शिव विक/मध्यान्ह
काठमाडौं : नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
यो सँगै आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनमा सत्तारुढ दलहरुले आ–आफ्नै उम्मेदवार उठाउने भएका छन् । सत्ता साझेदार दल एमालेले कुनै सल्लाह नै नगरी आफ्नो उम्मेदवारको नाम तय गरेपछि गठबन्धनभित्र रहेका दलहरुले पनि उम्मेदवार उठाउने निर्णय लिएका हुन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रको पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो । तर कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भने माओवादीले गरेको छैन ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गत मंगलबार धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले बझाङको उम्मेदवार चयन गर्न सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १६ र १७ चैतमा बोलाएको छ ।
इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङको गत भदौ २५ गते निधन भएकाले र बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते निधन भएपछि ती दुवै क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको हो ।
यसअघि नै एमालेले आफ्नो उम्मेदवार तय गरिसकेको छ । एमालेले इलाम २ मा नेता स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई र बझाङ १ मा सोही जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरिसकेको छ ।
अर्को सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी शनिबार नाम टुंगो लगाउने भनेको छ । इलाम–२ मा रास्वपा बाट उम्मेदवार बन्न ६ जनाले निवेदन दिएका छन् ।
गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रबहादुर थापा, मानबहादुर घिमिरे, मिलन लिम्बु र डा. भेषरमण न्यौपानेले निवेदन दिएका हुन् । प्रारम्भिक उम्मेदवारमाथि दाबी विरोध गर्नको लागि १५ चैत दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रदेश समितिले इलाम २ को उम्मेदवारका लागि केन्द्रीय समितिमा ७ जनाको नाम सिफारिस गरेको छ । बझाङ १ मा १० जना आकांक्षीको नाम सिफारिस भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies