काठमाडौं : वैदेशिक रोजगार व्यवसायी नेवाः समाजले वैदेशिक रोजगारको क्रममा अलपत्र भइ उद्धार गरिएका महिलाहरूलाई आश्रय दिएको अमृतसार सामाजिक सस्थालाई आर्थिक सहयोग गरेको छ ।
राजधानीको महाराजगञ्ज चक्रपथमा रहेको उक्त सामाजिक सस्थामा बिहीबार आयोजित एक सक्षिप्त कार्यक्रममा समाजका अध्यक्ष किशन प्रधान तथा महासचिव देवेन्द्र नारायण श्रेष्ठले उक्त संस्थाकी अध्यक्ष मूना गौतमलाई ५० हजार रूपैयाँको चेक हस्तान्तरण गरे ।
उक्त संस्थामा भिजिट भिसा लगायतका भिसामा बिदेश लगेर जवरजस्ती घरेलु कामदारको रूपमा लगाई अलपत्र पारिएको अवस्थामा उद्वार गरि नेपाल फर्काईएका महिलाहरूलाई आश्रयका अतिरिक्त मनोसामाजिक परामर्श दिने गरिएको छ। गैर नाफामुलक सामाजिक कार्यगर्ने उदेश्यले दर्ता भएको उक्त संस्थाले अघिल्ला दुई बर्षमा गरि विदेशबाट खालीहात अलपत्र अवस्थामा फर्काईएका ६ सय ८ जनालाई सेल्टर दिएको बताएको छ ।
उक्त संस्थाले नेपाल सरकारले घरेलु कामदारको रूपमा जान श्रम स्वीकृति प्रतिवन्ध लगाएको खाडी मुलुकमध्ये कुवेत, ओमान, यूएई, साउदी अरेबिया,कतार इराक, बंगलादेश, साईप्रस, लेवनान, मलेसिया आदि मुलुकबाट अलपत्र परेर फर्काइएका पीडित महिलाहरुलाई सेल्टर दिइरहेको अध्यक्ष गौतमले जानकारी दिइन् । त्यसमध्ये उक्त संस्थामा कुवेतबाट अलपत्र अवस्थामा फर्केका धेरै रहेका छन् । आर्थिक रूपमा कठिनाईको अवस्थामा रहेको आफ्नो संस्थालाई सहयोग गरेर सह्रानीय कार्य रहेको भन्दै अध्यक्ष गौतमले नेवाः समाजप्रति धन्यवाद साथ आभार प्रकट गरिन् ।
समाजका अध्यक्ष प्रधानले उक्त संस्थामा अलपत्र अवस्थामा उद्धार गरिएकी आस्था परियारलगायत आर्थिक समस्यामा रहेको जानकारी पाएपछि व्यवसायी संस्थाका सामाजिक उत्तरदायित्वको जिम्मेवारी अन्तरगत सहयोग प्रदान गरिएको बताए । जसलाई अति जरुरी छ, त्यस्ता व्यक्ति वा संस्थालाई आफ्नो समाजको क्षमताले भ्याएसम्म सहयोग गर्ने संस्थाको उदेश्य रहेको पनि अध्यक्ष प्रधानले जानकारी दिए ।
यस्तै महासचिव श्रेष्ठले पनि सामाजिक उत्तरदायित्वका भावनाले अमृतसार संस्थालाई सहयोग गरेको जानकारी दिए । मर्दा पर्दा नेवाः समाज भन्ने सामाजिक सेवाको उद्देश्य राखेर समाज क्रियाशील रहेको भन्दै महासचिव श्रेष्ठले आगामी दिनमा पनि क्षमता अनुसार गर्ने कामलाई निरन्तरता दिने बताए ।
त्यस अवसरमा अमृतसार सामाजिक संस्थाका तर्फबाट अभियन्ता आशा लामा, सुमित्रा बस्नेत, कल्पना थापा, कला गुरूङ, मनमाया राई, सपना गुरूङ, आशाप्यारी लक्ष्मी गन्दर्व, निरकुमार बुढाथोकी, मिनराज गौतम, कौशिला पुन र तारा श्रेष्ठ समाजका सल्लाहकार तथा मध्यान्ह दैनिकका सम्पादक मदनकुमार श्रेष्ठसहित समाजको कार्यसमिति सदस्यहरू चन्द्र कुमार श्रेष्ठ, अमित कुमार श्रेष्ठ, कृष्ण भक्त श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । नेवा समाजले यसअघि बालुवाटारमा रहेको शिवपुरी माध्यमिक (प्राविधिक ) विद्यालयमा अध्ययनरत एक छात्रालाई एक बर्षको शैक्षिक शुल्कसहित पाठ्यपुस्तक र शैक्षिक सामग्री प्रदान गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies