काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार बोर्डले श्रमिकहरुका लागि सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवाको अवलोकन गरेका छन् । मन्त्री अर्यालको निजी सचिवालयका अनुसार बुधबार वीर अस्पताल पुगेर मन्त्री अर्यालले टेलिमेडिसिन सेवाको विषयमा जानकारी लिएका हुन् ।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा स्वास्थ्य समस्या बढ्दै गएपछि श्रम मन्त्रालयले बोर्डको आर्थिक सहयोगमा २०७९ चैत १० गतेदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो । हालसम्म १८ वटा मुलुकबाट वैदेशिक रोजगारमा रहेका श्रमिकले फेसबुक, ह्वाट्सएप, भाइबर, ईमोलगायतका सामाजिक सञ्जालमार्फत स्वास्थ्य समस्या राख्ने गरेका छन् । अस्पतालले विभिन्न ११ प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराएको बताइएको छ ।
वीर अस्पतालले बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्दे आएको टेलिमेडिसिन सेवाका लागि मेडिकल अधिकृत र हेल्थ असिस्टेन्ट नियमित खटाएको छ । प्रत्येक साताको शुक्रबार र आइतबार श्रमिकको स्वास्थ्य समस्याको आधारमा विशेषज्ञ चिकित्सकसमेत उपलब्ध गराइने गरेको बोर्डले बताएको छ । हाल दैनिक २५ देखि ३० जना श्रमिकले टेलिमेडिसिन सेवा लिइरहेको बताइएको छ ।
चालु आर्थिक वर्षको फागुन महिनासम्ममा एक हजार ६३२ जना श्रमिकले टेलिमेडिसिन सेवा लिएको जानकारी मन्त्री अर्याललाई दिइएको छ । मलेसियामा रहेका नेपालीले बढी मात्रामा टेलिमेडिसिन सेवा लिने गरेका छन् । मलेसियाबाट ३९४ जना, साउदी अरबबाट ३१० जना, यूएईबाट १९२ जना, कतारबाट १७५ जना, कुवेतबाट १७१ जना, दक्षिण कोरियाबाट १५७ जना, ओमानबाट ५७ जना, साइप्रसबाट ५३ जना, जापानबाट ४० जना, रोमानियाबाट ३५ जना, बहराइनबाट १२ जना, जाम्बियाबाट १० जना, जर्मनीबाट ९ जना, माल्दिभ्सबाट ७ जना, इराकबाट ४ जना, माल्टाबाट ३ जना, युकेबाट १० र अफ्रिकाबाट एक जनाले टेलिमेडिसिन सेवा लिएका छन् ।
टेलिमेडिसिन सेवामार्फत ४ सय जना श्रमिकलाई स्वास्थ्य तथा औषधिसम्बन्धी परामर्श उपलब्ध गराइएको बताइएको छ । टेलिमेडिसिन सेवासम्बन्धी जानकारी लिँदै मन्त्री अर्यालले यो सेवालाई अझै चुस्त तथा प्रभावकारी बनाइने बताएको पनि मन्त्री अर्यालको निजी सचिवालयले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies