मनोज साह/मध्यान्ह
रौतहट : रौतहट प्रहरीले एक अस्पतालमा कार्यरत तीन जना नक्कली स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र उपचार गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरुले बिरामीहरुको एपेन्डिसाइटिस, पायल्स, युट्रेसलगायतका शल्यक्रिया गर्दै आएको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यमुनामाई गाउँपालिका वडा नं. १ सुकदेव चोकमा रहेको सगरमाथा तराई हस्पिटल प्रा.लि.मा कार्यरत तीन जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना ढाका वडा नं. १४ खैरवा बस्ने ४५ वर्षीय हसिंन अख्तर, सोही जिल्ला वडा नं. ३ वटोआ बस्ने २७ वर्षीय मो. तबरेज आलम र यमुनामाई गाउँपालिका वडा नं. २ भेडियाही टोल बस्ने २७ वर्षीय कलाम मन्सुरी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार उनीहरुलाई गत फागुन १ गते जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा पक्राउ गरिएको हो । उनीहरुसँग बिरामीहरुको उपचार गर्न पाउने इजाजत पत्र माग गर्दा इजाजतका साथै निर्धारित शैक्षिक योग्यताको प्रमाण प्रत्र पनि नभएको उनले बताए ।
उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता समेत गरिएको उनले जानकारी दिए । यसमा संलग्न अन्य व्यक्तिहरुको समेत पहिचान गरी खोजतलास गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।
केही वर्षयता रौतहटमा दर्ता अनुमति पत्र नलिइ अस्पताल सञ्चालन भइरहेको पाइएको छ । सम्बन्धित निकायले रौतहटमा सञ्चालित अस्पतालहरुको अनुगमन नगर्दा अकालमा नागरिकहरुले ज्यान गुमाउनु परिरहेको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टिका घिमिरेले बताए । रौतहट जिल्लाभरका निजी स्वास्थ्य संस्थाहरुको अविलम्ब अनुगमन गर्न अध्यक्ष घिमिरेले माग गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies