काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृतिको प्रक्रियालाई व्यवस्थित बनाउन निर्देशन दिएका छन् । बिहीबार साँझ वैदेशिक रोजगार विभाग ताहाचलको अनुगमन गर्न पुगेका मन्त्री अर्यालले श्रम स्वीकृतिको प्रक्रियाका विषयमा कर्मचारीसँग जानकारी लिइ विभिन्न निर्देशन दिएको मन्त्री अर्यालको निजी सचिवालयले बताएको छ ।
श्रममन्त्री अर्यालले श्रम स्वीकृति प्रक्रियालाई सहज र सरल बनाइ सेवाग्राहीलाई झन्झटमुक्त बनाउनुपर्ने बताए । मन्त्री अर्यालको निर्देशनपछि २० वटा कम्प्युटर अपडेट गरी कर्मचारीलाई तीन वटा सिफ्टमा काम गर्न लगाइएको छ ।
त्यस्तै श्रम स्वीकृतिको प्रक्रियालाई सहज बनाउन पुनः श्रम स्वीकृतिलाई एउटै तहले स्वीकृत गर्ने व्यवस्था मिलाउने मन्त्रालयले तयारी गरेको छ । हालको व्यवस्थाअनुसार संस्थागत श्रम स्वीकृतिका लागि १५ जना कर्मचारीले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले स्वीकृत प्रदान गर्ने व्यवस्था छ । त्यस्तै व्यक्तिगत श्रम स्वीकृतितर्फ १५ जनाले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले प्रमाणीकरण गर्ने व्यवस्था छ । तर अबदेखि व्यक्तिगत श्रम स्वीकृतितर्फ २२ जना कर्मचारीले नै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाउने मन्त्रालयको तयारी छ ।
त्यस्तै प्रत्येक कर्मचारीलाई श्रम स्वीकृतिका लागि निश्चित कोटा तोकिने, बिदाको दिनमा पनि श्रम स्वीकृति प्रदान गर्ने, श्रम स्वीकृतिका लागि तोकिएको कोटा हटाइने मन्त्रालयको तयारी रहेको मन्त्री अर्यालले बताएका छन् ।
बिहान ९ बजेदेखि १ बजेको समयमा धेरै जनाले फेमिसको प्रयोग गर्ने हुँदा सर्भर सुस्त हुने भएकाले केही दिनका लागि सो अवधिमा टोकन वितरण नगरी दिउँसो १ बजेदेखि मात्रै टोकन वितरण गर्ने व्यवस्था गर्ने तयारी रहेको मन्त्री अर्यालको निजी सचिवालयले जनाएको छ ।
पुनः श्रम स्वीकृतिका लागि हाल दैनिक एक हजार ५ सयदेखि दुई हजार र एक हजार जनाले नयाँ श्रम स्वीकृतिका लागि आवेदन दिने गरेका छन् । कार्यालयले पनि सोही अनुपातमा दैनिक श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।
कागजपत्र नपुगेका श्रमिकको हकमा भने तीन दिनभित्र थप कागजपत्र बुझाएको अवस्थामा सोही टोकनलाई मान्यता दिइँदै आएको छ भने तीन दिनभित्र कागजपत्र नबुझाएकाले नयाँ टोकन लिनुपर्ने व्यवस्था गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies