बहुप्रचारित ७ मंसिरमा नेकपा एमाले र दुर्गा प्रसाईँ समूहले अलग–अलग प्रदर्शन ग¥यो । एमालेका युवा–विद्यार्थीले राजधानीको तिनकुने र बल्खुमा प्रसाईँ समूहले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा सामान्य झडप हुँदा केही घाइते भए । तिनकुनेतर्फ जाँदै गरेको एमाले कार्यकर्ता र प्रसाईँका समर्थकहरुबीच ढुंगा हानाहान भएको थियो । यो मुठभेड सजिलै प्रहरीले नियन्त्रणमा लियो । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रसाईँका समर्थकहरुमाथि प्रहरीले अश्रुग्याँस र पानीको फोहरा हान्दा केही घाइते भए । यसबाहेक आ–आफ्नो दाबी र आरोप–प्रत्यारोप गरेर प्रदर्शन सकियो । एमालेले व्यवस्था जोगाउने शक्तिका रुपमा आफ्नो आन्दोलनलाई निरन्तरता दिने भनेको छ भने प्रसाईँले राजतन्त्र फर्काएर मात्रै बिसाउने घोषणा गरेको छ । यी दुई समूहको प्रदर्शनका कारण राजधानी उपत्यका बिहीबार दिनभर सुनसान बन्यो ।
सुरक्षा निकायले दिएको जानकारी अनुसार, दुवैतिर गरी १५ हजार जति प्रदर्शनमा उत्रिएका थिए । तर यही उपस्थितिलाई लिएर सामाजिक सञ्जाल, सरकार र राजनीतिक नेतृत्वले चर्को बहस गरिरहेका छन् । विशेषगरी दुर्गा प्रसाईँले उतारेको जनप्रदर्शनबारे अनेक आँकलन भइरहेको छ । प्रसाईँले जनविद्रोह भनेको प्रदर्शनमा हिन्दूवादी समूह, राप्रपाका कार्यकर्ता र वित्तिय संस्थाको चर्को ब्याजमा परेकाहरु आएको बताइएको छ । त्यही उपस्थितिलाई लिएर प्रसाईँ उत्साहित देखिन्छन् । त्यसैले उनी निरन्तर प्रदर्शन गर्ने बताइरहेका छन् । सरकारले पनि उनको गतिविधिलाई चासोका साथ हेरेको देखिन्छ । त्यसैअनुसार भएको सरकारी निर्णयले राजधानी उपत्यकाको दिनचर्या बिहीबार प्रभावित बनेको थियो ।
एक हिसाबले भन्दा प्रसाईँ समूहको प्रदर्शनबाट सरकार र प्रमुख प्रतिपक्ष दल हच्किएको छ । उनीहरुले व्यवस्था उल्टिन नदिने भनेर राजनीतिक कार्यक्रम गर्नेदेखि सरकारी निर्णय लिइरहेका छन् । तर कतिपयले यसलाई सरकारको उल्टो बाटो भनेका छन् । उनीहरुको तर्कमा बलियो आधार पनि देखिन्छ । जस्तो कि प्रसाईँको आन्दोलनमा वित्तीय संस्थाको चर्को ब्याजमा परेकाहरु धेरै छन् । उनीहरुले यसअघि पनि धेरैपटक आन्दोलन गर्दै आएका थिए । तर सरकारले चित्तबुझ्दो निर्णय गर्न नसक्दा फेरि व्यवस्थाविरुद्ध भनिएकै आन्दोलनमा आएका छन् । यसको अर्थ प्रसाईँ समूहलाई नागरिक असन्तुष्टिले मलजल गरिरहेका छन् । यदि अहिलेकै व्यवस्था जोगाउने हो भने सरकार र राजनीतिक नेतृत्वले यसतर्फ सोच्न जरुरी छ । कुनै व्यवस्थाप्रति गरिने चिन्ता वा लहरले मात्रै पुग्दैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies