काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभामा रुसी सेनामा रहेका नेपालीहरुको उद्धारमा सरकारले पहल नगरेको भन्दै विरोधलाई निरन्तरता दिएको छ । आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले युद्धग्रस्त क्षेत्र र देशमा श्रमिक पठाउने कामले नेपालीलाई जवरजस्ती युद्वमा धकेलेका भन्दै श्रम स्वीकृति तत्काल बन्द गर्न माग गरेकी थिइन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा पनि विशेष समय लिएर नेपाली कांग्रेसका अर्का सांसद प्रदीप पौडेलले रुसी सेनामा रहेका नेपालीको संख्या र उनीहरूको पछिल्लो अवस्थाबारे जानकारी गराउनुपर्ने सरकारसँग माग गरे । उनले नेपालीको अवस्था सार्वजनिक गर्ने विषयमा बेखबर मात्र नभइ सरकारले खोजी गर्ने चेष्टा नै नगरेको आरोपसमेत लगाए । उनले भने, ‘अहिलेका परराष्ट्रमन्त्रीले अघिल्लो परराष्ट्रमन्त्रीले मिलाएको समयमा रुसी समकक्षीसँग वार्ता गर्नेबाहेक केही गर्नुभएन ।’
सांसद पौडेलले पीडित परिवार र उनीहरुसँग काम गरेका स्वयंसेवीहरुले आफूलाई रुसी सेनामा ७ सयभन्दा बढी नेपाली रहेको, ४० जनाले ज्यान गुमाएको, ३ सयभन्दा बढी बेपत्ता भएको र १ सय १७ जना घाइते अवस्थामा भएको जानकारी दिएको बताए । युद्धग्रस्त मुलुक रुसमा जान श्रम स्वीकृति दिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयले मानव तस्करहरुलाई सहज भएको भन्दै सांसद पौडेलले मन्त्रालयको निर्णयमा पनि प्रश्न उठाए । उनले भने, ‘रुस नजाउ भनेर आग्रह गर्नुपर्नेमा यति नै बेला श्रम स्वीकृति किन दिइयो ?’
आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पौड्यालले युद्धग्रस्त क्षेत्र र देशमा श्रमिक पठाउने कामले नेपालीलाई जबरजस्ती युद्धमा धकेलेको भन्दै श्रम मन्त्रालयबाट रोजगारीका लागि जान दिएको अनुमतिले सरकारले के गर्न खोजेको हो ? भन्दै प्रश्न उठाएकी थिइन् ।
यता रुसी सेनामा भर्ती भएर बेपत्ता भएका नेपालीका परिवार तथा आफन्तहरूले सिंहदरबार अगाडि युद्धमा घाइते भएका नेपालीको निःशुल्क उपचार तथा राहतको माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरूले सोमबार बिहान सिंहदरबारको मुलगेट अगाडि प्रदर्शन गरेका हुन् । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies