देशभर अत्याधिक चिसो बढेर गएको छ । मधेशका जिल्लाहरुमा शितलहर र उच्च पहाडी एवम् हिमाली जिल्लाहरुमा हिमपातको संभावना बढेर गएको छ । हिउँदको चिसो बढिरहँदा सवैभन्दा धेरै पीडा भने भूकम्प पीडित परिवारलाई परेको छ । गएको १७ असोजमा गएको भूकम्पबाट खुला आकाश मुनि अहिले ३५ हजार बढी परिवार छन् । घर भत्किएपछि त्रिपाल टाँगेर बसिरहेकाहरुलाई चिसोले सताउँदा कम्तिमा आठ जनाको मृत्यु भइसकेको छ । चिसोले बालबालिका र बृद्धबृद्धालाई विशेषगरी चिसोले सताएको छ । सुत्केरी महिला र शिशु दुवैलाई चिसोले ज्वरो र निमोनियाको समस्या देखिने गरेको छ । तर अस्थायी टहरा निर्माण कार्यले गति लिने सकेको छैन ।
प्रमुख दलहरुले अस्थायी टहरा निर्माण गर्न आ–आफ्नातर्फ टोली खटाएका छन् । तर पुनर्निर्माणमा खटिएका दलहरुको स्वयम् सेवक टोली सानो छ भने भत्किएका घरहरुको संख्या असाध्यै ठूलो छ । तसर्थ स्वयम् सेवकहरुको टोलीले पुनर्निर्माणमा गर्ने टहराको संख्याले भूकम्प पीडितहरुको असाध्यै सानो संख्याले मात्रै लाभ पाउने देखिन्छ । अर्थात् भूकम्प पीडितहरुले यो हिउँद त्रिपालमै काट्नुपर्ने प्रष्ट संकेतहरु देखिदैछन् । किनकि सरकारी संयन्त्रबाट अस्थायी टहरा निर्माणमा व्यवस्थित र भरपर्दो प्रयत्न हुने संभावना कमै छ । तर सामाजिक संघसंस्था र राजनीतिक दलहरुको पहलकदमी प्रभावकारी हुन सक्छ । अझ मुख्य राजनीतिक दलहरुले दिने सन्देश महत्वपूर्ण हुन्छ । उनीहरुको अपिलले अरु सामाजिक संघसंस्थालाई पनि प्रोत्साहित गर्न सक्छ ।
तर जाजरकोट केन्द्र भएर १५६ जनाको ज्यान जानेगरी गएको भूकम्प पीडितहरुको सहयोगमा जुट्नुको साटो मुख्य दलहरु एउटा स्वयम् सेवक टोली परिचालित गरेर पञ्छिएको छ । बरु दलहरु काठमाडौं केन्द्रीत प्रदर्शनको भूमरीमा फसेका छन् । ब्यापारी दुर्गा प्रसाईँले राजतन्त्र फर्काउने घोषणासहित प्रदर्शन थालेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिवादमा ठूलो आन्दोलन चर्काउने भनिरहेका छन् । बिहीबार युवा तथा विद्यार्थीलाई राजधानी तिनकुनेमा प्रतिवाद प्रदर्शन गरे । प्रसाईँले राजतन्त्र नफर्काएसम्म आन्दोलन नरोक्ने भनिरहेका छन् । प्रसाईँको गतिविधि रोक्नेगरी सत्तारुढ दल र सरकारी संयन्त्र पनि परिचालित छन् । राजधानी उपत्यकामा सुरक्षाकर्मीको उपस्थिति समेत बाक्लो बनाइएको छ । आमसर्वसाधरणमा जाजरकोटका पीडितहरुको चिन्ता भन्दा पनि राजतन्त्र फर्काउने र अहिलेकै व्यवस्था जोगाउने बहस भइरहेको छ । तर मुलुकको ध्यान जानुपर्ने चाहिँ राजधानी उपत्यकाको प्रदर्शन नभएर जाजरकोटका भूकम्प पीडितहरुमै हो । जानुपर्ने बानेश्वर होइन, जाजरकोट नै हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies