काठमाडौं : युक्रेनसँगको युद्धमा रहेको रूसमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति खोलिएको विषयमा संसदमा प्रश्न उठेको छ । आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले युद्धग्रस्त क्षेत्र र देशमा श्रमिक पठाउने कामले नेपालीलाई जबरजस्ती युद्धमा धकेलेको भन्दै श्रम स्वीकृति तत्काल बन्द गर्न माग गरिन् ।
सांसद पौड्यालले प्रश्न गर्दै भनिन्, ‘रूस र युक्रेनको युद्धका कारण हाम्रा युवाहरुले मृत्युवरण गरिरहेको कुरा छिपको छैन । रूसी तथा युक्रेनी सेनामा रहेका युवाहरु फर्काइदेउ भनेर रोदन गरिरहेका छन् । यही बेला श्रम मन्त्रालयबाट रोजगारीका लागि जान छुट दिएको कुरा आएको छ, सरकारले के गर्न खोजेको हो ? देशमा बेरोजगार युवाहरू धेरै भए भनेर मृत्युको बाटो खुलाएको हो ?’
युद्धग्रस्त क्षेत्र र देशमा श्रमिक पठाउने काम सरकारले तत्काल बन्द गर्नुपर्ने माग गर्दै उनले भनिन्, ‘देशमा रोजगारी दिन सकिँदैन युवा मरेर जाउ, विदेशीका लागि लडेर मरे मर भन्ने ? युद्धग्रस्त क्षेत्र र देशमा श्रमिक पठाउने काम बन्द गर्नुपर्छ । युवाहरूलाई जाउ मरे मर भन्न पाइँदैन ।’
वैदेशिक रोजगार विभागले रूस युक्रेन युद्ध शुरू भएपछि गत पुस १९ गतेदेखि रूस र युक्रेन दुवै देशका लागि सबै प्रकारका श्रम स्वीकृति रोकेको थियो । तर फागुन ९ गतेको सचिवस्तरीय बैठकले पुनः श्रम स्वीकृति र म्यानपावर कम्पनीमार्फत रसियाको सिनोपिक इन्जिनियरिङ रसिया ग्रुप एलएलसी कम्पनीका लागि छनोट भएकालाई फागुन १६ गतेदेखि अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको सार्वजनिक भएको थियो ।
वैदेशिक रोजगार विभागले रूसका लागि श्रम स्वीकृति खुला गरेकै दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको एक कार्यक्रममा नेपालीलाई रुस जान व्यक्तिगत श्रम स्वीकृतको व्यवस्था बन्द नै रहेको बताएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies