काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी गरेको छ । श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एवम् गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने गरी मन्त्रालयले सञ्चालनमा ल्याउन लागेको श्रमाधान कल सेन्टरको कामलाई प्रभावकारी बनाउन कार्यविधि जारी गरेको हो ।
मन्त्रालयले गत वैशाख १२ गते कार्यविधि स्वीकृत गरेको हो । यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मितिबाट लागू हुने कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिअनुसार श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरुको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुर्याएर समाधान गर्ने सुविधा हो । त्यस्तै, श्रमाधान भन्नाले मन्त्रालय र मातहतका निकायहरुसँग सम्बन्धित सम्पूर्ण सूचना र आउने गुनासो, जिज्ञासा र समस्याहरु एकद्वार प्रणालीबाट सम्बोधन गरी समाधान गर्ने पद्धति हो ।
श्रमिकहरुले विद्युतीय माध्यम (ट्याब्लेट, टेलिफोन, मोबाइल, स्मार्ट टिभी, स्मार्ट वाच) लिखित, मौखिक, ध्वनि, श्रव्य, श्रव्यदृश्य आदि माध्यमको प्रयोग गरेर प्रत्यक्ष, अप्रत्यक्ष र अन्य विद्युतीय माध्यमबाट श्रमाधानमा गुनासो, जिज्ञासा, समस्या र सुझाव सम्प्रेषण गर्न सक्नेछन् । सामाजिक सञ्जाल (फेसबुक, ह्वाट्सएप, भाइबर, इमो, इन्स्टाग्राम, इमेल, एक्स, सिग्नल) बाट पनि गुनासो दर्ता गर्न सक्नेछन् ।
श्रमाधान कल सेन्टरमा प्राप्त भएका गुनासोलाई श्रम मन्त्रालय र अन्र्तगतका निकायहरुमा सिफारिस गरिनेछ । गुनासोको तत्काल सम्बोधन गर्नका लागि सम्बन्धित सबै निकायमा फोकल पर्सन पनि तोक्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । दर्ता गराएको गुनासो वा समस्या समाधान नभएसम्म सम्बन्धित श्रमिकलाई कल सेन्टरका कर्मचारीले सबै जानकारी दिनुपर्नेछ । समस्या समाधान नभएसम्म फलोअप गर्नुपर्नेछ ।
संवेदनशीलताको आधारमा गुनासोको वर्गीकरण गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । अति जरुरी, जरुरी, मध्यम, सामान्य, तामेली गरी गुनासोको वर्गीकरण गर्नुपर्ने छ । यसका साथै गुनासोको क्षेत्रका आधारमा पनि गुनासो वर्गीकरण गर्नुपर्नेछ । श्रम मन्त्रालय र मन्त्रालयअन्तर्गतका माहाशाखाहरु, वैदेशिक रोजगार विभाग र मातहतका कार्यालयहरु, वैदेशिक रोजगार बोर्डको सचिवालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहतका कार्यालयहरु, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र सामाजिक सुरक्षा कोषसँग सम्बन्धित गुनासोलाई वर्गीकरण गर्नुपर्नेछ ।
श्रमाधान कल सेन्टरको एकीकृत अभिलेखलाई विद्युतीय र दस्तावेज अभिलेख गरी दुई किसिमबाट व्यवस्थित गर्नुपर्नेछ । विद्युतीय अभिलेख श्रमाधान कल सेन्टरका अभिलेखको विद्युतीय रुप तयार गरी गुनासोहरु अभिलेखीकरण गरिनेछ ।
दस्तावेज अभिलेख
श्रमाधान कल सेन्टरमा प्राप्त गुनासोहरुको दस्तावेज आवश्यकताका आधारमा दैनिक, साप्ताहिक, पाक्षिक, मासिक अर्धवार्षिक र वार्षिकरुपमा प्रिन्ट गरेर राख्नुपर्ने व्यवस्था कार्यविधिमा छ । मन्त्रालय र मातहतका नियकासँग सम्बन्धित सुझावहरुलाई छुट्टै अभिलेखीकरण गरी मन्त्रालयमा पठाउनुपर्नेछ । मन्त्रालय र मातहतका निकायहरुले आफ्नो कार्यालयसँग सम्बन्धित गुनासोहरुको सुनुवाइ गर्न पूर्णकालीन फोकल फर्सन नियुक्त गर्नुपर्ने व्यवस्था पनि कार्यविधिमा छ ।
आफ्नो निकाय अन्तर्गतका कार्यालयहरुसँग सम्बन्धित साइट, लेटर प्याड एवम् सरोकारवालासमक्ष पुग्ने सबै कागजातमा श्रमाधान कल सेन्टरसँग सम्बन्धित जानकारी अनिवार्यरुपमा उल्लेख गरी श्रमाधान कल सेन्टरमार्फत सम्बोधन भएका गुनासोहरुको मुख्य परफरमेन्स इन्डिकेटर बनाएर त्यसको आधारमा फोकल पर्सनहरुको कार्यसम्पादनको मूल्यांकन गर्न समन्वय गर्नुपर्ने पनि कार्यविधिले व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । हरेक महिना प्राप्त गुनासो र त्यसको समाधानको प्रगति विवरण मन्त्रालय मातहतको वेब पेजबाट सार्वजनिक गर्नुपर्ने पनि कार्यविधिमा व्यवस्था गरिएको छ ।
नेपालमा वा विदेशमा रहेका श्रमिकले श्रम र रोजगारसँग सम्बन्धित समस्या, गुनासो, सुझाव र जिज्ञासा भएमा श्रमाधान कल सेन्टर कक्षमा आफैं उपस्थित भइ गुनासो दर्ता गराउने, पत्राचार गर्ने वा टोल फ्रि टेलिफोन नम्बर ११४१ वा १६६००१५०००५, ९७७–८०१८०००१३, +९७७–०१–५९७०००८ वा +९७७–९८५१३४७२२२ मा कल वा एसएमएसमा सम्पर्क गरेर गुनासो दर्ता गराउन सकिने मन्त्रालयले बताएको छ । मन्त्रालयले shramadhan@feb.gov.np मा इमेल गरेर वा श्रमाधान कल सेन्टरको आधिकारिक फेसबुक पेज facebook.com/shramadhan2 मा मेनसन, ह्यासट्याग र म्यासेज पठाएर पनि गुनासो गर्न सकिने बताएको छ ।
त्यस्तै श्रमाधान कल सेन्टरको आधिकारिक एक्स पेज x.com/shramadhan2 मा मेनसन वा ह्यासट्याग र म्यासेज पठाइ वा युट्युब च्यानल youtube.com/@shramadhan मा कमेन्ट गरीपनि शिकायत गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।
श्रमाधान कल सेन्टरको आधिकारिक इन्स्टाग्राम Instragram.com/shramadhan2 मा मेनसन, ह्यसटयाग र म्यासेज पठाएर र +९७७–९८०१८०००१३, +९७७ –९८०१३०००३३, +९७७–९८५१३४७२२२ मा इमो, भाइबर, ह्वाट्सएप, सिग्नलमार्फत म्यासेज पठाएर पनि गुनासो दर्ता गर्न सकिने मन्त्रालयले बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies