लामो समयदेखि मुलुकको नेतृत्व गरिरहेका पुराना दलहरुलाई विवादित व्यावसायी दुर्गा प्रसाइँ समस्या बनेको देखिन्छ । केही समय यताका सरकारको निर्णय, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति र नेकपा एमालेको निर्णयले प्रसाईँ समस्या बनेकै पुष्टि हुन्छ । किनभने माइतीघरदेखि नयाँ बानेश्वरसम्म, प्रधानमन्त्रीको निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शितल निवास परिसरमा निषेधित क्षेत्र घोषणा गर्नुपर्ने बलियो कारण देखिदैन । प्रसाईँले अहिलेको व्यवस्था उल्ट्याउने भनेर राजधानी केन्द्रीत प्रदर्शनको आह्वान गरेपछि यी क्षेत्रहरुलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रसाईँको प्रदर्शनविरुद्ध प्रतिवादमै उत्रने निर्णय गरेको छ । युवा र विद्यार्थीलाई आज (बिहीबार) तिनकुनेमा उतार्दैछ । प्रसाईँलाई कलंकी क्षेत्रमा प्रदर्शन गर्न भनिएको छ । प्रसाईँ र एमालेले एकैठाउँ माइतीघरमै प्रदर्शन गर्ने भनेपछि स्थानीय प्रशासनले त्यो क्षेत्रलाई निषेधित क्षेत्रको निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले प्रसाईँकै गतिविधिलाई लिएर १२ बुँदे सम्झौताका पक्षधर दलहरुको बैठक राखेका थिए । तनहुँ पुगेर प्रसाईविरुद्ध हुने प्रदर्शनलाई प्रमुख दलहरुको समर्थन रहेको पनि बताएका थिए । अझ असंगठित व्यक्तिहरुलाई लिएर प्रसाईँ आन्दोलनमा उत्रने भनेपछि लोकप्रिय सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको छ । सरकारको निर्णयमा नेपाली कांग्रेस, एमाले सहित मुख्य दलहरुको समर्थन देखिएको छ । अर्थात् एउटा व्यक्तिलाई सरकार र प्रमुख दलहरुले समस्या मानिरहेको देखिन्छ । अर्कातिर प्रसाईँले असन्तुष्ट नागरिकलाई प्रलोभन देखाएर आफ्नो कुरा राखिरहेको देखिन्छ । किनकि राजधानीको प्रदर्शनमा प्रसाईँले बैंक तथा वित्तीय संस्थाका पीडितहरुलाई ल्याएको अनुमान गरिएको छ ।
सार्वजनिक अभिव्यक्तिहरुमा प्रसाईँले यो आन्दोलन पछाडि बैंक र वित्तीय संस्थाहरुबाट लिएको ऋण मिनाहा हुने बताएकाले पनि त्यस्तो अनुमान गर्न सकिन्छ । यसअघि पनि लघुवित्त पीडितहरुको आन्दोलन प्रसाईँ थिए, र उनले राख्ने प्रदर्शनमा पीडितहरु सहभागी थिए । कतिपयले प्रसाईँले पीडितहरुलाई दुरुपयोग गरेको टिप्पणी गरेका थिए । हुनपनि प्रसाईँले भनेजस्तो सजिलै ऋण मिनाहा हुने आधार कमजोर छ । अर्कातिर सरकार र प्रमुख दलहरुले भने ती पीडित नागरिकका समस्या सम्बोधन गर्नेतिर जोड नदिएर प्रसाईँलाई समस्या मानेको देखिन्छ । सरकार र संस्थापनको यो उल्टो बाटो हो भने प्रसाईँको अराजक अभियान हो । किनकि समस्या समाधानका निम्ति अनेक विकल्प हुन सक्ने भएपनि प्रसाईँले व्यवस्था र संविधानलाई समस्या भनिरहेका छन् । यी समस्याहरुको समाधान गर्ने मूल दायित्व फेरिपनि प्रमुख नेतृत्वकै हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies