काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । मंगलबार बानेश्वरस्थित संसद भवनमा बसेको नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘भोलि हामी एकदम दिल खोलेर, बिना हिच्किचाहाट, मनको कुनामा कतै नराखेर सकरात्मक कदममा विश्वासको मत दिन्छौं ।’
ओलीले प्रचण्डलाई विश्वासको मत दिनु बाहेक अर्को कुनै विकल्प यति बेला नभएको पनि बताए । ‘यो बेस्ट अप्सन हो कि होइन भन्ने कुरा छोडिदिउ, यतिबेलाको अर्को कुनै अप्सन छैन,’ उनले भने, ‘दुईटा मात्रै अप्सन हो । कि त प्रचण्डको नेतृत्वमा यो समीकरण कायम रहन्छ । यसले जित्छ । कित त ७६(३) अनुसार नेपाली कांग्रेसको अल्पमतको सरकार बन्छ ।’
यदि विश्वासको मत लिने प्रस्ताव असफल भए मिलिजुली सरकार बनाउने प्रक्रिया समाप्त हुने र पहिलो दलको हिसाबले कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्ने भन्दै ओलीले त्यसलाई रोक्न पनि मत दिनुपर्ने जिकिर गरे। ‘भोलि यदि उहाँको प्रस्ताव असफल भयो भने ७६ (२) अर्थात मिलिजुली सरकारको च्याप्टर क्लोज हुन्छ,’ उनको भनाइ छ, ‘प्रस्ताव असफल हुने बित्तिकै प्रमुख पार्टीको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ । त्यो सरकार अल्पमतको, अयोग्य, दृष्टिकोणबिहिन, स्वाभिमानहिन, भवितव्यले आइलागेको, कुनै संकल्प नभएको बन्छ । त्यस्तो बन्न दिनुहुँदैन ।’
चलिरहेको गठबन्धन त्यागेर नयाँ गठबन्धन बनाउनु प्रचण्डको सकरात्मक कदम भएको ओलीको भनाइ छ । ‘अहिले प्रधानमन्त्रीले एकदम राम्रो काम गर्नु भएको छ, एकदम अनुचित गठबन्धन छोडेर एकदम उचित गठबन्धन बनाउन उहाँले पहलकदमी लिनु भएको छ,’ उनले भने, ‘कमसेकम एक, डेढ वर्षलाई उहाँको पद कुनै खतरामा थिएन । चलेकै थियो । तर, एक, डेढ वर्ष पदमा रहनु मात्रै होइन, देश अप्ठ्यारोमा प¥यो भन्ने रियालाइजेसन गरेर उहाँले फरक ढंगले कदम चाल्नु भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies