काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले जोरपाटीस्थित अपांग पुनर्स्थापना केन्द्रमा आश्रित बालबालिकासँग यस वर्षको फागु पूर्णिमा अर्थात होली मनाएको छ । मञ्चले केन्द्रमा आश्रित बालबालिकाका लागि ‘ह्याप्पी होली’ अंकित टिसर्ट, आइतबार बिहानको खानासहित ६६ हजार ६ सय रूपैयाँ प्रदान गरेको छ ।
उक्त केन्द्रमा आयोजित संक्षिप्त कार्यक्रममा मञ्चका अध्यक्ष जनक रावलले संस्थाका अध्यक्ष उदय बहादुर लिम्बूलाई ६६ हजार ६ सय रूपैयाँको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्दै मञ्चका अध्यक्ष रावलले व्यवसायीको सामाजिक उत्तरदायित्वको सिद्धान्त अन्तर्गत अपांग पुनर्स्थापना केन्द्रलाई सहयोग गरिएको र भविष्यमा पनि सहयोग जारी रहने बताए ।
रावलले बालबालिकाको शिक्षा, भोजन तथा मनोरञ्जन कार्यक्रम लिएर आएको बताउँदै केन्द्रमा अभिभावकविहीन अवस्थामा रहेका बालबालिकालाई भविष्यका दिनमा पनि सहयोग गरिरहने बताए ।
वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष डिक बहादुर खत्रीले आश्रित बालबालिकाको उज्ज्वल भविष्यका लागि गरेको कार्यप्रति मञ्च तथा केन्द्रलाई शुभकामना व्यक्त गरे ।
केन्द्रका अध्यक्ष लिम्बूले आश्रित बालबालिकालाई गरेको सहयोगका लागि मञ्चप्रति आभार व्यक्त गरे । उनले सरकारी विद्यालयमा अपांगमैत्री संरचना नभएकाले निजी विद्यालयमा पढाउनुपर्ने बाध्यताले गर्दा दाताहरूको आवश्यक रहेको बताए ।
उनले मञ्चले गत वर्ष होलीको अवसरमा प्रदान गरेको सहयोग अपांग बालबालिकाको शिक्षामा लगानी गरिएको जानकारी दिए । लिम्बूले आफ्नो संस्थाले अध्ययन गराएका ६ जना बालिका नर्स बनेर विभिन्न अस्पतालमा सेवा गरिरहेको पनि जानकारी दिए ।
त्यस अवसरमा मञ्चमा आवद्ध व्यवसायीले एकआपसमा अवीर तथा रंग लगाइ खुसी साटासाट गरेका थिए । कार्यक्रममा मञ्चका पदाधिकारी तथा सदस्यहरूसहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष खत्री र द्वितीय उपाध्यक्ष सञ्जु गुरूङ, कार्यसमिति सदस्य सोम लामा तथा पुनर्स्थापना केन्द्रका अध्यक्ष लिम्बू, संस्थाका पदाधिकारी र कर्मचारीलगायतको सहभागिता रहेको मञ्चका कोषाध्यक्ष शीतल मैनालीले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies