काठमाडौं : प्रहरीले बंगलादेशी नागरिकहरूलाई वैदेशिक रोजगारीका लागि विभित्र युरोपियन मुलुक पठाउने भनि नेपाल ल्याइ बन्धक बनाइ राख्ने कार्यमा संलग्न चार बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
बंगलादेशी नागरीकहरूलाई वैदेशिक रोजगारको लागि क्यानडा, इटालीलगायतका देशहरूमा पठाइदिने विश्वास दिलाइ बंगलादेशबाट नेपाल ल्याएर काठमाडौंको पनकनाजोलस्थित निभाना ग्रिन पिस होम होटलमा राखी पासपोर्ट नियन्त्रणमा लिइ ठगी गरिरहेको अवस्थामा चार बंगलादेशी नागरिकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरीले बंगलादेशको ढाका निवासी नुरूल हुडा, शमिम अहमीद, मोहम्म मशुल विल्लाह र पोर्नाय कुमार देलाई पक्राउ गरिएको बताएको छ । उनीहरूले विभिन्न प्रलोभनमा नेपाल ल्याएका बंगलादेशीहरूलाई अनेकौं धाकधम्की दिइ कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिइ साथमा रहेको नगदसमेत लिइ जबरजस्ती बन्धक बनाइ राखेको प्रहरीले बताएको छ । प्रहरीले पक्राउ परेका बंगलादेशीहरूलाई अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मुद्दा चलाउन जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंमा पठाइएको बताएको छ ।
यता बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाउने भनि रकम उठाएर सम्पर्कविहीन भएका थप पाँच नेपालीलाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।
जितमाया बललाई वैदेशिक रोजगारीमा न्युजिल्याण्ड पठाउने आश्वासन दिएर ९० हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा सिन्धुपाल्चोकको मेलम्ची घर भइ हाल बौद्ध बस्ने युवराज सापकोटा, कुमार खड्कालाई मकाउ पठाउने आश्वासन दिएर ३ लाख ९३ हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा काठमाडौंको बुढानिलकण्ठकी १९ वर्षीय श्रुती शाही र ३५ वर्षीय मन्दिरा बोम्जन गुरुङ, कृष्ण चन्दसमेत ३ जनालाई दक्षिण कोरिया पठाउने भन्दै ५ लाख ७१ हजार रुपैयाँ लिएको उजुरीका आधारमा कैलालीको टिकापुरकी अस्मिता बम र राम माया तामाङलाई कतार पठाइदिने आश्वासनमा ५० हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा सुनसरी भोक्राहाकी अनिता कुमारी यादवलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ ।
विगतमा हप्ताको दुई–चार वटा व्यक्तिगत ठगीको उजुरी दर्ता हुने वैदेशिक रोजगार विभागमा हाल एकैदिन करोड बढी बिगो उल्लेख भएर डेढ दर्जन उजुरी दर्ता हुने गरेका छन् । शैक्षिक कन्सल्ट्यान्सीबाट ठगीको धन्दा व्यापकरूपमा बढेको प्रहरीले बताएको छ ।
राजधानीमा सञ्चालित दर्जनौं शैक्षिक कन्सल्ट्यान्सीलाई प्रहरीले पटक–पटक कारबाही चलाउँदै आएको भएपनि कन्सल्ट्यान्सीबाट वैदेशिक रोजगारको नाममा ठग्ने धन्दा नरोकिएको वैदेशिक रोजगार विभागमा खटिएको प्रहरीले बताएको छ ।
वैदेशिक रोजगारीका लागि जापान, युरोपेली मुलुक, अमेरिका र क्यानडा पठाइदिने भन्दै तेस्रो व्यक्ति खडा गरेर करोड रुपैयाँसम्म ठगी गरिएको उजुरी आएको प्रहरीको भनाइ छ । ठगीको उजुरी आउने, तर शैक्षिक कन्सल्ट्यान्सीका मुख्य व्यक्ति फरार भइ उनीहरूका कर्मचारी मात्र पक्राउ पर्ने गर्दा ठगिएको रकम असुली गर्न पनि त्यतिकै समस्या रहेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies