दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : रुस सरकार रुसी सेनामा रहेका नेपालीहरुको करार रद्द गर्न सैद्धान्तिक रुपमा सहमत भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार रुस सरकारले रुसी सेनामा भर्ना भएका नेपालीलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको छ ।
सोमबार प्रतिनिधि सभामा उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले गराएको जानकारी अनुसार रुसी सेनामा रहेका नेपालीहरुको करार रद्द गरेर नेपालीहरुलाई नेपाल फर्काउने मोडालिटी तयार गरिँदैछ ।
यसबारे मस्कोस्थित नेपाली राजदूतावासले निरन्तर फलो गरिरहेको उनले बताए । आफूले रुसका विदेशमन्त्रीसँग टेलिफोन वार्ता गरेर रुसका तर्फबाट नेपालका लागि राजदूतलाई नेपाली नागरिकलाई भर्ना नलिन, सम्झौता खारेज गर्न, शव नेपाल पठाउन अनुरोध गरेको मन्त्री श्रेष्ठले संसदलाई जनकारी गराएका हुन् ।
‘रुसी विदेश मन्त्रालयले सेनामा भर्ना भएका नेपालीमध्ये घर फर्किन चाहनेलाई करार रद्द गर्ने बारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ । तर त्यसको मोडालिटी तय हुन बाँकी छ उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘यसबारे मस्कोस्थित नेपाली राजदूतावासले निरन्तर फलो गरिरहेको छ ।’
रुसी सेनामा भर्ना भई युक्रेनमा बन्दी भएकालाई समेत नेपाल फर्काउन सरकारले उच्च प्राथमिकता दिएको उनले बताए । यस सन्दर्भमा आफ्नो नीतिलाई स्पष्ट पार्दै नेपालीलाई त्यसबाट मुक्त गर्न र अन्य आवश्यक विषयमा पनि पहल कदमी लिँदै अगाडि बढिरहेको परराष्ट्रमन्त्री श्रेष्ठको भनाइ छ ।
रुसी सेनामा भर्ना भइ ज्यान गएकाको शव नेपाल पठाउने, घाइते तथा मृत्यु भएका पीडित परिवारलाई क्षतिपूर्ति गराउने, रुसी सेनामा भर्ना भएका नेपालीको संख्या, घाइते र अवस्थाबारे जानकारी माग गर्ने, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना भएका नेपालीलाई तत्काल नेपाल फर्काउने र युक्रेनमा युद्ध बन्दी भएका नेपालीलाई सिघ्र रिहाई गर्ने सरकारको स्पष्ट अडान रहेको उनले बताए ।
मन्त्री श्रेष्ठका अनुसार रुसी सरकारबाट मृतक र घाइतेका परिवारलाई क्षतिपूर्ति तथा विमाको रकम उपलब्ध गराउने काम प्रारम्भ भएको छ । उपयुक्त बैंकिङ माध्यम निर्धारण गर्न, क्षतिपूर्ति सहित विमा रकम नेपाली राजदूतावासको खातामा जम्मा गरी कन्सुलर सेवा विभागमार्फत पीडितलाई उपलब्ध हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies