छवि सापकोटा/मध्यान्ह
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नयाँ स्वरुपमा जिल्ला शिक्षा कार्यालय राख्ने प्रस्ताव राखेको छ । संघीयता आएसँगै यसलाई हटाउनुपर्ने माग उठिरहेका बेला कांग्रेसले नाम फेर्ने, तर जिल्लामा संयत्र राखेर त्यस मार्फत् समग्र जिल्लाको शिक्षाको गुणस्तर अनुगमन गर्ने, शिक्षक सरुवा र प्राध्यानाध्यापक नियुक्तिका संलग्न गराउने प्रस्ताव राखेको हो ।
विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफलमा कांग्रेसले यस्तो प्रस्ताव राखेको हो । यो विधेयक प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा छ । दफावार छलफलका क्रमममा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले पार्टीका तर्फबाट प्रस्ताव राख्दै नयाँ स्वरुपमा जिल्ला शिक्षा कार्यालय राख्नुपर्ने बताएका हुन् ।
विद्यालय शिक्षा तीन वटै सरकारको साझा अधिकार क्षेत्रभित्र रहेको बुझ्नुपर्ने पनि बताएका छन् । ‘माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको एकल अधिकारभित्र रहेको मत समेत आएको छ । तर यो संघबाट अलग छैन । यसकारण तीन वटै तहको अधिकार र कर्तव्यभित्र पर्छ भन्ने बुझ्नुपर्छ । यसरी प्रष्ट भयौं भने अगाडि बढ्न सहज हुन्छ,’ उनले भनेका छन् ।
परीक्षा ५, ८, १० र १२ कक्षामा लिनुपर्ने उनको प्रस्ताव छ । ५ कक्षासम्मको परीक्षा स्थानीय तहले लिने, ८ को जिल्लाले लिने र १० कक्षाको परीक्षामा प्रदेशको उपस्थिति गराउने उनको प्रस्ताव छ । १२ कक्षाको परीक्षा केन्द्रले लिने सरकारको प्रस्तावमा बडूले समर्थन गरेका छन् । शिक्षकको सरुवा गर्दा स्थानीय तहले शिक्षा विकास तथा समन्वय कार्यालयको परामर्श लिनुपर्ने व्यवस्था राख्नुपर्ने कांग्रेसले प्रस्ताव राखेको छ ।
यसअघि सरकारले शिक्षकहरुसँग समेत विद्यालय शिक्षा विधेयकका सन्दर्भमा सहमति गरेको छ । विधेयक संसदमा दर्ता भएसँगै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । त्यसक्रममा सरकारले शिक्षकहरुका माग सम्बोधन गर्ने गरी सहमति गरेको थियो । शिक्षकहरुले भने आफूहरु स्थानीय सरकार मातहत रहन नचाहेको बताउँदै आएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies