–मोहम्मद जाकिर हुसैन
अवधकी रानी बेगम हजरत महल (मुहम्मदी खानम) भारतले औपचारिक घोषणा नगरेको राष्ट्रिय विभूति हुन् । सन् १८५७ मा मेरठमा मङ्गल पाण्डेले शुर फुकेको सिपाही विद्रोहसँगै इस्ट इन्डिया कम्पनी सरकारले अवधका नवाब वाजिद अली शाहलाई बन्दी बनाई अवधमाथि आधिपत्य जमाएपछि बेगम हजरत महलले अवधको सिपाही विद्रोहको नेतृत्व गर्दै अङ्ग्रेज फौजसँग लडिन् । सुरुमा लखनउलाई स्वतन्त्र गर्न सफल भइन् र छोरा बिरजिस कद्रलाई गद्दीमा बसाएर विद्रोहलाई अगाडि बढाउँदै लडिरहिन् । विद्रोहमा नेपालबाट जङ्गबहादुर राणाको फौज अङ्ग्रेजलाई सहायता गर्न लखनउ पुगेको थियो । गोरखाली फौजको सहयोगमा सिपाही विद्रोह दबाउन अङ्ग्रेज सफल भयो र अन्ततः बेगम हजरत महललाई पराजयको स्वाद चाख्नै पर्यो । बेगम लखनउबाट समर्थकहरूका साथ भागेर बहराइच आई संघर्ष जारी राखिन्; अझ हिम्मत हारिनन् । बहराइचबाट अङ्ग्रेजी फौजले बेगमको फौजलाई लखेटेर नेपालको दक्षिणी सिमानासम्म पुर्यायो । बुटवल, दाङ–देउखुरीका इलाकाहरूबाट बेगम हजरत महलका समर्थकहरू नेपालको जङ्गल र बस्तीहरूमा आएर लुके । जङ्गबहादुरको अनुमतिले अङ्ग्रेज फौजले बुटवलको जंगलसम्म आई बेगमलाई दुःख दियो । दोहोरो भिडन्तमा बेगमका धेरै समर्थक मारिए; कतिपय तितरबितर भई ज्यान जोगाउँदै भागे; कतिपयलाई समातेर भारत लगेर कैद गरे र कतिपयलाई मारियो । पछि जङ्गबहादुरको फौज पनि त्यस जङ्गलमा पुगेर बेगमको फौजमाथि आक्रमण गर्दा दोहोरो भिडन्त भयो । भनिन्छ ३० देखि ३५ हजार बेगमका समर्थक त्यस जङ्गलमा थिए ।
बेगम त्यस जंगलको सुखौरा भन्ने ठाउँमा गढ बनाएर सबै बन्दोबस्तीसाथ बसेकी थिइन् । उनले सम्भवतः त्यहीँबाट शक्ति आर्जन गरी अङ्ग्रेजसँग लड्ने योजनासमेत बनाएकी थिइन् । उनी महत्वकांक्षी वीराँगना योद्धा थिइन् । सुखौरा गढमाथि पटक–पटकको फौजी आक्रमणले गर्दा धेरै मानिसहरू यत्रतत्र भागे; कोही तराईका विभिन्न बस्तीहरूमा गएर लुके र त्यहीँका बासिन्दा भए; कोही ज्यान जोगाउन सकिएला भनेर पहाडतिर उक्ले, उतै बसे । भनिन्छ उनीहरूमध्ये कतिपय त हिमाली इलाकाबाट तिब्बत पनि छिरे ।
जङ्गबहादुरको फौजले बुटवलको जङ्गलभित्र बेगमले निर्माण गरेको सुखौरा गढमाथि गरेको आक्रमण र ब्रिटिस–भारतीय दबाबले बेगमसँग आत्मसमर्पण गरी शरण माग्नुको विकल्प बाँकी रहेन । जङ्गबहादुरले खरखजाना, जवाहारातको लोभमा उनलाई काठमाडौंको थापाथली दरबारस्थित बरफ बागमा शरण दिए । तर, यथार्थमा त्यो शरण थिएन । बेगम हजरत महल, नाना साहेब, बिरजिस कद्र, मुन्सी मुहम्मद हुसेन, काशी बाईलगायत एउटा ठूलो समूहलाई बन्दी बनाई काठमाडौं ल्याइपुर्याइएको थियो । अङ्ग्रेजसँगको राम्रो सम्बन्ध बिग्रन नदिन जङ्गबहादुर राणाले उनीहरूलाई काठमाडौं उपत्यकाबाट बाहिर जान नदिने सर्तमा अङ्ग्रेजलाई सुपुर्द नगरेको सहजै अनुमान गर्न सकिन्छ ।
‘जङ्गबहादुरले शरणमा आएकालाई मरण नदिएको’ इतिहासको विवरण आफैँमा हास्यास्पद छ । शरण दिएको भए जागिर–भत्ता दिएर राजकीय सम्मानसाथ राखिनु पर्थ्यो । बेगम हजरत महलको जीवनका अन्तिम दिनहरू निकै कष्टमय अवस्थामा बितेको थियो । साथमा ल्याएका अमूल्य जवाहरात र गरगहना सस्तोमा बेच्दै जीवन धानेकी थिइन् उनले । खरिद गर्ने जङ्गबहादुर र उनका भारदार नै थिए ।
जङ्गबहादुरमा अङ्ग्रेजविरुद्ध गई यी विद्रोहीहरूलाई सुपुर्द नगर्ने हुती थिएन । जङ्गबहादुर अङ्ग्रेजका खास मान्छे थिए । अङ्ग्रेजलाई खुसी पार्न नै सिपाही विद्रोह दबाउन उनले फौज सहयोग गर्ने प्रस्ताव पठाएका थिए । युद्धमा सहयोग गरेबापत अङ्ग्रेजबाट उनले निकै दक्षिणा र सम्मान पनि पाएका थिए । तर, नकारात्मकभित्र सकारात्मकको उत्खनन तथा पहिचान पनि हुनुपर्छ । कुटनीतिकरूपबाट विश्लेषण गर्ने हो भने जङ्गबहादुर राणाको अङ्ग्रेज चाकरीले गर्दा नै बाँकेदेखि कञ्चनपुरसम्मको भूभाग नेपालले अङ्ग्रेजबाट उपहारस्वरूप फिर्ता पाएको थियो जसलाई आज पनि ‘नयाँ नेपाल’ भन्ने गरिन्छ । जे–जस्तो अवस्था र परिवेशमा भए पनि बेगम हजरत महलले काठमाडौंमा बस्ने अवसर प्राप्त गरिन् । जङ्गबहादुर राणाले उनीहरूबाट बहुमूल्य जवाहरातहरू हात पारे । ग्वालियरका पेशवा नाना साहेबको श्रीपेचसमेत उनकै भयो । तर, बेगम हजरत महल, बिरजिस कद्र, नाना साहेब, मुन्शी मोहम्मद हुसेन, काशी बाई कसैको बसाइ काठमाडौंमा सुखद रहेन । नाना साहेब भेष बदलेर कहिले कता कहिले कता हिँडिरहे । काशी बाईलाई जङ्गबहादुरले कोठरीमा पुर्याए । धेरै सुन्दर महिलाहरू सिकार भए ।
बेगम हजरत महल र उनका पुत्र तथा अवधका अन्तिम नवाब बिरजिस कर्दलगायत ठूलो संख्यामा भारतको प्रथम स्वतन्त्रता सङ्ग्रामका सिपाही र योद्धाहरू काठमाडौंमा बन्दी जीवन बताउन बाध्य थिए । अरू कुनै उपाय पनि थिएन उनीहरूसँग । काठमाडौंमा बन्दीको रूपमा शरणमा रहेको यस समूहमा अन्तिम मुगल बादशाह बहादुर शाह जफरका एकजना भारदार पनि थिए । नवाब शेख वाजिद अली शाहका कैयौँ नातेदार र भारदारहरू यस समूहमा थिए । यिनमा कतिपय उच्च कोटीका उर्दू र फारसीका शायरहरू पनि थिए । त्यस बखत काठमाडौंमा हुने उर्दू र फारसीका मुशायराहरूमा प्रस्तुत गजलहरूलाई ख्वाजा नईमुद्दीन बदख्शी भन्ने शायरले संकलन गरी आफ्नो डायरीमा किताब (छाप्ने शैलीमा हुने हस्तलेखन) गरेर राखे । प्रा. डा. अब्दुर रऊफ कौसरको नेतृत्वमा भएको ‘नेपालमा उर्दू शायरी’ विषयक शोधमा नेपालगन्जका उर्दू शायर आदिल सरवर र यो पङ्क्तिकार अनुसन्धाता सहयोगीको रूपमा काम गरेका थियौँ ।
२०५७ मा त्रिविको उर्दू चेयरले यो पुस्तक प्रकाशित गरेको थियो । ती मुशायराहरूमा नवाब बिरजिस कद्रका पनि गजलहरू समावेश भएका छन् । त्यस शोधमा बदख्शीको पाण्डुलिपिबाट त्यस कालका केही शायरहरूका गजलहरूलाई समेटिएका छन् । ती शायरहरू हुन्– बिरजिस कद्र, ख्वाजा नईमुद्दीन बदख्शी, नशरुल्लाह कश्मिरी ‘हरीफ’, गुलाम मुहम्मद खानकाही, मियाँ महीउद्दीन, अहमद पहलवान, बदर, मुन्शी मोहम्मद हुसेन, मुन्शी बहादुर सिंह ‘अहकर’ र भोलानाथ फलक । योे डायरी काठमाडौंका वरिष्ठ उर्दू शायर ख्वाजा मोअज्जम शाह रजा नियाजीसँग सुरक्षित छ । उनले पुस्तैनी यसको संरक्षण गरेका छन् । उनीसँग यस्तै अरू पनि डायरी उपलब्ध छन् जसले बेगम हजरत महललगायतको इतिहास खोतल्न सहज बनाउन सक्दछ ।
बेगम हजरत महल सन् १८५९ तिर तीन सय बढी मानिसहरूको क्याराभानसाथ काठमाडौं उपत्यका आउँछिन् । जङ्गबहादुर राणा बस्ने दरबार नजिकै उनलाई बरफ बागमा राखिन्छ । किशोर छोरा नवाब बिरजिस कर्दलगायत उनका साथ आउनेहरू काठमाडौंमा के–कसरी जीवन व्यतीत गरे, त्यसको अन्वेषण हुन अझ बाँकी नै छ ।
बिरजिस कद्र र उनका साथ रहेका उर्दू, फारसीका शायरहरूले नेपाली समाजमा उर्दू र फारसी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान गरेको देखिन्छ । उनीहरूले नेपालमा मुस्लिम सभ्यताको विकासमा नै अतुलनीय योगदान गरेको देखिन्छ । घण्टाघरमा उनीहरूले एउटा एमामबरा पनि बनाएका थिए । एमामबरामा मुस्लिमहरूको जमघट हुनेगर्थ्यो र मुस्लिमहरूले दैनिक पाँच समयको सलात (नमाज) पनि अदा गर्थे । यस एमामबराको वर्णन कमलमणि दीक्षितले पनि एक लेखमा गरेका थिए ।
बेगम हजरत महलको नेपाली जामे मस्जिद परिसरमा रहेको ऐतिहासिक मकबरा, बुटवलको जंगलभित्र सुखौरा नामक स्थानमा बेगमले निर्माण गरेको गढ जसको उत्खनन हुन बाँकी छ, जङ्गबहादुर राणाले जफत गरेको नौलखा हार, अन्य बहुमूल्य हार र जबाहरात, घण्टाघरको एमामबरा, बदख्शीको डायरी आदिको अध्ययन, अनुसन्धान र उत्खनन गर्न सकियो भने यसले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन सकिने आधार छ । नेपाल–भारतको अटुट सम्बन्धको दृष्टिकोणले पनि बेगम हजरत महलको गौरवमय इतिहासको उत्खननमा नेपालले नै चासो देखाउन सके, यो हाम्रो सम्पत्ति बन्न सक्छ । हिजो तिब्बत–चीनले हाम्रो भृकुटीको अन्वेषण र सम्मान गर्यो जबकि भृकुटी त हाम्रो थियो । बेगम हजरत महलको अपनत्व नेपालले लिनुपर्छ ।
बेगम हजरत महलले ७ अप्रिल, १८७९ मा यस संसारलाई छोडिन् । घण्टाघरस्थित तत्कालीन नेपाली जामे मस्जिदको परिसरमा उनलाई दफन गरियो । उनको मकबरा (चिहान) आज पनि सुरक्षित छ । नेपालमा रञ्जित रे राजदूत हुँदा प्रत्येक वर्ष उनको मकबरामा पुष्प गुच्छा चढाएर उनको स्मरण गर्दै सम्मान गर्ने परिपाटी सुरु गरिएको छ । मुस्लिम आयोगका अध्यक्ष शमीम मियाँ अन्सारी र यो पङ्क्तिकार राजदूत रेका साथ पहिलो पटक बेगम हजरत महलको स्मरण दिवस मनाउन मकबरा पुगेका थिए । यसलाई सकारात्मक पहलको रूपमा लिनुपर्छ । भारत सरकारले बेगमको सम्मानमा लखनउको विक्टोरिया पार्कको नाम बदलेर बेगम हजरत महल पार्क बनायो र उनको स्मरणमा डाक टिकट जारी गर्यो । आमाको मृत्युपछि छोरा बिरजिस कद्र महारानी भिक्टोरियाले क्षमा दिएपछि कलकत्ता गए । तर, त्यहाँ उनीसमेत धेरैलाई विष खुवाएर मारियो ।
जसरी भारतको पहिलो स्वतन्त्रता सङ्ग्रामको हिरोको रूपमा इतिहासमा छाएकी छिन् बेगम हजरत महल, नेपालको इतिहासमा पनि उत्तिकै महत्वपूर्ण छिन् उनी । अझ नेपाली मुस्लिम समुदायको इतिहासमा उनको गाथा स्वर्णिम अक्षरले लेखिन्छ । उनको जीवनी, उनले बुटवलको जंगलभित्र सुखौरामा निर्माण गरेको गढ, घण्टाघरमा स्थापना गरेको एमाबरा, बदख्शीको डायरी, उनको ऐतिहासिक तथा पुरातात्त्विक मकबरा र सिपाही विद्रोहपछि काठमाडौं छिरेका मुस्लिम समुदाय जसलाई हिन्दुस्तानी मुसलमानको पहिचान पनि प्राप्त भयो; जस्ता ऐतिहासिक तत्वहरूले थप गहिरो अनुसन्धान चाहेका छन् ।
(लेखक हुसैन, पूर्वमन्त्री हुन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies