आरके डिसी/मध्यान्ह
काठमाडौं : सोमबार प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भयो । उक्त भेटवार्तामा प्रधानमन्त्रीले लिने विश्वासको मत, राष्ट्रिय सभाको निर्वाचनका साथै प्रदेश सरकारहरुको सन्दर्भमा समेत छलफल भएको छ । प्रदेश सरकार हेरफेरका लागि सहजताका लागि दुई नेताबीचको भेटले कांग्रेस निकट प्रदेश प्रमुखहरु बर्खास्तीमा परेका छन् ।
ओली र प्रचण्डबीचको भेटपछि बसेको मन्त्रिपरिषद्को बैठकले तीन प्रदेश प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस कोटाका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस गरिएको हो ।
यसअघि माओवादी र कांग्रेसको गठबन्धन हुँदा शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुखरु नियुक्त गरेको थियो । यसपटक फेर्दा कांग्रेस निकटलाई हटाएर माओवादी निकटलाई यथावत राखिएको छ भने भयाँमा एमाले निकटकालाई पठाइएको छ । यो कदमलाई कतिपयले कम्युनिष्टहरुबीचको दुरी कम गर्ने र दीर्घकालीन सम्बन्धको आधार बनाउने रुपमा समेत ब्याख्या गरेका छन् ।
एमाले र माओवादी केन्द्रका नेताहरुले पनि नयाँ गठबन्धनलाई गठबन्धन नभइ सहकार्य भन्न थालेका छन् । एमाले अध्यक्ष ओलीले पार्टी बैठकमा र प्रधानमन्त्री प्रचण्डले संसदीय दलको बैठकमा एमाले एकीकृत समाजवादी र माओवादीको सत्ता सहकार्यलाई गठबन्धन नभनी सहकार्य नै भनिएको बताएका थिए । त्यसअनुसार प्रस्तुत हुन पनि उनीहरको निर्देश थियो ।
विगतमा यी तीन कम्युनिष्ट पार्टी एउटै पार्टीमा थिए । २०७४ सालमा भएको चुनावमा वाम तालमेल गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले २०७५ मा पार्टी एकता गरेर नेपाल कम्युनिष्ट पार्टी बनाएका थिए । तर उक्त एकता सर्वोच्च अदालतको फैसलासँगै भंग हुन पुगेको थियो । पार्टीभित्रको अन्तरद्वन्द्वका कारणले समेत उक्त एकताले निरन्तरता पाउन सकेन । बरु त्यही नेकपा हाल तीन वटा पार्टीको रुपमा संसदमा प्रतिनिधित्व गरिरहेको छ ।
पछिल्लो समय तत्कालीन नेकपामा रहेको प्रचण्डले नेतृत्व गर्दै आएको माओवादी केन्द्र, माधवकुमार नेपालले नेतृत्व गर्दै आएको एकीकृत समाजवादीले समाजवादी मोर्चा बनाएर कम्युनिष्ट एकताको पहल गर्दै आएका थिए । एमाले बाहिर रहेका बेला सरकारमा गएपयिछ नयाँ सहकार्यको सुरुवात भएको हो ।
तीन पार्टीका तीन नेतृत्व (केपी शर्मा ओली, प्रचण्ड र माधव नेपाल)का बीचमा औपचारिक र अनौपचारिक संवाद बाक्लिएपछि नेपाली राजनीतिमा एमाले, माओवादी र एकीकृत समाजवादी सहकार्य गर्दै एकतामा पुग्नुपर्ने आग्रह नेता÷कार्याकर्ताहरुको छ ।
यसबीचमा ओली नेपालका बीचमा समेत एक्ला एक्लै संवाद भएको छ । यस्तो संवादलाई कतिपयले सम्बन्ध सुधारको रुपमा समेत लिएका छन् । यो सँगै नेपालमा पुनः एमाले समेतको वाम एकताको लागि ओपचारिक पहलकदमी शुरु भएको नेता/कार्यकर्ताको विश्वास छ । कम्युनिष्टहरुका बीचमा सहकार्य सुरु भएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सार्वजनिक रुपमै खुसी प्रकट गरिरहेका छन् ।
उसो त एकीकृत समाजवादी कांग्रेस नेतृत्वको सत्तारूढ गठबन्धनमा सत्ता साझेदार दलका रूपमा थियो । तर, उक्त गठबन्धन उलटफेर हुँदा खनाल खुसी भएका हुन् । उनी निरन्तर भनिरहेका छन्, ‘गठबन्धनमा भएको परिवर्तनलाई मैले सकारात्मकरूपमै लिएको छु । मैले त पहिल्यै यही दिशातिर जानुपर्छ भनेर नेताहरूलाई पनि भनेकै थिएँ । अब फेरि एकपटक तीन कम्युनिष्ट एक हुने वातावरण बनेको छ । सहकार्य गर्दै एकतामा पुगेर मुलुकमा नयाँ संचार गराउन आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies