमा १५ करोड बढी आर्थिक सहयोग संकलन भएको छ ।
यो रकम भुकम्प पीडितका लागि संकलन भएको हो । सरकारले संकलित रकम पुनर्स्थापनामा खर्च गर्ने तयारी गरेको छ । सरकारको निर्णय सही नै हो । अझ ०७२ सालको भूकम्प पीडितहरुलाई मनपरी ढंगले राहत वितरण गर्दा देखिएको बिकृति हल गर्न अपनाइएको एकद्वार प्रणाली पनि गलत होइन । तर त्यसरी एकद्वार नीति अपनाउँदा सरकारले गति बढाउन आवश्यक छ । त्यसो हुन नसके यो प्रणाली उल्टै प्रत्युत्पादक बन्न सक्ने देखिएको छ । किनकि पीडितहरुले आवश्यक उद्धार र राहतपछि तत्काल हुनुपर्ने अस्थायी÷स्थायी पुनर्स्थापना सरकारले गरिररहेको छ भन्ने अनुभूति गर्न सकेको छैन ।
त्रिपालमा बसिरहेकाहरु दीर्घरोगीहरुमा नियमित औषधिको समस्या देखिएको छ । उच्च पहाडी र हिमाली क्षेत्र भएकाले चिसो बढ्दो छ । पीडितहरुका निम्ति भरपर्दो अस्थायी बसोबासको व्यवस्था हुन सकेको छैन । बरू राजनीतिक तथा सामाजिक क्षेत्रबाट खटिएका स्वंयसेवकहरुले अस्थायी टहरा निर्माण गरिरहेका छन् । तर, सरकारसँग अनुमति लिनुपर्ने काम उनीहरुले पनि गर्न सकेका छैनन् । जबकी यो बेला सरकारले ती स्वयम् सेवकहरुसँग आवश्यक समन्वय गर्न आवश्यक छ । दाताहरुलाई विश्वास दिलाउँदै आर्थिक बढाउन जरुरी छ । त्यो भन्दा पनि महत्वपूर्ण पहलकदमी पीडितहरुको सुरक्षा नै हो । संकलित रकमले त्यो काम पुरा नहुन सक्छ । त्यस्तो परिस्थितिमा राज्य कोषबाट भएपनि भूकम्प पीडितहरुका निम्ति भरपर्दो अस्थायी पुनर्स्थापनाको प्रबन्ध गरिनुपर्छ । भूकम्पको मनोवैज्ञानिक भयबाट बालबालिकालाई सामान्य अवस्थामा फर्काउने, बृद्धबृद्धाका निम्ति विशेष व्यवस्था गर्ने जस्ता काममा समेत सरकारको ध्यान जान जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies