शिव विक/मध्यान्ह
काठमाडौं : राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभामा मंगलबार भएको निर्वाचनमा माओवादीका केन्द्रका दाहाल ३९ मत प्राप्त गर्दै बहुमतका आधारमा विजयी भएका हुन् । दाहाल सत्ता गठबन्धनको तर्फबाटका उम्मेदवार थिए ।
कांग्रेस र लोसपाको तर्फबाट युवराज शर्मा थिए । शर्मा र दाहालका लागि दुवै तर्फबाट पेस गरिएको प्रस्तावित मत बहुमतका आधारमा पारित गरिएको हो । जसमा ३९ मत लिएका माओवादीका दाहाल विजयी भएका हुन् ।
माओवादीका उम्मेदवार दाहाललाई माओवादीसहित नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन थियो भने कांग्रेसका शर्मालाई कांग्रेसबाहेक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को समर्थन थियो ।
शर्मालाई अध्यक्ष बनाउनुपर्ने प्रस्तावमा १७ जनाले मत दिएका थिए । ५९ सदस्यीय मतदानमा ५६ जनाले भाग लिएका थिए । राष्ट्रिय जनमोर्चाले दुवै उम्मेदवारलाई मत दिएन ।
निर्वाचनपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभालाई ओजपूर्ण पर्यास गर्ने प्रतिवद्धता जनाए ।
‘राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरताका साथ लिएर म अगाडि बढ्छु । त्यो कानुन निर्माण होस् अथवा अरु सवाल किन नहोस्’ दाहालले भनेका छन्, ‘राष्ट्रिय सभालाई ओजपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था रहेछ भन्ने खालको बनाउन म आफ्नो प्रयत्न गर्नेछु ।’
नवनिर्वाचित अध्यक्ष दाहालले सार्वजनिक प्रतिवद्धताअनुसार काम गर्न सके त्यो धेरै ठूलो उपलब्धी हुने बताउँछन् राष्ट्रिय सभामा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहाल । उनी थप्छन्, ‘उहाँको जे सार्वजनिक प्रतिवद्धता छ त्यो उहाँले गर्नुहुन्छ भन्ने विश्वास छ । त्यसो हुँदा राष्ट्रिय सभाको ओज बढ्छ । राष्ट्रिय सभा वर्तमानमा भन्दा भन्दा दह्रो हुन्छ ।’
संघीय संसद सचिवालयको विवरण अनुसार दाहाल पञ्चायतकालको उत्तरार्ध २०३२ सालदेखि राजनीतिमा निरन्तर छन् । २०३६ सालदेखि पूर्णकालिन राजनीतिमा सक्रिय भएका दाहाल २०४८ मा २०५७ सालदेखि माओवादीको केन्द्रीय सदस्य छन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि दाहाल २०६३ मा अन्तरिम व्यवस्थापिका संसदमा सदस्य थिए । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । २०७० सालको चुनावमा सोही क्षेत्रबाट पारजित भएका उनी त्यसयता संघीय संसदमा आउन सकिरहेका थिएनन् ।
गत वर्ष (२५ चैत २०७९ मा) तत्कालीन राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभामा छिरेका दाहालले यसवर्ष सभाको नेतृत्व गर्ने अवसर पाएका हुन् । राष्ट्रिय सभामा उनको कार्याकाल चार वर्ष बाँकी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies