–डा प्रकाश बुढाथोकी
मानव शरीरका विभिन्न अङ्गहरूमा विविध किसिमका रोगहरू देखा पर्ने गर्दछन् । तैपनि कतिपय अङ्गमा भएका रोगको सामान्य उपचार गर्दा राम्रो हुन्छ भने केही अङ्ग काटेर फ्याँक्दा र नक्कली राख्दा पनि मानिस स्वस्थ रही दैनिक कार्य गर्न सकिन्छ । समस्या जटिल नबन्न सक्दछ तर, मिर्गौला रोग भने बेग्लै किसिमको हुने गर्दछ । यसमा मिर्गौला बेकम्मा हुँदा कतिका लागि सम्पत्ति विनाशको ठूलो बाटो बन्ने गरेको छ भने सर्वसाधारणका लागि मृत्युको कारण बन्दै आएको छ ।
विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार विश्वमा हरेक १० जनामा एकजना व्यक्तिमा मिर्गौलासम्बन्धी कुनै न कुनै समस्या देखा पर्ने गरेको छ । नेपालमा भने हाल करिब १० हजारभन्दा बढी मिर्गौला रोगी रहेकामा १० प्रतिशतले मात्र उपचार पाउन सकेका छन् र पीडित हुनेको संख्या वार्षिक २५ सयदेखि तीन हजारका दरले बढ्दैछ ।
सामान्य अवस्थामा हाम्रो शरीरमा दुई वटा मिर्गौला ढाडको बीचमा मेरुदण्डको दुबैतिर मुठी जत्रो सिमीको गेडाको आकारमा रहेको १५० ग्रामको नभई नहुने उत्सृजक अङ्ग हो । हरेक मानिसमा दुई वटा मिर्गौला रहन्छन् । स्वस्थ अवस्थामा दुवै मिर्गौला क्रियाशील हुन्छन् तर, दुईमध्ये एउटाले मात्र काम गर्दा पनि मानिस स्वस्थ रहन सक्छ । एउटा मिर्गौलामा करिब १३ लाख नेफ्रोन हुन्छन् । त्यसले पिसाब बनाउने क्षमता राख्दछ । ४० वर्ष नाघेपछि नेफ्रोनको संख्यामा वार्षिक एक प्रतिशतका दरले ह्रास हुन्छ तर, अन्य नेफ्रोनले कार्य वृद्धि गरी जीउबाट निकाल्नुपर्ने पानी, लवण र फोहोर त्यही मात्रामा र त्यही दरमा निकालिरहन्छन् । रोग वा उमेर तथा अन्य कारणले भएको नेफ्रोनको संख्याको कमी भने परिपूर्ति वा पुनःनयाँ नेफ्रोन बन्ने काम भने हुँदैन ।
मानिसको उमेर बढ्दै जाँदा मिर्गौलाको कार्य क्षमता पनि घट्दै गई स्वस्थ मानिस ९० वर्ष पुग्दा मिर्गौलाले क्षमताको ५० प्रतिशत जति मात्र काम गरे पनि स्वस्थ नै मानिन्छ । मुटुबाट निस्कासन भएको करिब २२ प्रतिशत रगत दुई मिर्गौला हुँदै सञ्चार हुने गर्दछ अर्थात् प्रत्येक २४ घण्टामा १८० लिटरभन्दा बढी रगत मिर्गौलाको कार्य एकाइ नेफ्रोनको पहिलो भाग ग्लोमेरुलस हुँदै बग्दछ । यसमा १७८.५ लिटर भाग वा प्रोटिन बाहेक पानी र अन्य तत्वहरू नेफ्रोनको सुक्ष्म नली हुँदै वरिपरि पैmलिएका कम चाप भएका रक्तनलीद्वारा सोसिएर फेरि शरीरमै जाने गर्दछ । यसै क्रममा युरिया, क्रेटिनिन, युरिक एसिड र अन्य विषालु तत्व अति कम मात्रामा सोसिने भएकाले ठूलो मात्रामा पिसाव भएर शरीर बाहिर निस्कन्छन् ।
हामीले खाएको खानेकुराबाट शरीरले चाहिएको कुरा अवशोषित गरी बाँकी रहेका अनावश्यक पदार्थहरू रगतमा रहन्छन् । शरीरमा उत्पादित विकारयुक्त पदार्थ भएको उक्त रगतलाई छानेर रगत सफा गर्ने र तिनलाई पिसावको रूपमा मुत्रथैलीमा पठाई पिसावमार्फत बाहिर फ्याँक्ने प्रमुख काम मिर्गौलाको हो । शरीरमा अनावश्यक नून, पानी, पोटासियम, क्याल्सियम र अन्य आयनलाई थुप्रिन नदिई सन्तुलनमा राख्दछ ।
अम्ल र क्षारको मात्रा नियन्त्रण गर्दछ । प्रोटिनबाट बन्ने सल्फ्युरिक र फोस्फोरिक एसिड निस्कासन गर्ने अङ्ग एक मात्र मिर्गौला हो । रगतको रातो रक्तकोष बनाउने हर्मोन एरिथ्रोपोइटीन ९० प्रतिशत मिर्गौला र १० प्रतिशत कलेजोले बनाउँछ । मिर्गौलाले भिटामिन डीको सक्रिय रूप क्याल्सिट्रोल बनाउँछ र क्याल्सियम तथा फोस्फेटको नियन्त्रण गर्दछ । आन्द्रामा क्याल्सियम संयोजन प्रोटिन बनाई क्याल्सियमको खपत बढाउँछ । लामो उपवासमा बसेको बेला एमिनोएसिडबाट चिनी बनाउने, रक्तचाप सन्तुलित राख्ने पनि गर्दछ ।
मिर्गौला किन बिग्रन्छ ?
मिर्गौलाको कार्यक्षमता ५० प्रतिशतभन्दा बढी घट्न थालेपछि मात्र स्वास्थ्य समस्या पैदा हुन थाल्छ । मिर्गौलासम्बन्धी रोगहरू नेफ्राइटिसको उपचार नगरेको वा उपचार सफल नभएको, उच्च रक्तचाप, मधुमेह, पिसावको संक्रमण, मिर्गौला पिसावको नली र थैलीमा हुने पत्थरी जस्ता रोगहरूबाट लामो समयदेखि पीडित भएको तथा जथाभावी मकै, भटमास खाएजस्तै एण्टीबायोटिक र पेनकिलर औषधि सेवन गरेको व्यक्तिको मिर्गौला उमेर नपुग्दै बिग्रने सम्भावना रहन्छ । त्यसैगरी जन्मदै मिर्गौलामा पानीका फोका भएको तथा उक्त फोकाहरूको संख्या र आकार बढ्दै गए खराबी शुरु भएको वयस्क अवस्थामा नै थाहा हुन सक्छ । अन्य कारणमा वंशानुगत, मोटोपना, धुम्रपान, ५० वर्ष नाघेका व्यक्ति तथा सङ्क्रमणहरू पर्दछन् ।
कुनै लक्षण बिना एक्कासी केही दिन वा साताको अन्तरालमा पनि मिर्गौला काम गर्न छोड्ने हुन सक्छ । यस विकासको खराबीलाई एक्युट रेनलफेलर भनिन्छ । झाडापखाला, हैजाजस्ता बिरामीको अत्यधिक मात्रामा शरीर सुक्खा भएमा, धेरै रगत खेर गएमा, मिर्गाैलाको सङ्क्रमण, क्यान्सर, रगतको खराबी तथा मिर्गाैलाको पत्थरी जस्ता समस्याले मिर्गौलाले काम नगर्ने हुन सक्छ । यस्ता समस्याको समयमा नै निदान हुनसक्यो भने मिर्गौला बचाउन सकिन्छ । एक्युट रेनल फेलर भएका मध्ये ५० देखि ७० प्रतिशत बिरामीको मृत्यु हुनसक्छ ।
लामो समयसम्म रहेको रक्तअल्पता उच्च रक्तचाप, हर्मोनहरुको असन्तुलन, बारम्बार पिसाबको सङ्क्रमण भइरहनु वा त्यसको उपचार राम्ररी नगर्नु, स–साना पत्थरी रहनु तथा पेटका खराबीले मिर्गौलालाई नराम्रो असर गर्दछ । मिर्गौलालाई रगत पुर्याउने धमनीको सङ्कुचन हुनु, रगतको खराबी हुनु, मिर्गौलाको क्षयरोग, पिसाब थैलीको खराबी आदि जुनसुकै समस्याले धेरै लामो समयसम्म ग्रसित बिरामीको मिर्गौला काम नलाग्ने भएका चाहिँ राम्रो बनाउन सकिँदैन ।
सामान्यतया मिर्गौला खराब हुँदा खानामा रुचि घट्दै जाने, चाँडै थकाइ लाग्ने, राति बढी (दुईपटक भन्दा बढी) पिसाब हुने, पिसाब गर्दा पोल्ने, रातो, गाढा वा फिँजयुक्त हुने, पिसावको मात्रा घट्दै जाने, वाकवाक लाग्ने, जिउ चिलाउने, बिहान उठ्दा मुख फुल्ने र सुन्निँदै जाने, गोरो मानिस कालो हुँदै जाने लक्षणहरू देखा पर्दछन् । यस्ता लक्षणहरू अन्य थुप्रै रोगहरूमा पनि देखिने भएकाले यकीन गर्न रगत परीक्षण गरी युरिया र क्रियाटिनिन बढे नबढेको हेर्नु पर्दछ ।
उपचार के ?
नियमित स्वास्थ्य परीक्षण, औषधि सेवन र खानपिनमा ध्यान दिँदा पनि समस्या नियन्त्रणमा आउने गर्दछ । प्रोटिन बढी हुने माछा, मासु, गेडागुडी जस्ता खानेकुरा पानी र झोलपदार्थ चिकित्सकले तोकिदिएअनुसार खानुपर्दछ । यदि मिर्गौलाको कार्यक्षमता १० प्रतिशतभन्दा पनि कम हुन थाल्दछ भने नियमितरूपमा रगत सफा गर्ने हेमोडायलाइसीस, हेमोफिल्ट्रेशन र पेरीटोनीयल डाइलाइसीस वा स्वस्थ मिर्गौला राख्ने ‘प्रत्यारोपण’ जस्ता सघन र ठूला उपचारको आवश्यकता पर्दछ तर, कुन विधि रोज्ने भन्ने निर्णय मिर्गौला अन्तिम अवस्थामा पुग्नेभन्दा पहिले नै गर्नुपर्दछ । जसबेला ग्लोमेरुलस भएर छानिने रगतको बेगदर १२५ मिलिलिटर प्रतिमिनटबाट घटी पाँच मिलिलिटर प्रतिमिनेट मात्र हुन्छ ।
मिर्गौला प्रत्यारोपण गर्नु भनेको आफन्तको स्वस्थ मिर्गौला झिकेर बिरामीको शरीरमा राख्नु हो । प्रत्येक व्यक्तिमा हुने दुई वटा मिर्गौलामध्ये एउटैले मात्र काम गर्दा पनि मानिस स्वस्थ र जीवित रहन सक्ने भएकाले दुवै मिर्गौला बेकम्मा भएका बिरामीलाई एउटा मिर्गौला दान गरी आफू पनि नमर्ने र बिरामीलाई जीवनदान दिन सकिन्छ । प्रत्यारोपित मिर्गौलाले लामो समयसम्म काम गरिरहोस् भन्ने उद्देश्यले सुरुमा बढीमात्रामा र पछि क्रमशः घटाउँदै गएर न्यूनतम् मात्रामा औषधि लिइरहनु पर्दछ । प्रत्यारोपित मिर्गौलाले पाँच दिनमा शरीरमा जम्मा भएको विकार सफा गरी सक्दछ ।
(लेखक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies