दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : नेपाली कांग्रेससँगको सत्तागठबन्धन छाडेर नेकपा नेकपा एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादी सहितका दलहरुको समर्थनमा सरकारलाई अगाडि लैजान खोजेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् ।
प्रचण्डले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । २०७९ पुस १० गते एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत, नाउपा लगायत समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका थिए । उनले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यसबेला प्रतिपक्षीमा रहेको कांग्रेस सहितका दलको प्रचण्डले समर्थन पाए । संसद बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिएका थिए । उनले इतिहासमै पहिलोपटक सबै दलको समर्थन पाएका थिए ।
तर, राष्ट्रपतिको चुनावसम्म पुग्दा प्रचण्ड कांग्रेससँग नजिकिए । राष्ट्रपति चुनावमा माओवादीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएपछि एमालेसँगको समीकरण भत्कियो र नयाँ समीकरण बन्यो । प्रचण्डले फेरि दोस्रो पटक चैत ६ गते संसदमा विश्वासको लिए । त्यसदिन भएको मतदानमा उनलाई विश्वास छ भन्ने पक्षमा १७२ मत खसेको थियो । विपक्षमा ८९ मत परेको थियो ।
यही फागुन २१ गते प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर फेरि एमाले र रास्वपासँग गठबन्धन गरेपछि कांग्रेस प्रतिपक्षमा पुगेको छ । एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धन बनेको छ । यही गठबन्धनको समर्थन प्रचण्डलाई छ । यस आधारमा प्रचण्डले आज बुधबार विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्रसले तेस्रोपटक विश्वासको मत लिँदै गर्दा विगतमा भन्दा दृश्य केही बदलिएको छ । प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिलाउने र नयाँ समीकरणलाई दिगो बनाउने विषयलाई एमाले अध्यक्ष ओलीले प्रतिष्ठाकै विषय बनाएका छन् ।
तेस्रोपटक प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनु अगाडि एमाले अध्यक्ष ओलीले साना दलहरुसँग मत मागे । एकीकृत समाजवादीलाई विश्वासमा लिन पाँच दलबीच नयाँ सहमति गराए । नयाँ सहमतिमा यसअघि एमालेले राष्ट्रिय सभाको उपाध्यक्ष लिने विषय हटाइएको छ । प्रदेश सरकारमा एकीकृत समाजवादीलाई समेट्ने लगायतका विषयमा नरम भएका छन् । साथै ओलीले मंगलबार संसदीय दलको बैठक राखेर नयाँ समीकरण दीर्घकालीन भएको भन्दै पार्टीका सांसदहरुलाई सर्तक गराए ।
मंगलबार नै सत्तारुढ रास्वपा, एमाले, एकीकृत समाजवादीले सांसदहरुलाई प्रचण्डलाई विश्वासको मत दिन ह्वीप लगाइसकेका छन् । एमाले ७८, माओवादी ३२, रास्वपा २१, जसपा १२ र एकीकृत समाजवादीका १० सांसद छन् ।
नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । संसदीय दलका नेता रञ्जिता श्रेष्ठले मंगलबार चारैजना सांसदलाई अनिवार्य उपस्थित भएर विश्वाको मतको पक्षमा उभिन ह्वीप लगाएकी छन् । यी ६ दलको कूल मत १५७ हुन्छ ।
प्रतिनिधि सभामा सभामुख र उपभामुखसहित २७४ सांसद छन् । त्यमिध्ये दुईजना निलम्बित छन् । प्रधानमन्त्रीमा विश्वास छ भन्नका लागि १३८ मत आवश्यक पर्छ । ६ दल एकैठाउँमा रहँदा प्रचण्डले तेस्रो पटक पनि विश्वासको मत प्रष्ट छ ।
तर, केही गरी अवस्था फरक हुन सक्छ भन्दै एमाले अध्यक्ष ओलीले सत्तारुढ दलहरुलाई सतर्क गराएका छन् । केही गरी प्रचण्डले विश्वासको मत नपाए कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आउने भन्दै उनले ख्याल गर्न सुझाएका हुन् ।
नेपाली कांग्रेसले प्रचण्डको विपक्षमा मत दिन सांसदलाई ह्वीप लगाएको छ । प्रतिनिधि सभामा कांग्रेसका ८८ सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका चार जना सांसद छन् । लोसपा प्रचण्डलाई विश्वासको मत दिने विषयमा मंगलबारसम्म मौन छ । तथापि, मंगलबार भएको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा लोसपाले कांग्रेस उम्मेदवार युवराज शर्माको पक्षमा मतदान गरेको छ ।
राष्ट्रिय जनमोर्चाले पनि प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भनी निर्णय लिएको छैन । प्रतिनिधि सभामा लोसपाका एक जना सांसद छन् । स्वतन्त्र दुईजना सांसदहरु प्रभु साह र अमरेशकुमार सिंहले पनि कुनै निर्णय लिएका छैनन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies