काठमाडौं : नेपाली कांग्रेस निकट वैदेशिक रोजगार व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको नयाँ नेतृत्वका लागि चहलपहल शुरू भएको छ । एशोसिएसनको २०७८ साल वैशाख ७ गते भएको साधारण सभाले निर्वाचित गरेको नेतृत्वको दुई वर्षे कार्यकाल अर्को निर्णय नभएको अवस्थामा आगामी वैशाख ६ गते सकिँदै छ ।
एशोसिएसनको कार्यसमितिको बैठकले निर्वाचनका लागि निर्णय गरिसकेको छैन । तर भित्र–भित्रै आ–आफ्ना गुटमा छलफल र तयारी भइरहेको बताएइको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा रहेको एशोसिएसनबाट पार्टीको महाधिवेशनमा तीन जना व्यवसायीको प्रतिनिधित्व हुने भएकाले कार्यसमिति र नेतृत्वमा जान चाहनेको चासो बढेको बताइन्छ ।
एशोसिएसनको विधानअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित २१ सदस्यीय कार्यसमिति रहने भएपनि १७ जनाको निर्वाचन हुनेछ । ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।
साधारण सभाको समय नजिकिएसँगै एशोसिएसनमा नेतृत्वका आकांक्षीहरु सक्रिय भएका छन् । अध्यक्षका लागि तारानाथ अर्याल, भवानी निरौला, कमल काफ्ले र भुवनसिंह गुरूङले इच्छा व्यक्त गरेको बताइएको छ । कार्यसमितिको बैठक बसेर साधारण सभा र निर्वाचनको मिति तोकिएपछि यसपटक अध्यक्ष तथा पदाधिकारीका लागि भित्री तयारी गरेर बसेका केही नयाँ अनुहार पनि चुनावी मैदानमा आउने एशोसिएसनमा आवद्ध एक वरिष्ठ व्यवसायी बताउँछन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गत निर्वाचनमा पराजित भएपनि एशोसिएसनले आफूलाई सबैभन्दा धेरै व्यवसायी सदस्य रहेको संस्था भएको दाबी गर्दै आएको छ । अघिल्लो पटक ३ सय २६ जनाले सदस्यता नवीकरण गराएकामध्ये नेतृत्वको निर्वाचनमा २ सय ६७ जनाले मतदानमा भाग लिएका थिए । अघिल्लो निर्वाचनमा अध्यक्षमा कुमुद खनालसहित वरिष्ठ उपाध्यक्षमा भगीरथ राई, द्वितीय उपाध्यक्षमा विनोदजंग केसी, तृतीय उपाध्यक्षमा दीपक थापा, महासचिवमा कमल काफ्ले, सचिवमा लक्ष्मण पौडेल, सह–सचिवमा हर्क लिम्बू, कोषाध्यक्षमा कैलाश कार्की र सहकोषाध्यक्षमा जफरूद्दिन मियाँ विजयी भएका थिए ।
यस्तै कार्यसमिति सदस्यमा कैलाश पाठक, पंकज कुमार मिश्रा, प्रदीप थापा, मदन पुरी, यमकुमार क्षेत्री केसी, रविन मेगाले मगर, राम बहादुर लामा तामाङ, सुनिता कर्माचार्य, सुनिता श्रेष्ठ र हिरा बुढाथोकी निर्वाचित भएका थिए । उनीहरूमध्ये धेरैले स्वतः माथिल्लो पदमा जान चाहेको समाचार स्रोतको भनाइ छ ।
यसअघि एशोसिएसन नेतृत्वमा प्रतिस्पर्धा गरेका कतिपय व्यवसायी नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गत निर्वाचनमा उम्मेदवार भएकाले उनीहरूले अर्को कार्यकालसम्म पर्खिनु पर्ने मापदण्ड बनाउनुपर्ने तर्क कतिपय व्यवसायीको छ भने कतिपय व्यवसायीले एशोसिएसन व्यावसायिकसँगै पार्टीको शुभेच्छुक संस्था भएकाले पार्टीमा क्रियाशील सदस्यको ज्येष्ठताका आधारमा एशोसिएसनको आगामी निर्वाचनका लागि उम्मेदवारको मापदण्ड बनाउनुपर्ने धारणा राख्ने गरेको बताइन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies